जिब्रोका कारण सामाजिक सञ्जालमा परराष्ट्रमन्त्री सँधै ट्रोल
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको जिब्रो फेरि चिप्लिएको छ । आफ्नो भारत भ्रमणबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जिब्रो लर्बरिएपछि मुखबाट अर्कै अर्थ लाग्ने शब्द निस्किएको छ ।
पाँच दिने भारत भ्रमण सकेर आज अपरान्ह स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्ने क्रममा ‘निमन्त्रणा’ भन्नुपर्नेमा दुइ पटक ‘नियन्त्रण’ उल्लेख गरिएको हो । मन्त्री राणाले शुरुमै भन्नुभयो, ‘मित्रहरु, मित्रराष्ट्र गणतन्त्र भारतका विदेशमन्त्री महामहिम डा. एस जयशंकरको मैत्रीपूर्ण नियन्त्रणमा..नियन्त्रणमा...निमन्त्रणामा (अक्मक्किँदै) भारतको औपचारिक भ्रमण सम्पन्न गरि म आज स्वदेश फर्किएकी छु ।’
केही साताअघि लिखित मन्तव्य राख्दा पनि उहाँलाई नेपाली शब्द उच्चारण गर्न यस्तै सकस परेको थियो । त्यतिबेला ‘पछिल्लो’ शब्दलाई ‘पिछल्ले’, ‘पिछल्लो’, ‘पिछल्ला’ भन्दै अन्तिममा कनिकुथी ‘पछिल्लो’ उच्चारण गरिएको थियो । मन्त्रीको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा ट्रोल बनेको थियो ।
त्यो सेलाउन नपाउँदै आजको अभिव्यक्ति फेरि सामाजिक सञ्जालमा ट्रोल बनेको छ ।
टिप्पणीहरू