माओवादी फुटको ‘कन्ट्रोभर्सी’ वारे प्रचण्ड र प्रभाकर किन भए आमनेसामने ?

माओवादी फुटको ‘कन्ट्रोभर्सी’ वारे प्रचण्ड र प्रभाकर किन भए आमनेसामने ?
सुन्नुहोस्

माओवादी केन्द्रको स्थायी समिति बैठक गत बिहिबार सम्पन्न भयो । बैठकले असोज पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने र त्यसअघि प्रदेशस्तरीय संयुक्त परामर्श बैठक गर्ने निर्णय गर्यो । एक हप्तासम्म चलेको बैठकमा चर्चाको पात्र बने- उपमहाचिव जनार्दन शर्मा । 

स्थायी कमिटी बैठकमा उनले लिखित प्रस्ताव दर्ज गर्दै नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका थिए । अध्यक्ष प्रचण्डको सचिवालयबाटै पार्टी फुटाउन खोजेको आरोप लगाएको जिकिर गर्दै उनले 'हेडक्वार्टर'विरुद्ध संगीन प्रश्न तेर्स्याए । जसले माओवादी पंक्ति तरंगित छ । तथापि, नेताहरुले यसलाई जीवन्त पार्टीभित्र हुने नियमित र स्वभाविक अभ्यासकाे रूपमा अर्थ्याउन भने छोडेका छैनन् ।  

स्थायी कमिटी बैठकपछि हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव शर्माले एउटै मञ्चमा उभिएर कार्यकर्तामाझ पार्टी एकतावद्ध रहेको सन्देश दिने प्रयास त गरे,तर उनीहरुबीच अझै आशंका र भ्रम कायमै रहेको देखियो । सार्वजनिक कार्यक्रममा दुबै जनाले विवादबारे आ-आफ्नो अनुकूल व्याख्या गरेपछि अध्यक्ष र उपमहासचिवबीच रहेका भ्रम र आशंका नमेटिएको कार्यकर्ताले महसुस गरेका छन् ।  

रुकुम-काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा उपमहासचिव शर्माले केही दुखेसो र गुनासो पोखे । भाषणको शुरुमै उनले पार्टीकै उच्च तहबाट आफूमाथि लगाइएका आरोपहरुबारे आश्चर्य व्यक्त गरे ।

मञ्चमा उक्लिएर कार्यकर्तालाई भने- ‘आज म बडो आश्चर्यमा छु,तपाईंहरु मेरो अनुहार दलालजस्तो देख्नुहुन्छ ?" 

दर्शकदीर्घामा बसेका कार्यकर्ताले एकै स्वरमा भने- ‘देख्दैनौँ !’

फेरि उनले सोधे- ‘म यो पार्टी फुटाउनेजस्तो देखिन्छु ?’

‘छैन’-कार्यकर्ताको स्वर गुञ्जियो । 

मैले त्यस्तो सोचेको पनि हैन । तर भ्रमै-भ्रम,वरिपरिकाले भन्दै जाने, अर्कोले भन्दै जाने गर्दा साँच्चिकै पार्टी फुटाउन प्रतिक्रियावादी लागे ।

तर पनि पार्टी नेतृत्वको वरिपरिबाट आफूमाथि पार्टी फुटाउन लागेको आरोप लगाइएको भन्दै उनले दुखेसो सुनाए । अध्यक्ष प्रचण्डतिर हेर्दै भने- ‘त्यो आरोप आज मैले खेपिरहेको छु । पार्टीको उच्च तहबाट,पार्टी नेतृत्वको वरिपरिबाट देशभर मेरो बदनाम गरिँदैछ । यतिबेला पार्टीमा संघर्ष गर्ने र प्रश्न गर्नुपर्ने आवश्यकता ठानेपछि प्रश्न गरेँ । त्यो प्रश्नभित्र न कुनै षड्यन्त्र छ,न कुनै नेतृत्वप्रति अपमानको कुरा छ । केवल पार्टी बनाउने, रुपान्तरण गर्ने हुटहुटी छ । पार्टीमा के इमान्दार भएर बोल्न पाइँदैन ?’

