केन्द्रीय समितिअघि माओवादी नेताहरु तलतिर केन्द्रित
नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकअघि प्रदेशस्तरीय संयुक्त परामर्श बैठक गर्ने भएको छ ।
स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सोबारे जानकारी दिएका हुन् । असोज पहिलो साता केन्द्रीय समितिको पूर्ण बैठक बोलाउने स्थायी कमिटीले निर्णय गरेको र त्यसअघि सातवटै प्रदेशमा संयुक्त बैठक बस्ने उनले बताए ।
उक्त बैठकमा केन्द्रीय अध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिवसहितका पदाधिकारी सहभागी हुनेछन् । प्रवक्ता सापकोटाका अनुसार बागमती प्रदेशमा भदौ ५ र ६ गते, विशेष र सम्पर्क समन्वयमा भदौ ७ र ८ गते, गण्डकीमा ९ र १० गते तथा सुदूरपश्चिममा १२ र १३ गते बैठक बस्नेछ । कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनीमा १६ र १७ गते, तीनवटा केन्द्रीय आयोगमा १८ गते बैठक हुनेछ ।
त्यस्तै, मधेस प्रदेशमा २२ र २३ गते, कोशीमा २४ र २५ गते, सल्लाहकार/जेष्ठ कम्युनिस्ट मञ्च/आयोगमा २९ र ३० गते तथा जवस/मोर्चाको २७ र २८ गते बैठक बस्ने सापकोटाले जानकारी दिए । संयुक्त परामर्श समितिको बैठकमा केन्द्रको निर्णय सम्प्रेषण गर्ने र त्यहाँको कुरा सुनेर दस्तावेजीकरण गर्ने सापकोटाले बताए ।
स्थायी समिति बैठकले बृहत वामपन्थी एकतामा जोड दिँदै समाजवादी मोर्चालाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । त्यस्तै, सडक, संसद र माओवादीले नेतृत्व गरिरहेका १२२ स्थानीय तहलाई प्रभावकारी बनाएर जाने बैठकको निर्णय छ ।
टिप्पणीहरू