अस्थिर राजनीति र गैरजिम्मेवार नेतृत्वको परिणाम : स्टण्टबाजी र चटक
लक्ष्मण चौलागाईं विद्रोही
सरकारलाई थुप्रै सुझावहरू व्यक्त गरिरहनुपर्ने अवस्थामा आज लोकतन्त्रका बहसहरु चल्नुपर्ने बेलामा कुर्सी तानातानका खिचातानीले शिखर चुमेको छ । यसबाट नेपालको राजनीतिले स्थायित्व प्राप्त गर्न नसकेको र सुशासन कायम हुन नसकेको पुष्टि भएको छ ।
बहुमतीय निर्वाचन प्रणालीले नेपाली जनताको अभिमतलाई सम्मान गर्न सकेको छैन । सारा नेपालीले भोट हालेर प्रधानमन्त्री÷राष्ट्रपति चुन्ने निर्वाचन प्रणाली यो मुलुकमा हजारौंको बलिभेदी पश्चात पनि सम्भव भएन । जनताको अवस्था ज्यूँको त्यूँ रहनु राजनीतिक दलहरूको निम्ति कहिल्यै समस्या बनेन । नेताहरुमा प्रधानमन्त्री र मन्त्री बन्ने मात्रै सपना, सांसद बन्ने मात्रैका स्टन्टबाजीले आज देशमा जनतालाई धोखा दिने भन्दा दोस्रो कार्य भएको देखिँदैन ।
देश आर्थिक स्रोतको हिसाबले तन्नम अवस्थामा छैन । थुप्रै सम्भावनाले सम्पन्न देश आज गरिबीको रेखामा आइपुग्नुमा हाम्रा हिजोका मतहरू नै आज जिम्मेवार बनेका छन् । आफैँले दिएका भोट जनतालाई सजाय बनेका छन् । विश्वास सबै घातमा परिणत भएको छ । राम्राभन्दा भ्रष्टाचारका नराम्रा समाचारहरु निरन्तर सुनिरहेका छौं ।
देश हामी सबैको साझा हो । नेपाल आमा नेपाली सबैकी आमा हुन् । हाम्रो राष्ट्रियता कमजोर हुनु भनेको हाम्रो राष्ट्रिय परिवार कमजोर हुनु हो । आन्तरिक विवादले मुलुक कमजोर हुँदै गएको छ । यसबाट वाह्य आक्रमणको निम्ति सहज र मार्ग प्रशस्त भएको छ ।
इतिहासमा परिवर्तन एकैचोटी सम्भव हुँदैन । २००७ सालमा प्रजातन्त्रले बोल्न पाउने हक लिएर आयो । त्यसपछि दलीय व्यवस्था पुनस्र्थापना भयो । वाक स्वतन्त्रतापूर्ण गणतन्त्रको बिल्लासहित गणतन्त्र ल्याइयो । तर जनताले बोल्न मात्रै पाए सिंहदरबार र बालुवाटारले उनीहरुको आवाज सुन्ने संवैधानिक संयन्त्रको तर्जुमा नै भएन ।
अमूल्य शक्ति ठानिएका युवापंक्तिको ऊर्जा मुलुकबाट रित्तिँदै छ । उनीहरुले मुलुकमा भविष्य नदेखेको र नेपाली भएकोमा गर्व गर्न नपाएपछि बाध्यताले विदेशी भूमि रोज्नुपरेको बताइरहेका छन् । मुलुकभित्र रहेका नेपालीले सार्वभौम नागरिकको अनुभूति गर्न सकेका छैनन् । यी सबै घटनाक्रमले हाम्रा सम्भावनाहरू दिनहुँ ओरालो लागिरहेको भान हुन्छ ।
पछिल्लो समय मुलुकको संसद जागिरेहरूको कार्यालय सरह बनेको छ । सरकारको जिम्मेवारी व्यवसायीको दैनिकीझैँ बन्दैछ । राजनीति पेशा बन्दै गएको छ । राष्ट्र सेवाको नाममा गरिने राजनीतिले नेपाली जनतालाई नक्कली घोषणापत्र मार्फत् ठगिरहेको धेरैले बुझेका छन् ।
शासकका सन्तानहरू अमेरिका युरोपमा पढ्ने र पुग्ने हैसियतमा पुगेका छन् । मतदाताका छोराछोरी सरकारी स्कुलमासमेत कापी कलम किन्न नसक्ने विपन्नतामा ओर्लिएका छन् । यसतर्फ कुनै पनि दलका नेताले नेतृत्व गरेको सरकारले गम्भीर ध्यान पुर्याउन सकेको देखिँदैन ।
सिटामोलको अभावमा गरिब नागरिकले जीवन गुमाइरहेका छन् । कर्णाली र दूरदराजका धेरै जनता र नदीले पुल देखेका छ्र्र्रैनन् । तुइन चुँडिँदा कैयाँैं सर्वसाधारणले खोलामा ज्यान गुमाएका छन् । जनताका यस्ता कष्ट राज्यको पीडा बन्नुपर्ने थियो । तर ती कष्ट सँधै जनताका पदेन समस्या बनेका छन् ।
