माधव नेपालले सुनाउनुभयो प्रचण्डसँगको रोचक किस्सा
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रियाको सुरुवाती चरणमा खेप्नुपरेका अप्ठेराबारे लामो चर्चा गर्नुभएको छ । प्रतिनिधि सभामा आज पेश भएको संक्रमणकालीन न्यायसम्बधी विधेयकमाथि धारणा राख्ने क्रममा उहाँले युद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन आफूले खेलेको भूमिका र गर्नुपरेको संघर्षको शृंखलाबद्ध चर्चा गर्नुभयो । त्यसक्रममा अध्यक्ष नेपालले तत्कालीन विद्रोही नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगका भेटघाटको स्मरण पनि गर्नुभएको छ ।
माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन युद्धकै बेला भारतका विभिन्न स्थानमा प्रचण्ड र बाबुराम भट्टराईलगायतसँग वार्ता र भेटघाट गरेको उहाँले उल्लेख गर्नुभयो । त्यसबेलाका राजा ज्ञानेन्द्र शाहलाई आफूले माओवादीसँग वार्ता गर्न सल्लाह दिएको पनि उहाँले संसदमा सुनाउनुभयो ।
‘आज तत्कालीन राजा ज्ञानेन्द्रको कुरा आयो । मैले नै भेटेको थिएँ उहाँलाई । मैले नै भनेको थिएँ– माओवादीलाई शान्ति प्रक्रियामा ल्याऊँ । किनकी, प्रचण्डजीसँग म ०४२ सालदेखि राजनीतिकरुपमा नजिक थिएँ । आन्दोलनका विभिन्न मोर्चाहरुमा हामी सँगसँगै थियौं’, अध्यक्ष नेपालले भन्नुभयो ।
जनयुद्धकै क्रममा प्रचण्डसँग विभिन्न ठाउँमा भएका भेटहरु यसरी सुनाउनुभयो ः
२०५२ सालमा नेकपा एमालेको अल्पमतको सरकार थियो । त्यो सरकारको उपप्रधानमन्त्री, रक्षा र परराष्ट्रमन्त्रीको हैसियतले मलाई त्यतिबेलै लागेको थियो कि माओवादीमा नयाँ विचार र विमर्शको श्रृंखला शुरु भइसकेको छ । पछि ०५६ साल माघ २८ गते भारतको पटनामा पहिलो बैठक भएको थियो । ०५७ वैशाख ७ गते नयाँ दिल्लीमा दोस्रो भेटघाट भयो ।
त्यसपछि ०५८ वैशाख १३ गते गोरखपुरमा भयो । अर्को महत्वपूर्ण बैठक सिलिगुढीमा भएको थियो । त्यहाँ छ वटा वामपन्थी पार्टीका नेताहरु थिए । तर, त्यसबीचमा पनि सिधा कुरा प्रचण्ड र मेरोबीचमात्रै भएको थियो । त्यतिबेला मैले १० वटा बुँदा उहाँलाई पढेर सुनाएको थिएँ । त्यो सबै अहिले पनि डायरीमा नोट गरेर राखेको छु ।
०६० सालको मंसिर ३ गते लखनउमा अर्को महत्वपूर्ण बैठक भयो । त्यसपछि दाङ गएँ । त्यहाँको आमसभामा मैले भाषणा गर्दा गर्दै तत्कालीन गृहमन्त्री कमल थापाको अभिव्यक्ति सुनेँ– माओवादी आतंकवादीहरुसँग सम्बन्ध राख्नेमाथि ठूलो मुद्दा चलाइनेछ । तर, मैले त्यही आससभाबाट जवाफ फर्काएँ– शान्ति स्थापनाको लागि सबैले पहल गर्नुपर्छ र मैले पहल गरेर कुनै अपराध गरेको छैन । हिम्मत छ भने गिरफ्तार गर्नुस् मलाई । जेलमा कोच्नुहोस् । म जेल जान तयार छु ।
टिप्पणीहरू