आफ्नै आलोचना गर्न आग्रह गर्दै मन्त्रीले भने- प्रधानमन्त्रीको प्रशंसा गर्न आवश्यक छैन

सुन्नुहोस्

एमाले नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा सुशासनको अभाव रहेको बताउनुभएको छ ।

आज रासस मिडिया संग्रहालयको उद्दघाटन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । सरकार नागरिकप्रति उत्तरदायी बन्न नसकेकै कारण देशमा बेतिथी बढेको  मन्त्री गुरुङको ठहर छ ।  

कूल बजेटको ३० प्रतिशत विकास खर्च छुट्याएपनि १५ प्रतिशतमात्रै खर्च भैरहेको अवस्थाप्रति चिन्ता जनाउँदै उहाँले सुशासनको अभावका कारण भ्रष्टाचार बढिरहेको गुनासो गर्नुभयो । भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारकै हुने उहाँको प्रष्ट भनाई छ । 

‘यो मुलुकमा सुशासनको प्रत्याभुति हुन नसकेर हाम्रो सरकार सरकार जति रेस्पोन्सीबल हुनुपर्ने हो त्यो हुन नसकेर साँच्चै नै रुल अफ ल ठिक ढंगले कायम भएन । यो लाजमर्दो कुरा हो', उहाँले भन्नुभयो । 

मन्त्री गुरुङले यो परिस्थिति अन्त्य गर्न जरुरी रहेकोमा जोड दिँदै सत्तामा पुगेपछि 'कानमा तेल हाल्ने' मन्त्रीहरुको आलोचना गर्न आग्रहसमेत गर्नुभयो । सत्तामा बस्नेहरुलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्नेमा उहाँको जोड छ ।

'भ्रष्टाचार भइरहने, विचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति छ । यसमा मिडियाले आफ्नो भूमिका राम्रोसँग पूरा गर्ने हो भने सरकार उत्तरदायी हुन बाध्य हुन्छ', उहाँ भन्नुहुन्छ, 'सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरुको आलोचना गर्नुपर्छ । उनीहरुलाई रेस्पोन्सीबल बनाउनु पर्छ ।’

सञ्चारमन्त्री गुरुङले मिडियाले सरकारको भजन गाउनु आवश्यक नरहेको भन्दै भ्रष्टाचारको ढाकछोप नगर्न आग्रहसमेत गर्नुभयो । प्रधानमन्त्री र मन्त्रीहरुको प्रशंसा गर्न आवश्यक नरहेको तर सही काम गर्नेलाई भने प्रेरित गर्नुपर्ने उहाँको धारणा छ ।
 

टिप्पणीहरू