सरकारको आयूबारे संसदमा शायरी

सरकारको आयूबारे संसदमा शायरी
सुन्नुहोस्

राष्ट्रिय सभा सदस्य झक्कु सुवेदीले दुई तिहाई बहुमतको धाक लगाउँदै सरकारले तानशाही व्यवहार देखाए मान्य नहुने बताएका छन् । आजको सभामा बोल्दै उनले वर्तमान सरकार कसको लागि र किन बनेको भन्ने कुरा जनताले राम्ररी बुझेको उल्लेख गरेका हुन् । 

उनले काँग्रेस–एमालेको गठबन्धन सरकारले अघिल्ला सरकारलाई अस्थिरताको संज्ञा दिएकोमा आपत्ति पनि जनाएका छन् । ‘यो सरकारले के भन्छ भने विगतका सरकारहरु अस्थिर भए, स्थिरताको लागि पहिलो पार्टी र दोस्रो पार्टी मिलेर यो सरकार बनेको हो’, उनले व्यङ्ग्य गर्दै भने, ‘म उहाँहरुलाई आग्रह गर्न चाहन्छु, यो सरकार मात्रै होइन ०८४ को चुनावमा पनि दुई वटै पार्टी मिलेर जानुस्, बराबर सिट बाँड्नुस्, कुनै एउटा बाँकी रह्यो भने गाई कि त्रिशुल गर्नुस्, सब देश तपाईंहरुले कब्जा गर्नुस् ।’

तर, विश्वको राजनीतिक इतिहासमा मुलुकको शासन सत्ता कब्जा गर्न खोज्नेहरुको दुःखद हविगत भएको पनि स्मरण गराए, ‘श्रीलंकाका शासकले मुलुक त्यसैगरी कब्जा गरेका थिए, तर उनको हालत आज के भइराखेको छ ? शेख हसिनाबारे पनि जानकार नै हुनुहन्छ होला, उनको त झन् दुई तिहाइ बहुमत थियो । तर उनको हालत के छ ? यो कुरा तपाईंहरुले बुझ्नुहोला ।’

०६२/०६३ अघि तत्कालीन राजा ज्ञानेन्द्रले पनि शासनसत्ता कब्जा गर्न खोज्दा माओवादी जागेको बताउँदै, ‘ज्ञानेन्द्रको हालत के भयो ? थाहा छ नि हैन !’  
  
सुवेदीले संविधान संशोधनकै लागि सरकार बनेको भए प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि संशोधन गर्न चुनौती दिए । ‘संविधान संशोधन गर्ने ? गरौं न ठीकै छ, हामी सहमत छौं, तर प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं । अब संसदमा महिला ३३ प्रतिशत मात्र होइन, ५० प्रतिशत हुने गरी जाऔं ।’

उनले काँग्रेसलाई लक्षित गर्दै सत्ता केन्द्रित मात्र बनेको आरोप पनि लगाए । भने, ‘यो कुरा त काँग्रेसले उठाउनुपर्ने थियो, यहाँ काँग्रेसको ठाउमा मैले उठाइराख्या छु । ०६३ अघि काँग्रेसका साथीहरुले प्रजातन्त्रवादी भन्नुहुन्थ्यो, अहिले लोकतन्त्रवादी भन्नुहुन्छ, त्यै पनि नामको मात्रै लोकतन्त्रवादी हुनुहुन्छ ।’

अन्त्यमा सुवेदीले सरकारको आयुबारे आशंका व्यक्त गर्दै एउटा उर्दु सायरी समेत सुनाए, ‘ये कलियुग हे साहेब, हमेशा तयारी के साथ रहना, मौसम और इनसान कब बदलजाए, इसका कोही भरोस नहीँ ।’

टिप्पणीहरू