जोगीहरूको जगजगी र पशुपतिको कोटिहोमका कथा

जोगीहरूको जगजगी र पशुपतिको कोटिहोमका कथा

सोमबारका निम्ति आइतवारदेखि नै ठेलमठेल हुने पशुपतिनाथ क्षेत्र यो वर्ष कोटिहोमको भीडभाड, व्यंग्यबाण, हुलमुल र हानाहान तथा भागमभागको भीडभाडपूर्ण तनावले साउन महिना पूरै तनावग्रस्त हुनपुग्यो । पहरोको छेउमा चिच्याएर कराएपछि पुन स्वरको गुञ्जन फर्किएजस्तै कोटिहोम सकिए पनि यसको लहरोले तानेको पहरोले धेरैलाई लपेट्न थालेको छ । भुसको आगोझैँ भित्रभित्रै सल्किरहेको होम–कोटिहोम, यज्ञ–महायज्ञ, एकाह सप्ताह, नवाह, रुद्री, र पुराणको आगोले धेरैलाई खरानी बनाउने मात्र होइन, सरकारमा बसेकाहरूको पनि धोतीको सुर्केनो फुस्काइदिएको छ । पशुपति विकास कोषको पनि पर्दाफास भएको छ । कोषले कति कमायो ? नेतृत्व किन चुपचाप हो ?

केही वर्षयता भएका कोटिहोममध्ये पहिलो हो, काभ्रेपलाञ्चोक जिल्लाको लंकेश्वरमा भएको कोटिहोम । दोस्रो हो, वैद्यनाथ धाम, साँफेबगर कालीमाटीगढी, अछामको कोटिहोम । तेस्रो र सबैभन्दा विवादास्पद रह्यो, साउन महिनाभर पाशुपत क्षेत्रमा बिवादहरूको भुमरीमा रुमल्लिएर भर्खरै सकिएको कोटिहोम ।

होमहरूको महायज्ञ ! 

होममध्ये कोटिहोम सबैभन्दा विशाल हुने कुरा यसको नामले नै इंगित गर्छ कोटि अर्थात् कम्तीमा एक करोड हवन हुनुपर्छ । कोटिहोम ब्यक्ति, समाज, राष्ट्र र विश्व कल्याणका लागि हुन्छ । त्यसैले कोटिहोम लरतरो काम हुँदै होइन । यसका लागि विशेष व्यवस्थापन हुनु जरुरी छ । जुनसुकै बेला कोटिहोम गर्छु भनेर पनि हुँदैन, यसको शास्त्रीय विधिविधान नै छ । ज्योतिष तथा धर्मशास्त्रका ज्ञाताहरूको सरसल्लाहमा मुहुर्त निर्धारण गरिएको हुनुपर्छ, निषिद्ध समयमा होम गर्नु हुँदैन । यज्ञकर्ता र गराउने आचार्य पनि सदाचारवान हुनुपर्छ, होम गर्दा विधि पुर्‍याइएन भने अनिष्ट हुन्छ, सिद्धि हुँदैन, वेदमा विद्यावारिधि गरेका प्राडा ऋषिराम पोखरेलले भने, ‘उत्तरायणमा हुनुपर्ने कोटिहोम दक्षिणायनमा ग¥यो भने वा वृहस्पति–शुक्रअस्त, मलमास, क्षयमासजस्ता निषिद्ध समयमा होमादी गरेमा सिद्धिप्राप्त नहुने मात्र होइन कि थप क्षति नै हुन्छ । 

यसको खर्च र आम्दानीको स्रोत के हो ? के, कहाँ, कुन शिक्षा, स्वास्थ्य र सेवा गर्नको लागि चन्दा, दान, अनुदान लिन लागिएको हो ? यसको हिसाब किताब अर्थात् अडिट आयोजकले गरे नगरे पनि कोटिहोम कार्यक्रम गर्न स्वीकृति दिने सरकारी निकायले यो कार्य गर्छ कि गर्दैन ? 

