स्वास्थ्यका कुरा गर्दै प्रधानमन्त्री - मैले नेपालमै किड्नी ट्रान्सप्लान्ट गरेको हो !
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वास्थ्य क्षेत्रले सोचेभन्दा धेरै फड्को मारिसकेको दाबी गर्नुभएको छ ।
आज प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले स्वास्थ्य क्षेत्र बेस्कन सुधारिएको बताउनुभएको हो । आफ्नै किड्नी ट्रान्सप्लान्टको उदाहरण पेश गर्दै ओलीले स्वास्थ्य क्षेत्रमा धेरै विकास भएकाले नै यो सम्भव भएको उल्लेख गर्नुभयो ।
‘स्वास्थ्य क्षेत्र धेरै विकास भइसकेको छ, लगभग सबै रोगको उपचार नेपालमै सम्भव हुने अवस्था बनेको छ, केही केही उपचार बाहेक’, उहाँले भन्नुभयो, ‘मैले दुई पटक किड्नी ट्रान्सप्लान्ट गर्या छु, पहिलोपल्ट नेपालमा त्यो सुविधा थिएन, तर दोश्रो पटक मैले नेपालमै ट्रान्सप्लान्ट गर्या हुँ ।’
ओलीले नेपालीको सरदर आयु ७२ वर्ष पुगेकोमा खुशी पनि व्यक्त गर्नुभयो । ‘अलि अघिसम्म नेपालीको ४२ वर्ष सरदर आयु थियो, तर अहिले यति वातावरण प्रदुषण, खानेकुराहरुमा विषादी मिसावटका बाबजुद पनि सरदर आयु ७२ वर्ष पुग्या छ त’, उहाँले थप्नुभयो ।
समग्रमा नेपालको शैक्षिक र आर्थिक अवस्था पहिलेभन्दा धेरै सुधार भएको प्रधानमन्त्रीको दाबी छ । गरिबीलाई २० प्रतिशतमा झारिएको भन्दै उहाँले सुनाउनु भयो, ‘केही दशकभित्र ४२ प्रतिशत गरिबीको निरपेक्षमुनि रहेका जनतामध्ये आधालाई त माथि उठाइएको छ । साक्षरताको जुनस्तर थियो, त्यसलाई डबलभन्दा माथि विकास गरिएको छ ।’
यति हुँदाहुँदै पनि केही राजनीतिक शक्तिहरुले त्यसै असन्तुष्टी पोखेको प्रधानमन्त्रीको बुझाई छ । ‘जनतामा भएको असन्तुष्टिभन्दा बढी राजनीतिक दलहरुले नै देखाउन खोजेका छन् । यसभित्र अनेकौँ मनाशय होलान्’, उहाँले भन्नुभयो ।
टिप्पणीहरू