जसपा नेपालले थाल्यो चार महिने अभियान

जसपा नेपालले थाल्यो चार महिने अभियान

अशोक राई समूह पार्टी फुटाएर बाहिरिएसँगै आगामी निर्वाचनसम्म संगठन बिस्तारमा होमिने निर्णय गरेको जसपा, नेपालले ‘जनतासँग जसपा नेपाल’ चार महिने अभियान थालेको छ । नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौँ ब्याङ्क्वेटमा औपचारिक कार्यक्रम आयोजना गरेर अध्यक्ष उपेन्द्र यादवले अभियानको उद्घाटन गरेका छन् । 

बागमती प्रदेशअन्तर्गतका सबै जिल्ला र काठमाडौंमा उपलब्ध केन्द्रीय अभियन्तालाई अभियानको उद्देश्य र लक्ष्यबारे प्रशिक्षण गर्नेगरी अभियानको उद्घाटन गरिएको हो ।

कार्यक्रममा अध्यक्ष यादव, कार्यकारिणी सदस्य रकम चेम्जोङ, मृगेन्द्रकुमार सिंह, गोविन्द चौधरी, राजकिशोर यादव, बागमती प्रदेश समितिका कार्यबाहक अध्यक्ष जिवि लामा, सह–अध्यक्ष सोनी लामा, पूर्वमन्त्री प्रमिला यादव, दिपक कार्की रेखा यादवलगायतको सहभागिता छ । 

जसपा नेपालको चार दिन लामो केन्द्रीय समिति बैठकले संगठन निर्माण एवम् जनअभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअनुसार भदौ १५ र १६ गते क्रमशः जनकपुर र वीरगञ्जमा मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम राखिएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशका लागि भैरहवामा भदौ २३ गते र नेपालगञ्जमा २४ गते अभिमुखीकरण कार्यक्रम हुनेछ । कोशी प्रदेशको विराटनगरमा भदौ १८ गते, गण्डकीको पोखरामा र सुदूरपश्चिमको धनगढीमा भदौ २५ गते तोकिएको छ ।
 

टिप्पणीहरू