रविसँग बयान लिने संसदीय छानबिन समितिको तयारी, मेयरले पठाए चिठी

रविसँग बयान लिने संसदीय छानबिन समितिको तयारी, मेयरले पठाए चिठी
सुन्नुहोस्

सहकारी ठगी प्रकरण छानबिन गर्न बनेको संसदीय समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने भएको छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई समितिले आगामी शुक्रबारको बैठकमा उपस्थित हुन आदेश दिएको बताइएको छ । 

त्यसदिनको बैठकमा गोर्खा मिडियाका प्रारम्भकालीन सञ्चालक छविलाल जोशीलाई पनि बोलाउने समितिको तयारी छ । उनको आमाको १३ दिने काजक्रिया चलिरहेकाले भदौ ७ गतेको बैठकमा आमन्त्रण गरिएको हो ।

सहकारी ठगी प्रकरणका हाल फरार मुख्य नाइके जिबी राई, लामिछाने र जोशीले ग्यालेक्सी फोरके टेलिभिजनमा पोखराको सूर्य दर्शन, चितवनको सहारा, बुटवलको सुप्रिमसहित विभिन्न ठाउँका सहकारीबाट गैरकानुनी रुपमा रकम ट्रान्सफर गरेको देखिन आएको छ ।  

समितिले रास्वपाका सहमहामन्त्री विपिन आचार्यसँग हिजो बयान लिएको हो । उनी गोर्खा मिडियाको तत्कालीन क्रियटिभ डाइरेक्टर हुन् । सहकारीको रकम हिनामिनामा उनी पनि संलग्न रहेको पाइएपछि समितिले बैठकमा बोलाएर सोधपुछ गरेको थियो ।

पोखरा र बागलुङमा रहेको इमेज सहकारीका सञ्चालक देवकुमार नेपाली समितिको सम्पर्कमा आएका छन् । ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका उनी पनि बचतकर्ताको अर्बौ रुपैयाँ हिनामिना गरेर फरार भएका हुन् । तर उनले हुलाकबाट चिठ्ठी पठाएर समितिलाई फर्किने वातावरण बनाइदिन आग्रह गरेको समिति सभापति सूर्य थापाले बताए । 

विदेशमा रहेका उनले लेखेको पत्रमा आफू स्वदेश फर्किएर काम गर्न चाहेको र क्रमशः बचतकर्ताको रकम फिर्ता गर्ने दाबी गर्दै त्यसको लागि वातावरण बनाइदिन समितिलाई आग्रह गरिएको हो  ।

 

टिप्पणीहरू