विभेद अन्त्यका लागि निर्वाचन प्रणालीमा परिवर्तन जरुरी : एमाले महासचिव
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभाका सांसदहरुको समान हैसियत बनाउन समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्नेमा जोड दिएका छन् । संसदका दुई ठूला दल काँग्रेस र नेकपा एमालेबीच यहि मुद्दामा सहमति भएको उनले बताए ।
कांग्रेस नेता स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शंकरले प्रत्यक्ष चुनाव जितेका र समानुपातिकबाट छनिएका सांसदबीच विभेदको परिपाटी अन्त्य गर्न विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने तर्क गरेका हुन् । यसमा नेकपा (माओवादी केन्द्र) र मधेसवादी दलहरुले असहमति प्रकट गर्न नसक्ने उनको दाबी छ ।
‘चुनाव जितेकाहरुले ‘क’ वर्गको ठान्ने, समानुपातिकबाट आएकाले ‘ख’ वर्गको ठान्ने– जे चिजबाट हामी समाजलाई समानताको जगमा खडा गर्ने कुरा गर्दैछौँ, निर्वाचन प्रणालीका कारणले त्यही असमानताको कारण बनेको छ भने त्यसले समाजलाई सकारात्मक परिवर्तन गर्नसक्छ ? सक्दैन’, शंकरले भने, ‘त्यस अर्थमा समानुपातिक समावेशीलाई यस्तो ढाँचामा बदलेर लैजानुपर्छ । यो चिजको खोजी गर्नुपर्छ भन्ने मान्यता हो नेकपा एमाले र नेपाली काँग्रेसको । त्यसमा माओवादीले विमति राख्न सक्छ ? के मधेसवादी दलले विमति राख्न सक्छन् ? सक्दैनन् ।’
मौजुदा निर्वाचन प्रणाली समानताका लागि बनाएको भनिएता पनि व्यवहारमा त्यस्तो नदेखिएकाले सच्याएर जानुपर्ने उनको मत छ । महासचिव शंकरले आफ्ना अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमति तत्काल बाहिर नल्याउनुको कारण माओवादी केन्द्रलाई पनि राष्ट्रिय सहमतिको सरकारमा जोडिनका लागि भएको जिकिर गरे ।
टिप्पणीहरू