रविले हदम्याद नमान्ने, खगेन्द्र समातिएकोमा आक्रोश
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कुरा स्वीकार्य नहुने बताएका छन्। आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले हदम्यादविरुद्ध आफ्नो पार्टी कडा ढंगले प्रस्तुत हुने प्रष्ट पारे ।
‘भ्रष्टाचारको मुद्दामा कुनैपनि किसिमको हदम्याद राखिनु हुँदैन । हामी यसमा स्पष्ट छौँ । र सिंगो सदन यो ठाउँमा उभिने छ भन्ने विश्वास गराउन चाहान्छु', लामिछानेले भने ।
नीतिगत निर्णय भनि मन्त्रिपरिषद्बाट निर्णय गराएर भ्रष्टाचार हुने गरेको भन्दै उनले त्यस्तो क्रम रोक्नुपर्नेमा पनि जोड दिएका छन् । त्यसनिम्ति नीतिगत निर्णयको किटेर परिभाषा गरिनुपर्ने उनको भनाई छ ।
'नीतिगत भ्रष्टाचारको निर्णय गरेर मन्त्रिपरिषद् लाने कुरालाई गम्भीर रुपले हेरिएको छ । यसलाई अख्तियारले पनि ध्यान दिएको छ', लामिछानेले भने, 'यसलाई परिभाषित गर्ने पनि गरेको छ । त्यसबारे म ध्यान गराउँछु । नीतिगत भनेर मन्त्रिपरिषद् लगेर त्यस्ता निर्णय गराउनेक्रम रोकिनुपर्छ । त्यसको परिभाषा हुनुपर्छ ।'
सभापति लामिछानेले राज्यका विभिन्न तहमा दलितको सहभागिताको माग गर्दै माईतीघरमा आन्दोलन गर्दै आएका अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन् ।
दलितले आफ्नो हक माग्नु गलत हो ? भनि उनले सरकारलाई प्रश्नसमेत गरे ।
टिप्पणीहरू