बिजुलीको बक्यौता नतिर्ने व्यापारीपछि हवाई साहुजीहरु प्रधानमन्त्रीको छेउ
प्रधानमन्त्रीमा नियुक्तिलगत्तै डेडिकेटेड र ट्रंक लाइनको अरबौं बक्यौता नतिर्ने व्यापारीलाई काखी च्याप्नुभएका केपी शर्मा ओलीसँग हवाई उद्यमीहरुले आफ्नै खालको अनुरोध गरेका छन् । उनीहरुले हवाई भाडादर बढाउनुपर्ने तर विदेशीलाई तोकिएको डलर फेयर नहटाउन प्रधानमन्त्रीसँग विशेष जोड गरेको बुझिएको छ ।
बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, यती एयरलाइन्सका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा,समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्की,कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले प्रधानमन्त्री ओलीसँगको भेटमा आफ्ना समसामयिक माग भन्दै सदाशयताका लागि अनुरोध गरेका हुन् ।
प्रधानमन्त्रीले सम्बन्धित निकायहरुसँग छलफल गरेर आफ्नो माग पूरा गर्ने वचन दिनुभएको प्रधानमन्त्रीसँगको भेटमा सहभागी एकजनाले बताए । यसअघि उनीहरुले हवाई क्षेत्रको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणका ठूलाबडासँग अनौपचारिक छलफल गरेका थिए । प्राधिकरणका हाकिमहरुको ग्रीन सिग्नलपछि औपचारिकताका लागि उनीहरुले प्रधानमन्त्रीलाई गुहारे स्रोतको दाबी छ ।
यसअघि प्रधानमन्त्रीले विद्युत प्राधिकरणको बक्यौता नतिरका व्यापारीको पक्षमा लबिङ गर्नुभएको थियो । त्यसमध्येका एक जना शंकर ग्रुपका शाहिल अग्रवालको हिल्टन होटल उद्घाटन गरेर प्रधानमन्त्रीले स्पष्ट रुपमा आफू विवादास्पद व्यापारीको पक्षमा रहेको मनोवैज्ञानिक सन्देश दिनुभएको थियो । कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, प्रहरी महानिरीक्षकलगायत उभिन पुगेका थिए ।
टिप्पणीहरू