आजबाट नयाँ दिल्लीमा परराष्ट्रमन्त्रीको उपचार शुरु
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ । सो क्रममा परराष्ट्रमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्रीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा गर्नुभएको पत्र हस्तान्तरण गर्नुभएको बताइएको छ ।
भेटमा दुई मुलुकबीच कायम रहेका विविध पक्ष तथा आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । हिजै डा. राणा र भारतीय समकक्षी डा. एस. जयशंकरसँग द्विपक्षीय भेटवार्ता भएको थियो ।
सो क्रममा व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधारलगायतका नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गरिएको बताइएको छ ।
डा. जयशंकरले नेपालका परराष्ट्रमन्त्रीको सम्मानमा दिवाभोजको आयोजना गर्नुभएको थियो । परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमणमा नयाँ दिल्ली पुग्नुभएका मन्त्री डा. राणा पर्सि स्वदेश फर्कने तालिका छ ।
आज र भोलि उहाँले स्वास्थ्य परीक्षण गराउने बुझिएको छ । डा. राणाको अघिल्लो वर्ष पाठेघरको उपचार उतै गरिएकाले उहाँ नियमित स्वास्थ्य परीक्षणका लागि त्यता जाने गर्नुहुन्छ । हिपको उपचार जापानको राजधानी टोक्योमा गरिएकाले त्यसको फलोअपका लागि उहाँ बेला बेलामा जापान जाने गर्नुभएको छ ।
टिप्पणीहरू