मनिषा कोइरालाको देशभक्तिप्रति रविन्द्र मिश्र नतमस्तक
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले अभिनेत्री मनिषा कोइरालाको राजनीतिक अडानको प्रशंसा गरेका छन् । काँग्रेस संस्थापक नेता बीपीकी नातिनी उनमा हजुरबाको वास्तविक रगत रहेको ठोकुवा गरेका छन् ।
मिश्रले मनिषाको जन्मदिनको अवसरमा शुभकामना दिँदै बीपीको ‘मेलमिलापको नीति’ बाट टसमस नभएको उनको ठहर छ । सामाजिक सञ्जालमा रविन्द्र लेख्छन्, ‘मनीषाजी, आज तपाईंको जन्मदिनमा तपाईंको विशाल प्रतिभा, अटल इमान र देशभक्तिप्रति नमन गर्न चाहेँ ।’
कुनैबेला आफ्नो प्रतिभाले सिङ्गो भारत हल्लाएकी र अनगिन्ती पुरस्कार जिते पनि नेपाल आएर बस्ने निर्णय गरेकोमा रविन्द्रले उनको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनको जीवन शैलीलाई मिश्रले शान्त, सौम्यको उदाहरण दिएका छन् ।
‘बीपी कोइरालाकी नातिनी थिइन् । उनले चाहेको भए कांग्रेसले उनलाई प्रधानमन्त्रीबाहेक सबै पद टक्राउने थियो । तर बीपीको वास्तविक रगत उनमा रहेछ । बीपीको ’मेलमिलापको नीति’बाट टसमस गर्न चाहिनन्,’ रविन्द्रले उल्लेख गरे ।
तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनका समर्थकलाई मिश्रले ‘अग्रगमनको अन्यौलपूर्ण चस्मा लगाएका प्रचण्डपन्थी नागरिक समाज’ भनेका छन् । उनीहरुको नजरमा मनिषा कोइराला ‘पश्चगामी’ भएकाले सामाजिक बहिष्करणमा पारिएको ठोकुवा उनको छ ।
मनिषा अवसरवादी र अग्रगामी दुबै नबनेकोमा उनले खुशी व्यक्त गरेका छन् । मिश्रका अनुसार कोइराला अवसरवादी बनिदिएको भए आज ‘सफल राजनीतिज्ञ’ हुने तर अरू धेरैको अन्तरात्माको श्रद्धाको पात्रबाट वञ्चित हुने निश्कर्ष निकालेका छन् ।
टिप्पणीहरू