टिकटक रोक्ने, भुटानसामु कसरी खोक्ने
गत वर्ष नेपाल सरकारले टिकटक बन्द गर्यो । सरकार प्रचण्डको थियो अनि साझेदार नेपाली कांग्रेस । राष्ट्रिय रुपमा टिकटक प्रतिबन्धलाई प्रमुख प्रतिपक्षी दलको रुपमा एमालेले साथै दिएको छनक देखियो । प्रदीप ज्ञवाली र योगेश भट्टराईबाहेक अरुले टिकटक प्रतिबन्धकै पक्षमा लाइन क्लियर गरे । टिकटकलाई यसरी प्रतिबन्ध लगाइयो कि मानौँ यो रोकिएपछि देशका सबै समस्या समाधान हुन्छ । अझ टिकटक प्रतिबन्ध लाउने घोषणा सार्वजनिक गर्दा तत्कालिन सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले नेपालको पारिवारिक मान्यतामा खलल पुर्याएकोसम्म भनिन् । उनलाई नै थाहा होला पारिवारिक मान्यता भत्काउने टिकटक नै भत्काएपछि अहिले त्यो मान्यता फर्कियो वा फर्किएन ? चिनियाँ स्वामित्व र सिंगापुरमा मुख्यालय भएको टिकटक स्वयं चीन विरोधी भनेर चित्रित गरिने पश्चिमा देशहरुले नागरिक तहमा गरेका छैनन् । अमेरिकी राष्ट्रपति उम्मेद्वार डोनाल्ड ट्रम्पको टिकटक आइडी चुनावी प्रचारमा प्रयोग हुँदैछ । बेलायती नेताहरुको पनि त्यस्तै छ ।
चीनसँग सीमा तनाव भएर टिकटक बन्द गर्ने भारत र लोकतन्त्र कमजोर भएका देशहरुतिर बाहेक नागरिक तहमा टिकटक बन्द भएको छैन । तर, नेपालमा एक वर्षदेखि बन्द छ । कारण आन्तरिक कि भूराजनीतिक भन्नेमा विदेशीलाई पनि चासो छ । नेपालले टिकटक बन्द गरेको खबरमा भारतीय मिडिया र भूराजनीतिक गफकर्ताहरुले देखाएको उत्साहको प्रभाव बेइजिङमा पनि परेको थियो । म त्यहीं भएको बेला ग्लोबल टाइम्सकी एक पत्रकारले सोधिन्, ‘नेपालले टिकटक बन्द गर्नुको कारण राजनीतिक हो कि भूराजनीतिक?’ मैले उत्तर दिएँ, ‘राजनीतिक ।’ उनले प्रतिप्रश्न गरिन्, ‘भारतले गराउन दबाब दिएको जस्तो छ । भारतीय मिडियाहरुको सेलिब्रेसनले मनाइरहेका छन् ।’ जवाफमा यो स्तम्भकारले भन्यो, ‘दक्षिण एशियामा सबैभन्दा भारतको निकटको देश भूटान हो । भारतकै लाइनमा लागेर उसले चीनसँग कूटनीतिक सम्बन्ध बढाएको छैन । भारतले गरेको भए शुरुमा भुटानमा गर्ने थियो । त्यहाँ टिकटक खुला छ ।’ मेरो कुराले उनी प्रष्ट भइन् ।
हुन पनि हो तत्कालिन केही नेताका अश्लिल हर्कत टिकटकमा भाइरल भएका थिए । सत्ताधारी र विपक्षी दुवैतर्फ यो समस्या थियो । त्यसमा पनि दुर्गा प्रसाइँले गणतन्त्र नै ढाल्ने भन्दै आन्दोलन तताएका थिए । त्यो आन्दोलनलाई वास्तविकता भन्दा ठूलो देखाउने काम टिकटकबाटै भएको थियो । यसकारणले पनि टिकटक बन्द गर्न सरकार र प्रमुख प्रतिपक्षी हतारमा भएजस्तो देखियो । बरु जनमत पार्टीका नेता सिके राउतले टिकटक बन्दको अर्थ छैन भने । नागरिक समाजबाट कनकमणी दीक्षितहरुले आवाज बुलन्द गरे । सरकारले सुनेन । बन्दै गर्यो । हुन त प्रविधि बन्द गरेर बन्द हुन्न । चीनले बन्द गरेको फेसबुक चीनबाटै चलाउनेहरु धेरै छन् । नेपालले बन्द गरेको टिकटक पनि नेपालबाटै चलिरहेको छ । टिकटक बन्द गर्ने दलहरु र त्यसमा मौन समर्थन गर्ने दलहरुका नेता, कार्यकर्ताले नै चलाइरहेका छन् । तर, आम मान्छेले चलाएका छैनन् । प्रविधिमा जानकार नभएकाहरुले चलाउन पाएका छैनन् ।