राष्ट्रमा बिग्रह, उपद्रो भुइँचालो, बज्रपात भयो वा हुनेवाला छ, बाढी पहिरो, दुर्भिक्ष, अतिबृष्टि अनावृष्टि, महामारी, खडेरी, युद्ध द्वन्द्व हुँदैछ भने शान्ति र सामाजिक तथा विश्व कल्याणका लागि विधिविधान पुर्‍याएर साइत हेरी यज्ञ यज्ञादी होम गर्नुपर्छ । उनले थपे, ‘अन्य होमको तुलनामा कोटिहोम महायज्ञ हो । यसको हिसाव हुन्छ । यो ज्यादै विशाल र प्रभावकारी हुन्छ । यो लरतरो कार्य हुँदै होइन !यतिखेर सामाजिक सञ्जालहरू फेसबुक, युट्युब र पत्रपत्रिकामा साउन १ गतेदेखि ३२ गतेसम्म भएको कोटिहोमका भीडको दृश्य, प्रवचनकर्र्ता, तिनको हाउभाउ, अन्तर्वार्ता, आरोप प्रत्यारोपले भरिभराउ छन् । कोटिहोम सकिइसक्यो तर त्यसको होहल्ला सकिएको छैन ।

धेरैका मनमा अनेक सवाल उत्पन्न भैरहेका छन् । के हो कोटिहोम ? को हुन् यसका सञ्चालक, व्यवस्थापक, वाचक, स्रोता ? कसले खर्च गरिरहेको छ ? के केमा गरिरहेको छ ? कति खर्च भैरहेको छ ? अनि आम्दानीको स्रोत के हो ? कसले दिन्छ पैसा ? कति जनाले दैनिक खान्छन् ? काम गर्नेहरूले कति पाउँछन् ? कि सबै स्वयम्सेवक छन् ?  प्रवचनकर्ताहरू स्वदेश मात्र होइन, विदेशबाट पनि आएका थिए, तिनीहरू निशुल्क हुन् कि सशुल्क ? कसलाई कति दिइयो ? यो सवाल किनभने कोही त ४० जना कमाण्डोको सुरक्षा घेरामा रहेर सहभागी भैरहेको सुनियो, देखियो ! के यसको अडिट हुन्छ ?

योगी नरहरिनाथले २०१७ सालपछि धेरै कोटिहोम आयोजना गरेर नेपालमा लहर चलाएको पुराना मानिसहरू बताउँछन् । त्यसपछि सप्ताहमा तहल्का मच्चाउने नारायण पोखरेल नै हुन् । उनले स्कूल, कलेज, अस्पताल बनाउने भनेर धेरै सप्ताह लगाए, गाउँशहरका धेरै नेपालीजनलाई सामाजिक सेवामा सहभागी गराउने काममा सफलताको शिखर नै छोए पनि । तर उनलाई माओवादीहरूले सप्ताहस्थलमै मारे । त्यसपछि उनको बिंडोलाई कलिला छोरा दिनबन्धु पोखरेलले निरन्तरता दिए । त्यसपछि केही अरु पनि वाचक देखिन थालिरहेको सन्दर्भमा पशुपतिनाथ क्षेत्रमा साउनमा आयोजित कोटिहोमले लंका नै पिटेको छ ।

हट न्यूज ! 

संसदको वर्षे सत्र शिखरमा पुगिरहेको, भर्खरै नयाँ सरकारले पूर्णता पनि पाउन बाँकी रहेका बेला शुरु भएको कोटिहोम यति हट न्यूज बनेर आयो कि राजनीतिक खबरहरूलाई उछिनेर कोटिहोमले समाचारको शीर्षतालाई नै अपहरण पो ग¥यो ! यो कसरी हट न्यूज बन्यो ? मै हुँ भन्ने पत्रकार विश्लेषकहरू पाखा परे । नाच–गान र प्रवचनले सबै लट्ठिए । सहभागी स्त्री–पुरुष, युवा–युवती जसरी झुमिरहेका थिए, वाद्यवादकहरू पनि संगीतका मृदंगाहरूमा लट्ठिइरहे । कोटिहोममा भक्तजन र श्रद्धालुहरूको यो फ्युजनबीच कसैले देशकालबारे सोचिरहेको थिएन । उनीहरू इहलोक, परलोकको दार्शनिक चमकले मुक्त भैरहेका थिए । कोटिहोममा कोही दान गरिरहेका थिए, कोही खानपान गरिरहेका थिए । कोही कसैलाई प्रणाम गरिरहेका थिए भने कोही कसैको दर्शन पाउन लालायित देखिन्थे । हाँसिरहेका थिए, रोइरहेका थिए । 

