विदेशीलाई बंगलादेश सरकारको ब्रिफिङ : डेढ दशकमा मुलुक तहसनहस

विदेशीलाई बंगलादेश सरकारको ब्रिफिङ : डेढ दशकमा मुलुक तहसनहस
सुन्नुहोस्

बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले निवर्तमान प्रधानमन्त्री शेख हसिनाको शासनकालमा मुलुकका सबैजसो संस्था ध्वस्त पारिएको बताएका छन् । ढाकास्थित विदेशी कूटनीतिज्ञहरुसँगको भेटमा उनले हसिनाको डेढ दशक लामो ‘क्रूर तानाशाही’ शासनकाल निकै बर्बर रहेको उल्लेख गरेका छन्।

युनुसले आफू नेतृत्वको अन्तरिम सरकारले यथासक्य छिटो निष्पक्ष निर्वाचन गराउने वचन दिएका छन् । तर त्यसका लागि निर्वाचन आयोग, न्यायपालिका, प्रशासन, सुरक्षा बल र सञ्चारमाध्यममा परिवर्तन गर्नैपर्ने उनले बताए। 

भारतका उच्चायुक्त प्रणय वर्मालगायत कूटनीतिज्ञहरू उपस्थित भेटघाटमा युनुसले हसिना शासनकालमा गरिएको दमनबाट प्रजातान्त्रिक अधिकार दबाइएको, न्यायपालिकालाई पूर्ण रूपमा ध्वस्त पारिएको उल्लेख गरे ।

जुन १९९६ देखि जुलाई २००१ र पुनः जनवरी २००९ देखि अगष्ट २०२४ सम्म बंगलादेशमा प्रधानमन्त्री रहेकी हसिना विद्यार्थी आन्दोलन चर्केपछि अगष्ट ५ तारिखका दिन भागेर भारत गएकी हुन् । राजीनामा दिएपछि सैनिक विमान चढेर उनी सोही दिन साँझ राजधानी नयाँ दिल्ली पुगेकी हुन् ।

टिप्पणीहरू