दिपकराज गिरीमाथि पनि ठडियो औंला

दिपकराज गिरीमाथि पनि ठडियो औंला

कस्तो सिर्जनालाई राम्रो सिर्जना भन्ने ? कस्तोलाई खराब ? नेपाली मनोरञ्जन क्षेत्रमा यो एउटा गम्भीर प्रश्न बनेको छ । 

सूचना प्रविधिको विकासले दर्शक स्रोतालाई गीत, भिडियो, टेलिसिरियल, चलचित्रजस्ता मनोरञ्जनात्मक सिर्जनाहरुको पहुँच सजिलो भएको छ । तर नेपाली मौलिक सिर्जनाहरु जोखिमसँगै दुर्लभ हुँदै गएका छन् । 

बजारमा अराजक र उच्छृंखल सिर्जनाको बिगविगी बढेको छ । दर्शक स्रोतालाई पनि यस्तै सिर्जनामा रमाउनु पर्नेगरी सर्जकहरुले ‘अप्रत्यक्ष हिप्नोटाइज’ गर्दैछन् । कलाकार दिपकराज गिरीमाथि पनि त्यस्तै आरोप लागेको छ ।

यतिबेला उनले बनाएको छक्का पञ्जा ५ को एउटा गीत विवादमा तानिएको छ । गीतको बोल हो ‘बिहे भाको छैन ।’ गीतमा शब्द दिपकराजकै छ ।  

गिरी आफैंले विभिन्न सभा तथा महोत्सवहरुमा बोल्दै चलचित्रमा अराजकता मौलाएको र उच्छृखंलता बढेको भन्दै आपत्ति जनाउने गरेका छन् । चलचित्रमा मौलिकता हरायो भन्दै सामाजिक सञ्जालदेखि सम्बन्धित निकायमा पनि खरो विचार राख्छन् । 

तर ‘अरुको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी नदेख्ने’ भनेझैं दिपकराजले आफै सचेत नभएर किन द्वैअर्थी गीत लेखे ? लेखे पनि किन बजारमा ल्याए ? यसको जवाफ दिपकराजले दर्शकलाई दिनुपर्ने भएको छ । 

गीतको शब्द छ, ‘बिहे भाको छैन म, कुमारी नि हैन म ।’ अर्थात गीतले घुमाउरो भाषा यौन सम्बन्धको कथा व्यक्त गरेको छ । 

तीन दशक कलाकारिता बिताइसकेको जिम्मेवार कलाकारले आफैं यति सस्तो सिर्जनालाई बढावा दिदा नयाँ कलाकार के सिक्छन् ? यसको हेक्का दिपकराजले किन राखेनन् ? यी प्रश्न अहिले समाजिक सञ्जालमा यत्रतत्र छन् । प्रतिमा आचार्य भन्छिन्, ‘जसले अरुलाई खबरदारी गर्ने हो, उसको ताल यस्तो छ, हुन त पैसो कमाउनु पर्यो नि पैसो !’

केही समयअघि लोकप्रिय गायिका शान्तिश्री परियारले एउटा गीत गाइन्, ‘विस्ताराले पोल्यो’ । यसमा पनि दोहोरो अर्थ लाग्ने शब्दहरु थिए, जसको कारण विवादमा तानियो । तर गायिका परियारले केही दिनमै माफी माग्दै भनिन्, ‘मैले गीत छनोठमा गल्ती गरेँ, अब गाउँदा ध्यान दिनेछु, अहिलेलाई माफी चाहन्छु ।’ 

तर दिपकराजलाई भने गीतको विवादले चलचित्रको प्रमोसन भइरहेको छ भनेर होला, अहिलेसम्म मुख खोलेका छैनन् । चलचित्र चलाउन निर्माण टिमले विभिन्न फण्डा गर्छन्, तर त्यो क्षणिक समयको लागि हुन्छ । तर चर्चाकै लागि जिम्मेवारी कलाकारले यति सस्तो सिर्जनालाई प्रयोग गर्दा, समाज र नयाँ कलाकार के सिक्छन् ? यसको जवाफ दिपकराजबाट चाँडै आओस् ।

टिप्पणीहरू