मनमा लागेको कुरा राख्दा आफैमाथि प्रश्न उठेको शर्माको तर्क थियो । ‘आज ममाथि प्रश्न उठिरहेको छ,अब मैले अगाडि मीठो कुरा गरेर फेरि पल्तिर गई सत्तासराप पो गरुँ कि लागेको कुरा सिधै सिधै भनुँ ?- उनले साेधे । 

त्यसपछि पार्टीको मूल नेतृत्वप्रति कुनै प्रतिशोध नराखेको स्पष्ट पार्दै बेलीविस्तार लगाए:

जनयुद्धकाे कार्यदिशालाई विकास गर्ने अध्यक्ष प्रचण्ड हो । यहाँसम्म हामीले गरेको आन्दोलनहरू, युद्धहरू,परिवर्तनहरू जो सहभागितामूलक,समावेशी लोकतन्त्र हामीले स्थापना गरेका छौँ । त्यसको संश्लेषण चाहिँदैन ? त्यसलाई वैचारिक रूपमा ढाल्नु पर्दैन ? त्यसमा अरू १००/२०० वर्ष अगाडिसम्म  बढ्नुपर्दैन ? मैले त प्रचण्डलाई अरू दुई सय वर्ष बचाउने कुरा गर्दैछु । अरू दुई सय वर्षसम्म प्रचण्ड बाँचुन्,त्यो उनको विचारले गाइड गरोस् भनेको कुरालाई नेतृत्वका विरुद्ध आयो भनेर ममाथि अनेक अत्याचार गर्न प्रयत्न गरियो । 

प्रचण्डले जीवित हुँदामात्रै नेतृत्व गर्ने कि त्यो विचार दिएर नेपाललाई परसम्म समाजवादी क्रान्तिको नेतृत्व गर्ने ? तपाईं आफैँ रोज्नुहोस् । त्यस कारण तपाईँको भूमिका विचार निर्माणमा रहोस् । वैचारिक अथोरिटी लिनुहोस् । सत्ताको नेतृत्व गर्नुस् । संगठनको जिम्मा अरूलाई दिनुस् भनेको हो मैले । यो के अन्याय हो ? यो के उहाँप्रति अपमान हो ? यो के उहाँलाई हटाएर म अध्यक्ष हुन खोजेको हो ? मलाई चाहिएको छैन । मैले भनेको छु साफ साफ उहाँलाई । तपाईँलाई हटाएर मलाई अध्यक्ष हुनु छैन । तर यो पार्टी आन्दोलन बनाउने हो भने यो छलफल चाहिन्छ भनेर मैले पार्टीमा छलफल राखेको हो । प्रस्ताव राखेको हो । छलफल हुँदैछ । 

नेतृत्वलाई स्थापित गर्न यदि नयाँ ढङ्गले जाँदैनौँ भने हामी सकिन्छौँ । हामी नसकिऔँ,आन्दोलनलाई बचाऔँ भन्ने कुरा राख्दा अनेक आरोप खेप्नुपर्ने ? पार्टी फुटको प्रचार भयो भनेर मैले जहाँ भनिरहेको छु त्यही वरिपरिबाट मेरो कुरा छ । त्यसमा उहाँको भूमिका कति छ,छैन, उहाँले भन्नुहोला । त्यो कुराको खण्डन अध्यक्षले नै गर्नुपर्छ । म प्रत्येक पार्टी सदस्यसँग कानेखुशी गरेर भन्न सक्दिन । मैले पार्टीको, आन्दोलनको,नेतृत्वको,जनताको पक्षमा बाहेक काम गरेको पनि छैन । मनोगत रूपमा लाइदिने आरोपमा त के गर्न सक्छु र ?

उपमहासचिव शर्माले बोलेपछि अध्यक्ष प्रचण्डले पनि क्रमश: ‘कन्ट्रोभर्सियल’ विषयमा स्पष्ट पारे । कार्यक्रमको प्रमुख अतिथि रहेका उनले उपमहासचिव शर्माको लिखित सुझाव प्रस्तावलाई छलफलका लागि केन्द्रीय समिति बैठकमा लैजाने भन्दै विवादलाई ठूलो रुपमा नलिन आग्रह गरे । 

उहाँलाई हटाएर म अध्यक्ष हुन खोजेको हो ? मलाई चाहिएको छैन । मैले भनेको छु साफ साफ उहाँलाई ।

