प्राधिकरण छोड्ने मिति तोक्दै कुलमानले भने- लोडसेडिङमा रमाउने जमात विरोधमा उत्रियो !
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङमा रमाउने जमातले आफ्नो विरोध गरेको गुनासो गरेका छन् ।
प्राधिकरणको वार्षिकोत्सवको सन्दर्भमा आज काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले संस्थान घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुनेहरु आफूविरुद्ध लागिरहेको बताए । प्राधिकरणबारे गलत सूचना फैलाउन पनि त्यो जमात सक्रिय रहेको घिसिङको भनाई छ ।
'विद्युत प्राधिकरण नाफामा जानु कसैलाई दुःख लाग्छ । विद्युत प्राधिकरण घाटामा जाँदा खुशी लाग्छ । लोडसेडिङ बढाउँदा खुशी लाग्ने जमात ठूलो छ । त्यो जमातले यस्ता नचाहिने विषयहरुलाई पनि धेरै फैलाएको सुनेको छु', उनले भने ।
प्राधिकरणकै केही जिम्मेवार पदाधिकारीले जिम्मेवार ठाँउमा प्राधिकरणको हिसाबप्रति आशंका व्यक्त गर्ने गरेको भन्दै कार्यकारी निर्देशक घिसिङले महालेखा परीक्षकको ३ वटा संस्थाले अडिट गरेको हिसाब कसरी फेक हुन्छ ? भन्दै प्रश्न गरे । प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको उनले स्पष्ट पारे ।
आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा पुग्नु सुखद कुरा भएको घिसिङले बताए । २५ अर्बको विद्युत महशुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफा हुनुलाई उनले प्राधिकरणले आम्दानीमा गरेको क्रान्तिका रुपमा अर्थ्याए ।
डेडिकेटड र ट्रक लाइनको विद्युत वक्यौता उठाउन सरकारका सम्पूर्ण निकायहरुले सहयोग गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
घिसिङले आफ्नो दोश्रो कार्यकालको अन्तिम वार्षिकोत्सवपछि अर्को वर्ष साउन २५ गते चारवर्षे कार्यअवधि सकेर प्राधिकरणबाट बिदा लिने घोषणासमेत गरेका छन् ।
टिप्पणीहरू