पूर्वमहामन्त्री मुकुलका रविलाई तीन प्रतिप्रश्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका महामन्त्री डा.मुकुल ढकालले आफूबाट पार्टीलाई हानी हुने कुनै काम नभएको दाबी गरेका छन् ।
हिजो सोधिएको स्पष्टीकरणमाथि आजै जवाफ पेश गर्दै उनले पार्टीलाई हानी हुने,पार्टीका शुभचिन्तकलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने र पार्टीका नेताहरुमाथि झुठ्ठा आरोप लगाउने क्रियाकलाप आफूबाट नभएको बताएका हुन् । त्यस्तै,उनले सभापति रवि लामिछानेले पार्टीमा विधिविधान,थितिरहित,हैकमे र निरङ्कुश शासन चलाइरहेको आरोप लगाएका छन् ।
लामिछानेलाई सम्बोधन गरी लेखिएको पत्रमा भनिएको छ,‘तपाईं रवि लामिछाने,पार्टी सभापतिलाई सम्बोधन गरी ममाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरुको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टीकरणको पत्र पठाएबाट तपाईं रवि लामिछानेले पार्टीमा विधिविधानविपरीत, थितिरहित,हैकमे,निरङ्कुश शासन चलाइरहेको स्पष्ट हुन्छ । मैले आजसम्म तपाईंलाई झुठ्ठो आरोप लगाएको छैन,ती सबै सत्यमा आधारित छन् । तपाईंले ममाथि स्पष्टीकरण सोध्नुअघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ ।’
साथै,उनले लामिछानेसँग तीन वटा प्रश्नको जवाफ माग गरेका छन् । सहकारी ठगीको मुद्दामा पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ?
‘सहकारी ठगी मुद्दामा तपाईंमाथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ? तपाईंले आजको दिनसम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटकपटक ढाँट्नुभएको छ । म स्वयंले पनि तपाईंको ढाँटलाई सत्य मानेर बसिरहेको थिएँ तर असार २०, २०८१ गते न्यायाधीशहरु सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको इजलासले तपाईंमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ । सर्वोच्च अदालतको फैसलालाई तपाईंले मान्ने कि नमान्ने ? फैसलाअनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने ?’, उनले सोधेका छन् ।
"न्यायाधीशहरु सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको इजलासले तपाईंमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ । सर्वोच्च अदालतको फैसलालाई तपाईंले मान्ने कि नमान्ने ?"
ढकालले लामिछानेको दुई वटा पासपोर्टको सन्दर्भ पनि उठाएका छन् । विगतमा गरेको अपराधका लागि पार्टी बलि चढ्नुपर्ने अवस्था बनेको ढकालको जिकिर छ । उनले पासपोर्टका सबै पाना सार्वजनिक गर्न लामिछानेलाई चुनौती दिएका छन् । सरुवा–बढुवामा लामिछानेले चलखेल गरेको ढकालको आरोप छ । गृहमन्त्री हुँदा गरेका प्रत्येक निर्णय पार्टीको ‘जान्नेलाई छान्ने’ नीतिअन्तर्गत रहेको प्रमाणित गर्न उनले भनेका छन् ।
उनको प्रश्न छ,‘का.स.मूमा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढुवामा जुन चलखेल गर्नुभयो, त्यो भ्रष्टाचारको संकेत होइन ? आँट छ भने मन्त्री हुँदा आफूले गरेका प्रत्येक निर्णय पार्टीको जान्नेलाई छान्ने नीतिअन्तर्गत थियो भनेर प्रमाणित गर्नुहोस्,अमेरिकामा रहेका आफ्नै हितैषीहरुको बैंक स्टेटमेण्ट सार्वजनिक गर्नुहोस् । आँट छ ? रवि लामिछानेज्यू ?’
रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले हिजो उनलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । साधारण सदस्यता खारेज हुनु नपर्ने कारणसहित जवाफ पेश गर्न भन्दै उनले ढकाललाई पत्र लेखेका हुन् ।
टिप्पणीहरू