व्यक्तिपिच्छे लुम्बिनी एमालेमा नीति फरक

व्यक्तिपिच्छे लुम्बिनी एमालेमा नीति फरक
सुन्नुहोस्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले प्रदेश संसदीय दल उपनेता चेतनारायण आचार्यले संसदीय दलको बैठक बोलाएका छन् । भोलि दिउँसो २ बजे बैठक राखिएको जनाउँदै सम्बन्धित सबैलाई जानकारी गराइएको छ । प्रदेश राजधानी कायम भएको दाङको भालुवाङ्गमा राखिनुपर्ने बैठक बुटवलस्थित उनको सम्पर्क कार्यालयमा बस्दै छ ।

आचार्यले मुख्यमन्त्री नियुक्तिलगत्तै बुटवलमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । संसदीय दलको नेता र प्रमुख सचेतकले राजीनामा दिएको अवस्थामा डाकिएको भोलिको बैठकमा आचार्यको एकलौटी हुने अर्को पक्षको भनाई छ ।

‘यतिखेर संसदीय दलका नेता छैनन् तर उनी उपनेता  हुन् । प्रमुख सचेतकले पनि राजीनामा दिइसकेको अवस्थामा बोलाइएको बैठकमा केसम्म गरिन्छ भन्नेबारे सहजै अनुमान गर्न सकिन्छ,’ लीला गिरी पक्षधर एकजना प्रदेश सदस्यले बताए । पार्टी सचिव पद्मा अर्याल अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर उक्त बैठकमा सहभागी हुने बुझिएको छ ।

बैठकमा प्रस्तुत हुने एजेण्डाबारे हालसम्म कुनै छलफल र परामर्श नगरिएको भन्दै आचार्य इतर समूहले असन्तुष्टि जनाएको छ । सचिव अर्यालले निर्देशन दिने भएकाले पनि भोलि डाकिएको एमाले प्रदेश संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ ।

यसअघि संसदीय दलको नेता रहेका लीला गिरीको सट्टा आचार्यलाई मुख्यमन्त्री बनाउने घोषणापछि गिरी समूहले अपमानित महशुस गर्दै आएको छ । सोही सन्दर्भमा गिरी र प्रमुख सचेतक तुलसी चौधरीले राजीनामा दिएका थिए । भोलिको बैठकमा थप अपमान गर्ने संकेत देखिएमा रणनीतिक हिसाबले प्रस्तुत हुने मनस्थितिमा उक्त समूह रहेको बताइन्छ ।

गिरी पक्षको प्रस्तुतिलाई विश्लेषण गरेर सचिव अर्यालले पुनः उनैलाई संसदीय दलको नेता घोषणा गर्न निर्देशन दिनसक्ने आकलन पनि गरिएको छ । तर,रोल्पा, रुकुम,प्युठान,दाङ,बाँके र बर्दियाका प्रदेश सभा सदस्यहरुले बैठकस्थलको बारेमा मुख्यमन्त्री तथा संसदीय दलको उपनेताको व्यापक आलोचना गरेका छन् ।

राजधानी दाङभन्दा बाहिरको स्थानमा बैठक राखेपछि उनीहरुले असन्तुष्टि पोखेका हुन् । बुटवल जाउआउ गर्दा लाग्ने खर्च र समयका कारण एमाले संस्थापन निकट सदस्यहरुले पनि भोलि दिउँसोको बैठकलाई निको नमानेको स्रोत बताउँछ ।

टिप्पणीहरू