टिकटक प्रतिबन्ध लाएर सरकारले कमजोर मनस्थिति देखाएको छ । सरकारले आफू बिरोधी आवाज कम गर्न टिकटक रोके पनि सरकारविरोधी आवाज सरकारी मान्छेका सामाजिक सञ्जालको कमेन्टमै आएका छन् । टिकटकको जमात रिलमा सरेको छ । सरकारले आफूलाई आलोचना गर्नेहरुलाई सास्ती होस् भनेर यो काम गरेको हो भने पनि त्यो मुद्धा असफल भइसकेको छ । सरकारले दुर्गा प्रसाइँको गणतन्त्रबिरोधी आन्दोलन दबाउन बन्द गरेको हो भने त्यसको अध्याय बन्द भइसकेको छ । यस्तै अमेरिका वा भारत पक्षधरबाट दबाबमा बन्द गरेको भन्ने तर्कमा पनि दम छैन । माथि भनिएजस्तै भारतको सबैभन्दा प्यारो देश भुटानमा टिकटक मज्जैले चलिरहेको छ । अमेरिकामा सरकारी डिभाइसबाहेक नागरिक तहमा चलेकै छ ।
नेपाल दक्षिण एशियाको सबैभन्दा खुला देश हो । यहाँ शेरबहादुर देउवालाई बालुवाटार कार्यालयमै पुगेर चड्कन लाउन खोज्नेहरु जीवित हुन्छन् । मध्यपहाडी राजमार्ग यात्रामा निस्किएका ओलीलाई हातपात गर्न खोज्ने सर्वसाधारण हुन् वा प्रचण्ड र झलनाथ खनाललाई आक्रमण गर्नेहरु हुन्, सबै जीवित छन् । आज त्यही बंगलादेशमा हसिनाले जीवित हुने सम्भावना नदेखेर भाग्नु परेको छ । मोदीको आलोचना गर्नेहरुले उनको गेटमा छिर्न पाउँदैनन् । पाकिस्तानमा सेनाको बिरुद्ध कोही चुइँ बोल्न सक्दैन । भुटानमा राजाले दिएको निगाहमा मात्रै चल्ने हुन् दलहरु । कानुनी धारामा भएका अधिकारमा पनि नेपाल दक्षिण एशियाकै सबैभन्दा खुला देश हो । मिडिया सबैभन्दा खुला नेपालमै छ । तर, टिकटक बन्द गरेर नेपालले आफू खुला देश भएको कुरामा गर्व गर्ने नभएर प्रश्न खडा गर्ने काम गरेको छ । यो डिजिटल डेमोक्रेसीको लागि घातक कुरा हो । चाहे रुसी सामाजिक सञ्जाल टेलिग्राम होस् वा अमेरिकी रिल, फेसबुक, इन्स्टाग्राम वा चिनियाँ टिकटक कुनै पनि सामाजिक सञ्जाल बन्द गर्नु राम्रो बाटो हुँदै होइन । नियमन सही छ ।
यन्त्रण खराब छ । नेपालजस्तो सबैभन्दा खुला देशमा त यो झनै खराब छ । टिकटक बन्द भएको एक वर्ष पुग्दा बन्दकर्ताहरु, समर्थन गर्नेहरु र टिकटकको मुद्धा न्यायिक निकायमै लम्ब्याएर रमाइलो मान्नेहरुले यो खराबीलाई स्विकारेर सुधार्नुको बिकल्प छैन । हो, सामाजिक सञ्जालको खराबी छ । यसमा खराब तत्व छन् । घृणाका अभिव्यक्ति छन् । उत्तेजक सामाग्री छन् । समाजलाई कमजोर बनाउने तन्तुहरु भएका कन्टेन्ट छन् । तर, ती कुरालाई राज्यले कदम चालेमा त नियन्त्रण हुँदोरहेछ नि ! हिजो मेयर बालेनले उपमेयर सुनितालाई चुम्बन गरेको डिपफेक बनाउनेले सरकारले कदम लिन लागेपछि आफैँ डिलिट गर्न बाध्य भए । प्रहरी खोरमा पुगे । यस्तै गरी सरकारले कदम चाल्ने हो भने बिकृति घट्दै जान्छ । खुला समाजको सौन्दर्य मग्मगाँउदै जान्छ । नेपाली खुला समाज, खुला डिस्कोर्स र खुला मान्यता जोगाउन टिकटक प्रतिबन्ध खुला हुनुपर्छ । राजनीतिक, अदालती वा कुनै पनि बहानामा सामाजिक सञ्जाल बन्द गरिनुहुन्न ।
टिप्पणीहरू