कर्मचारी र अख्तियारबीच तादम्यता नमिल्दा आतंकजस्तो देखियो : प्रचण्ड

सुन्नुहोस्

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीतन्त्र र नियामक निकायबीच तादम्यता नमिल्दा शासन प्रणाली नै जाम हुने खतरा औँल्याउनुभएको छ । 

बेलाबेला यस्तो अवस्था देखिने गरेको बताउँदै उहाँले प्रधानमन्त्री भएका बेला अख्तियार प्रमुखसँग धेरैपटक छलफल गरेर समाधानको प्रयास गरेको बताउनुभयो । भ्रष्टाचार निवारण ऐन संशोधनका क्रममा यो अप्ठेरो हटाउनुपर्नेमा प्रचण्डको जोड छ । 

उक्त ऐन संशोधनका लागि बनेको विधयेकमाथि आज संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा धारणा राख्दै उहाँले अख्तियारको कामबाट कर्मचारीतन्त्रमा आतंक फैलिने गरेको अनुभव सुनाउनुभयो ।  

 अध्यक्ष प्रचण्डले भन्नुभयो - 'मैले कार्यकारी प्रमुखको रुपमा काम गर्दैगर्दा हाम्रो अख्तियार प्रमुखज्यूसँग धेरै छलफल गरेको छु । यति हुँदाहुँदै पनि कर्मचारीतन्त्रभित्र एउटा आतंकजस्तो, अब आयोगमा पनि आफ्नो कामलाई प्रभावकारी बनाउन अघि बढ्नुपर्ने आवश्यकता, आयोगको त्यो आवश्यकता र कर्मचारीको निर्णय गर्ने आवश्यकताको बीचमा कहिले कहीँ कन्ट्रोभर्सी, अन्तरबिरोध हुने र त्यसले प्रशासन नै जाम हुने हो की भन्ने जस्तो अवस्था पनि देखा पर्ने गरेको छ ।'

राज्य संरचनाका विभिन्न निकायका बीचमा आपसी तादात्म्य, तालमेल, एक अर्काको सहयोगको पूरक हुनेगरी अघि बढ्ने वातावरण बनाउन जरुरी रहेकोमा उहाँको जोड छ ।

भ्रष्टाचार निवारणको विषय कानूनी वा प्राविधिकमात्रै नभई सामाजिक, सांस्कृतिक चेतनासँग पनि सम्बन्धित रहेकाले त्यसैअनुसार समाधान खोजिनुपर्ने धारणा प्रचण्डले राख्नुभयो । 'भ्रष्टाचार निवारणको कुरा खालि कानूनी वा प्राविधिक विषय मात्रै होइन, यो एउटा सामाजिक, सांस्कृतिक चेतनासँग सम्बन्धित कुरा हो', उहाँले भन्नुभयो, 'हाम्रो सभ्यता र संस्कृतिको विकासको स्तर कहाँ छ ? भन्नेसँग सम्बन्धित कुरा पनि हो ।'

भ्रष्टाचारसँग सम्बन्धित मुद्दामा हदम्यादको समय कति राख्ने वा राख्दै नराख्ने भन्ने विषय छलफलबाट टुंग्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । अख्तियारले मुद्दा दर्ता गर्नेबित्तिकै पदबाट निलम्वन हुने कुरा ठिक हो वा होइन भन्नेबारेमा पर्याप्त छलफल आवश्यक रहेको प्रचण्डको भनाई छ ।

टिप्पणीहरू