तर,शर्माले पनि बारम्बार आफूमाथि अत्याचार भयो भन्न बन्द गर्नुपर्ने प्रचण्डको भनाई थियो । 'कमरेड प्रभाकर र मेरो स्वभाव के हो भन्ने कुरा सिंगै देशले बुझेकै छ । त्यो स्वभावको कारणले हामी बेला-बेलामा अगुल्टो ठोस्सिएझैँ ठोस्सिने गरेका छौं । यो अहिले मात्रै होइन,जनयुद्धमा पनि,जनयुद्धपछि पनि भएकै हो'-उनले भने ।

प्रचण्डले अगाडि भने- 'तर हामी अगुल्टो ठोस्सिएझैं ठोस्सिनु आगो बाल्नको लागि,खाना पकाउनको लागि र राम्रोको लागि हुँदै आएको छ । र,मलाई विश्वास छ कि यो पटक अझै राम्रो हुनेछ । यो विवाद र बहसले पार्टीलाई अझै एकताबद्ध गर्न,प्रभाकर र मेरोबीच बेलाबेला हुने आशंकालाई दूर गर्न र आपसी समझदारीलाई मजबुत गर्न सहयोग गर्नेछ ।' 

शर्माले पार्टी फुटाउन लागेको भन्ने कुरा आफ्नो तर्फबाट कतै नभनेको प्रचण्डको प्रष्टोक्ति छ । बरु,बाह्य शक्तिहरु विगतदेखि नै माओवादी फुटाउन सक्रिय रहेकाले सबै नेता-कार्यकर्ता सचेत हुनुपर्नेमा जोड दिँदै भने- 'मैले त्यस्तो सोचेको पनि हैन । तर भ्रमै-भ्रम,वरिपरिकाले भन्दै जाने, अर्कोले भन्दै जाने गर्दा साँच्चिकै पार्टी फुटाउन प्रतिक्रियावादी लागे । हिजो पनि लागेकै हुन् । आज पनि लागिराख्या नै छन् माओवादीलाई कमजोर बनाउन, टुटाउन ।' 

स्थायी समिति बैठकको समापनसम्म आइपुग्दा यस्ता भ्रमहरु चिरिएको प्रचण्डको दाबी छ । 'अब प्रभाकरले पनि मलाई यसो भन्यो र त्यसो भन्यो भन्न जरुरी छैन । जुन कुरा टुंगिसकेको छ,त्यो कुरालाई टुंगिएकै रुपमा सम्प्रेषण गर्नु उचित हुन्छ', उनले भने । 

प्रचण्डको भनाई यस्तो छ 

प्रभाकरले राखेको लिखित मतलाई स्थायी समितिले स्वीकार गरिसक्यो । मैले केन्द्रीय समितिको लागि दस्तावेज बनाउँदै गर्दा त्यसलाई पनि आत्मसात गरेर समायोजन गर्ने कुरा भइसकेको छ । प्रभाकर र अध्यक्ष (म)बीच कसरी यति आशंकाको वातावरण बन्यो त भन्ने विषयमा हामी दुवै जना सँगै बसेर अध्ययन र अनुसन्धान गर्ने सहमति भएपछि, अझै त्यति मात्र नभएर केन्द्रिय टिम नै बनाएर त्यो आशंकालाई स्पष्ट पार्न तयार भएपछि हामीबीचमा भ्रमहरु चिरिएको छ । 

आशंका चिर्ने जे उपायहरु थिए, विधिको बारेमा पनि समझदारी बनेको छ । त्यसकारण अब कमरेड प्रभाकरले पनि ममाथि अत्याचारको अत्याचार भयो भनिराख्न जरुरी छैन । 

तपाईंले बहस गरेर राम्रै भयो,यदि तपाईले उठाएका प्रश्नलाई मूल नेतृत्वले नकारात्मक ढंगले लिएको भए केन्द्रिय कायालयमा तपाईले नै भनेअनुसार दुई-दुई घण्टा सबैलाई धैर्यतापूर्वक सुन्न लगाएर,तपाईंको मनमा भएका सबै कुरा सुनेर सम्बोधन गरिने थिएन । यो कुरालाई पनि अब प्रभाकर कमरेडले गहिरो गरी आत्मसात गर्न जरुरी छ । 

पार्टी फुटको कुरा खारेज गरिएको छ । विभाजित माओवादीहरुलाई पनि एकठाउँमा लिएर पार्टी अघि बढ्ने योजना छ ।

 

टिप्पणीहरू