हिँडेर चीन जाँदै गरेका युवकको साथमा डलरको बिटो
अमेरिकी डलरको तस्करीमा संलग्न एक युवकमाथि मुद्दा चलाइएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका–५, का २१ वर्षीय नुर्पु तामाङउपर मुद्दा दर्ता गरिएको हो ।
रसुवागढीस्थित नेपाल–चीन सीमा नजिकै नाकामा चीनतर्फ पैदल जाँदै गरेका उनी अमेरिकी डलरसहित पक्राउ परेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र रसुवा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले तामाङलाई नियन्त्रणमा लिएपछि साथबाट २० हजार अमेरिकी डलर फेला परेको हो ।
डलरको बिटोसहित समातिएका उनले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ (१), दफा ४ (१) तथा दफा ५ र १२ विपरीतको कसुर गरेको पुष्टि हुन आएको राजस्व अनुसन्धान विभागले जनाएको छ । विभागले सोही ऐनको दफा १७ (१) बमोजिम विदेशी विनिमय (अवैध अमेरिकी डलरसमेत) ओसारपसारसम्बन्धी मुद्दामा २६ लाख ८३ हजार दुई सय रुपैयाँ बिगो कायम गरी सजायको मागदाबीसहित रसुवा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
टिप्पणीहरू