हवन कुण्ड 

पशुपतिको कैलाश चौरमा मन्दिररूपी दशवटा हवनकुण्डहरू बनाएर हरेक दिन हवन गरियो । सुमार्गी भवन छेउ निर्मित मण्डपमा भने बिहान सात बजेदेखि साँझसम्म प्रवचन भैरहन्थ्यो । त्यसकै छेउमा १०८ भागवत परायणका लागि २२ पण्डित सहभागी थिए । कोटिहोममा अतिरुद्री पाठ भैरहेको थियो । भागवत पाठपरायण चलिरहेको थियो । पार्थिव शिवलिंग पूजन भैरहेको थियो । एक हजारभन्दा बढीलाई आवास व्यवस्था थियो । भोजन पाँचहजारलाई नित्य भने पनि त्योभन्दा कैयौं गुणा बढीले ग्रहण गरिरहेका थिए । 

एउटै सवाल

कोटिहोम कसको के स्वार्थ वा एजेण्डा स्थापित गर्न आयोजना गरिएको हो, त्यो उनीहरूले नै जानुन् ! यो अदनाको चासो के मात्र हो भने, यो होम के उद्धेश्यले गरिएको हो ? यसको खर्च र आम्दानीको स्रोत के हो ? के, कहाँ, कुन शिक्षा, स्वास्थ्य र सेवा गर्नको लागि चन्दा, दान, अनुदान लिन लागिएको हो ? यसको हिसाब किताब अर्थात् अडिट आयोजकले गरे नगरे पनि कोटिहोम कार्यक्रम गर्न स्वीकृति दिने सरकारी निकायले यो कार्य गर्छ कि गर्दैन ? राज्यले हजारौं हजार जनता जम्मा हुने स्थलमा हुन सक्ने सुरक्षा चुनौतीको कस्तो व्यवस्था गरेको थियो ? त्यो जानकारी दिनु लिनुपर्छ कि पर्दैन ? कतै यो जनताको धार्मिक भावनालाई शोषण गर्ने कुत्सित मनशायले पो आयोजना गरिएको  हो ? राज्यले ख्याल गर्नुपर्छ कि पर्दैन ? सनातन धर्मकै नाउँमा महिला, निमुखा, अशिक्षित, अव्यवहारिकहरूलाई शोषण गर्ने ब्यभिचारी, पाखण्डी, ठग, लुटेराहरू गेरुवस्त्र धारण गरेर, जटा पालेर, रुद्राक्ष र तुलसीका माला पहिरिएर ब्यासासनमा बसेर शोषण त गरिरहेका छैनन् ? यसको जाँचपडताल समाजले मात्र होइन, राज्यका सम्बन्धित निकायले पनि गर्नुपर्ने होइन ? 

२०७२ को भूकम्पपछि गाउँगाउँमा राहतका पोका सँगसँगै बाइबल थमाउनेहरू, विदेशी साम्प्रदायिक संस्थाका लखौलाखका पुरस्कार थाप्न सिउलदेखि भ्याटिकन सिटीसम्म पुग्नेहरू होली वाइनका उत्सवहरूमा सहभागी हुने, व्यक्तिगत र आर्थिक लाभका लागि जुनसुकै धर्मसम्प्रदाय र कार्यक्रमहरूमा सहभागी हुने उच्चपदस्तप्रति पनि समाज र सम्बन्धित निकायले नै प्रश्न उठाउनुपर्ने होइन र ? समाजका बुद्धिजीवी, लेखक, पत्रकार र संबन्धित निकायले औंला उठाउनुपर्ने होइन ? नबुझिँदो किसिमले शक्तिकेन्द्र बन्ने र शक्तिशाली ओहोदाकाहरूको दैनिकजसो चहलपहल हुने र विभिन्न नाउँमा राज्यको श्रोतसाधन, पदहरूको बाँडफाँड गर्ने‘सम्मका केन्द्र र औजारका रूपमा मध्यस्थता र बिचौलियाका रूपमा स्थापित हुँदै गएका यस्ता अभियान र अभियन्ताहरू युगौँदेखि मिलेर बसेको समाज विखण्डनका लागि घातक हुने कुरा औँल्याउँछन्, समाजशास्त्री तथा मानवशास्त्रीहरू । भन्छन्, भारतमा मात्र होइन, नेपाल र नेपालीमूलका युरोप, अमेरिका अष्ट्रेलियामा बसोवास गर्नेहरूमार्फत राजनीति, कूटनीति, अर्थ, उद्योग, बैंकिङ, व्यवसाय सर्वत्र छ जोगीहरूको जगजगी !  

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू