रविलाई प्रज्ञा भवनबाट सुझाव : अमेरिका गए हुन्छ

रविलाई प्रज्ञा भवनबाट सुझाव : अमेरिका गए हुन्छ
सुन्नुहोस्

सामान्यतयाः गाईजात्रामा कलाकारहरुले कविता, गीत, नाटक र प्यारोडीमार्फत् समसामायिक विषयवस्तुमाथि व्यंग्य गर्छन् । यस वर्षको गाईजात्रा कार्यक्रम अस्तिदेखि कमलादीस्थित प्रज्ञा भवनमा सुरु भइसकेको छ । 

गाईजात्रा र कमल गाउँले एक अर्कामा पर्यायवाची नै हुन् । उनले पनि यस वर्षको गाईजात्रामा प्रस्तुती दिएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत विभिन्न दलका शीर्ष नेताहरुमाथि उनले व्यंग्य गरेका छन् । 

उनको व्यंग कविता  : 

सबैका दाइ, शेरबहादुर दाइ, अनि राष्ट्रिय भाउजू
गए दिन तिम्रा पनि, हातमा लाउ पाउजू
त्यस्तै त्यस्तै सबका बा केपी बा, उखानटुक्का जोड

झापा जाउ, भजन गाउ, पार्टी सार्टी छोड
जनयुद्धले जन्माएको, नाम तिम्रो प्रचण्ड
सहिद, बेपत्ता परिवारले गर्नेछन् तिमीलाई दण्ड
एकादेशमा बाबुराम भन्ने पनि थिए
त्यत्रा जनता मरी मरी देशमा बली दिए
गठबन्धनको गाँठोले अड्किराछन् माधव
चौरासीमा उत्तानो पर्छन्, अनि हुन्छ गज्जब
राजेन्द्र र ज्ञानेन्द्र आँ गरिराछन्
राजा ल्याउने, राजा ल्याउने बाँ गरिराछन्
उपेन्द्र र राजेन्द्रलाई टुक्रा पार्नै ठिक्क
भोट किन हाल्यौ भनी जनता भा छन् दिक्क

उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेनको भने प्रशंसा गर्दै भनेका छन् :

बाटो भने पनि तिमी हौ
माटो भने पनि तिमी हौ 
आशा भने पनि तिमी हौ
भरोसा भने पनि तिमी हौ
मिसन ८४ लाई भीषण ८४ बनाइदेउ
पूरै देशको जिम्मा तिमीले नै लेउ
अहिले तिमी कता छौ, नगरकोट कि धुलिखेल
तिम्रो कारण केपी बाको निस्किसक्यो तेल

कलाकार गाउँलेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि कडा व्यग्य गरेका छन् । नयाँ भनेर आश गरिएको पार्टी झन् थोत्रो भएको उनको निचोड छ ।
भन्छन् :

घण्टाघरको घण्टीभन्दा रवि घरको घण्टा ट्वाङ ट्वाङ 
सहकारी– सहकारी जताततै ड्वाङ ड्वाङ
जहाँ गयो, जता गयो, चर्को चर्को बोल्यो
सहकारीको पैसाले रविलाई पोल्यो
रविको मात्रै मुटु छ रे, अरुको रैनछ
भन्नुस् त, मुटु नभएर पनि प्राणी भइन्छ ?
घण्टी घण्टी भन्दा–भन्दै रालो खस्न थाल्यो
जिवि राईले गृहमन्त्रीलाई नै भड्कालोमा हाल्यो
अलि अलि आश गर्या पार्टी भत्क्या पाटी जस्तै भत्क्यो
महामन्त्री मुकुल ढकाललाई धकेले, अब सबै लुत्क्यो
मुकुलको मुकमा चुकुल भो, रास्वपा पनि गो
ए रवि कवि बन तिमी, यसमै छ बरु भलो
हैन भने टिकट काट, अमेरिका चलो ।

टिप्पणीहरू