निर्वाचनमा जनताका ती कष्ट भोट माग्ने माध्यम बने । दशकौंदेखि जनताले सुनेका जनताका हक अधिकार आजसम्म एकादेशको कथा बनेको छ । व्यवस्थाको नाम बदलिए पनि अवस्था नबदलिँदा मुलुकमा गणतन्त्र विरोधी तत्वहरू सक्रिय भएका छन् । जनताको अवस्थालाई उकास्न सकेको भए आज यहाँ युट्युबरहरू माननीय हुने थिएनन् । जनतालाई समृद्ध बनाउन सकेको भए स्टन्टबाजी र चटक देख्नुपर्ने थिएन ।
सीमा स्तम्भ यथास्थानमा सार्न सकेको भए अवसरवादीहरूको जन्म हुने थिएन । जनप्रेमी शासक भइदिएको भए आज मुलुक अभिभावक बिनाको टुहुरो जनता रहेको देश बन्ने थिएन । किसानदेखि उद्योगी, व्यवसायीसँग कर उठाएर पनि अर्थतन्त्र निरन्तर ओरालो लागेको छ । यी सबैको प्रमुख कारण बेरुजु र भ्रष्टाचार रहेकोमा कसैको दुईमत छैन ।
राजनीतिलाई पेशा बनाएको कारण जनताका दूर्दशा बढ्दै गएका हुन् । गरिबका सन्ततिले डाक्टर, इन्जिनियर, पाइलट पढ्न र बन्न पाउने सुविधा राज्य सत्ताले तय नगरुञ्जेल नेपाली युवायुवतीहरु सदैव खाडी मुलुकको दास बन्न विवश हुनेछौं । थुप्रै अङ्गभङ्गहरूको घाऊ निको नहुँदै कमजोर बन्न पुगेको गणतन्त्रले भोलि परिवर्तनका हिमायतीहरूको कठालो समात्न सक्ने सम्भावना पनि प्रबल छ । इतिहासमा शासक शलिकमा पनि बाँच्न नपाउने गरि जनताको घृणा थप चुलिन सक्छ ।
मुलुकभित्रका बेथिति, अराजकता, विकृति, विसंगति हाम्रो शासन सत्तालाई बदनाम गराउने साधन रहेको बालुवाटार र सिंहदरबारले अब पनि नसोचे परिस्थिति झन् जटिल बन्ने छ । मुलुकले एउटा आँटिलो शासक र सुपुत्र खोजेको छ, जसले च्यातिएको नेपाली मन सिलाउन सकोस् । सँगसँगै एउटा देशभक्त जङ्गबहादुर पनि खोजेको छ, जसले भ्रष्टाचारीहरु चयनसँग बस्न नसकून ।
राजनीतिमा भावी पुस्ताप्रतिको प्रेम नै राष्ट्रवाद हो । उनीहरुको हक हितको निम्ति लड्नु नै वीरता हो । तर यहाँ कुर्सीका निम्ति हुने गरेका लडाईंलाई विभिन्न विशेषणले पुकार्ने गरिएको छ । त्यसैले अब जनता जुर्मुराउने बेला आइसकेको आकलन गर्न थालिएको छ ।
युवा र विद्यार्थी जुर्मुराउने, किसानहरु आन्दोलित हुनुपर्ने बेला आएको बताइन्छ । तर, त्यो आन्दोलन परिवर्तन, गणतन्त्र, समाजवाद, साम्यवादविरुद्ध नभई राष्ट्रवाद, देशभक्तिका लागि हुनुपर्ने छ । राज्य क्रान्ति तुहाउने, शान्तिमृत बनाउनेहरू विभिन्न नामका ढोलहरू पिट्दै अभियान चलाइरहकाप्रति निर्मम बन्न सक्नुपर्छ । महान वीरता र बलिदानीसँगै सहिदहरूको अपमानमा विद्युतीय अपराध गर्नेविरुद्ध राज्यसत्ता थप कठोर बन्नुपर्छ । अन्यथा, हाम्रो राष्ट्रियतामाथि विदेशीको गिद्दे नजर परिरहने निश्चित छ ।
मुलुकको शान्ति र अमनचयनमा खलल ल्याउने तत्वहरू मजबुत र शक्तिशाली हुने प्रयासमा छन् । तसर्थ अब पनि हामी नजुटे हाम्रो नयाँ पुस्ता भोलिका दिनमा बलिको बोको बन्न विवश हुनेछ । नेपाली जनताको निम्ति अहिले २०५० जेठ ३ गतेको दासढुंगा दुर्घटना र २०५८ जेठ १९ गते रातिको नारायणहिटी हत्याकाण्डको छानबिनका लागि बोल्नुपर्ने बेला हो ।
हत्या गरिएकी निर्मला पन्तको न्याय खोज्ने बेला आएको छ । २०७६ असार ५ गते सर्लाहीमा हत्या गरिएका कुमार पौडेललगायत थुप्रै हत्याकाण्डको फाइल खोल्न माग गर्नुपर्ने भएको छ । थुप्रै अपराध कर्मबाट शिकार भएका मृत्आत्माहरूलाई शान्ति नदिई लोकतन्त्र र गणतन्त्रले दीर्घायु प्राप्त गर्दैन । लोकतन्त्र जनताको तन्त्र हो तर मुलुकमा लोकतन्त्र र गणतन्त्र स्थापित भएको झण्डै दुई दशकमा जनताको हैसियत भने क्रमशः दासमा परिणत भइरहेको छ ।
– सिन्धुपाल्चोक, हाल : काठमाडौँ ।
टिप्पणीहरू