नेपाल अनुरोध गरिरहने, भारत सुनिरहने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गुजरातका मुख्यमन्त्री भूपेन्द्र भाई पटेलसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उहाँले गुजरातको अहमदावाद विमानस्थलबाट नेपालको पोखरा विमानस्थलमा सोझो हवाई उडानका लागि आवश्यक पहल गर्न अनुरोध गर्नुभएको बताइएको छ ।
सिधा उडानले गुजरातको सोमनाथ र काठमाडौंको पशुपतिनाथ दर्शन गर्ने तीर्थालुलाई सहयोग पुग्ने उहाँको भनाई छ । यसका लागि मन्त्री पाण्डेले नेपालको तर्फबाट गर्नुपर्ने आवश्यक कार्यको निम्ति आफू तयार रहेको जानकारी गराउनुभएको छ ।
तर, भारतीय पक्षबाट पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा नयाँ हवाई रुट उपलब्ध गराउने सम्बन्धमा खुलेर जवाफ प्राप्त भएको छैन । यसअघि नेपाल सरकारले भारत सरकारलाई सो सम्बन्धमा पटक पटक अनुरोध गरिएपनि भारतले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
यसैबीच मन्त्री पाण्डे भारतको राजधानी नयाँ दिल्लीबाट आज स्वदेश फर्कनुभएको छ । भिस्तारा एयरलाइन्सको उडान नम्बर युके १५५ मा मन्त्री पाण्डे अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो ।
धर्म धम्मा सम्मेलनमा सहभमागी हुन गत बिहीबार भारत जानुभएका मन्त्री पाण्डेले गुजरातका मुख्यमन्त्री भूपेन्द्र भाई पटेलसँग भेट गर्नुभएको हो ।
टिप्पणीहरू