काठमाडौं फर्कनुअघि परराष्ट्रमन्त्री नयाँ दिल्लीमा व्यस्त
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एसियामा देखापरेको जलवायु परिवर्तनको असरलगायत साझा समस्याको संयुक्त रुपमा अनुसन्धान गर्दै समाधानका उपाय सुझाउनुपर्ने धारणा राख्नुभएको छ । उहाँले दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुसँग आज बिहान नयाँ दिल्लीमा भएको भेटमा उक्त आग्रह गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।
दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक के.के.अग्रवालको टोलीसँग भेट गर्दै मन्त्री डा. राणाले जलवायु परिवर्तन यस क्षेत्रको ज्वलन्त साझा समस्या रहेको उल्लेख गर्नुभयो । त्यसका लागि प्राज्ञहरुले संयुक्त रुपमा अनुसन्धान र उपायहरु सुझाउनुपर्ने बताउनुभयो ।
उक्त विश्वविद्यालय दक्षिण एसियाली राष्ट्रहरुको क्षेत्रीय सहयोग संगठन सार्कका सदस्य मुलुकहरुको सहभागितामा सञ्चालित छ । सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु यो विश्वविद्यालयको पदेन चान्सलर रहने व्यवस्था छ ।
परराष्ट्रमन्त्री डा. राणासँग नेपाली काँग्रेस जनसम्पर्क समिति भारतको टोलीले आज बिहान नयाँ दिल्लीमा भेट गरेको छ । नेपाली काँग्रेस जनसम्पर्क समिति, भारतका पदाधिकारीहरूल डा. राणालाई बधाई तथा सम्मान प्रदान गरेका हुन् ।
आइतबार नयाँ दिल्ली पुग्नुभएका मन्त्री डा. राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी एस.जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँ आज अपरान्ह स्वदेश फर्कंदै हुनुहुन्छ ।
टिप्पणीहरू