एमाले काेशीद्वारा पार्टी र नेतृत्वको आलोचनामा प्रतिबन्ध
एमाले कोशीले पार्टी र नेताहरुको आलोचना गर्न रोक लगाएको छ । हिजो र अस्ति विराटनगरमा सम्पन्न एमाले कोशी प्रदेश समितिको बैठकले गरेको निर्णयानुसार दलका नेता तथा कार्यकर्ताले अबदेखि सार्वजनिक रुपमा नेता कार्यकर्ताहरुको आलोचना गर्न पाउने छैनन् ।
एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई र अध्यक्ष घनश्याम खडिवडाको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक रुपमा पार्टी, नेता तथा कार्यकर्ताको आलोचना गरे कारबाहीको चेतावनीसहित १३ बुँदे आचारसंहिता पारित गरेको बताइएको छ ।
आचारसंहितामा पार्टी र नेताबारे समाजिक सञ्जालमा लेखेमा वा सार्वजनिक स्थानमा आरोपप्रत्यारोप गरेमा कारबाहीको भागिदार हुनुपर्नेछ । कुनैपनि गुटको भेला बैठक आयोजनामा पूर्ण रोक लगाउँदै गुटबन्दी नगर्न र त्यस्ताको पछि नलाग्न पनि नेता कार्यकर्ताहरुलाई कडा निर्देशन दिइएको छ ।
जारी आचारसंहिता अनुसार पार्टी नीति, नेतृत्व र निर्णयविरुद्ध बोल्न नपाइने, पार्टीमा कसैलाई भेदभाव गर्न नपाइने, घात अन्र्तघात गरेर नोक्सान पुर्याउन नहुने र पार्टीको गोपनीयता भंग गरेर मिडियामा सूचना चुहाउन पाइने छैन । त्यस्तै पार्टी र नेता कार्यकर्ताविरुद्ध कुरा लगाउने र कुरा काट्न नपाइने उल्लेख छ । आर्थिक तथा नैतिक आचारणलाई पारदर्शी बनाउनुपर्ने भनिएको छ ।
एमाले प्रदेश समितिले विराटनगर महानगरपालिका समिति अध्यक्ष सागर थापालाई निलम्बन गर्ने जिल्ला कमिटीको निर्णयलाई अनुमोदन गरेको छ । एमालेबाट मेयरमा उठेर पराजित थापालाई मानगढ खानेपानी उपभोक्ता समितिको चुनावमा पार्टीका आधिकारिक उम्मेदवार विपरितका उम्मेदवारलाई सघाएको आरोपलगाउँदै जिल्ला कमिटीले छ महिना निलम्बन गरेको थियो । सोही निर्णयलाई प्रदेश समितिले अनुमोदन गरेको हो ।
टिप्पणीहरू