क्याबिनेट बैठकअघि टिकटककी उपाध्यक्ष काठमाडौंमा
सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारीको अन्तिम क्षणमा उपाध्यक्ष हेलेना लास्र्च काठमाडौं आइपुगेकी छन् । बेलुकी ५ बजे डाकिएको मन्त्रिपरिषद् बैठकअघि उनी नयाँ दिल्लीबाट आएकी हुन् ।
हेलेना भिस्तारा एअरको उडान नम्बर १५५ बाट सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेको बताइन्छ । आज साँझको क्याबिनेट बैठकले टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउन हिजो मन्त्रिस्तरीय निर्णय गर्नुभएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत कात्तिक २७ गते प्रतिबन्ध लगाएको थियो ।
टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउन माग गर्दै सर्वोच्च अदालतमा १४ वटा छुट्टाछुट्टै रिट दायर भएको छ । तिनलाई एकमुष्ट हेर्नेगरी सर्वोच्च अदालतले असोज १० गतेका लागि पेशी तोकेको छ । टिकटक कम्पनीले नेपाल सरकारलाई गत साता गरेको पत्राचारमा कानुनबमोजिमको कर तिर्ने प्रतिबद्धता जनाएको छ ।
टिप्पणीहरू