सानो भनिएकोमा माधवको चित्त दुःखाई, दुई वर्षमा ठूलो बनाउने झलनाथको दाबी

सानो भनिएकोमा माधवको चित्त दुःखाई, दुई वर्षमा ठूलो बनाउने झलनाथको दाबी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी सानो हुँदैमा हीनताबोध गर्न नहुने बताउनुभएको छ । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले सानो पार्टी भनेर धेरै गीत गाइरहनु जरुरी नरहेको बताउनुभयो । यो कुरा सुन्दा सुन्दा आफू दिक्क भएको उल्लेख गर्दै अध्यक्ष नेपालले नेताहरुलाई यस्तो हीनताबोधमा नबस्न आग्रहसमेत गर्नुभयो ।

केही वामपन्थी पार्टीको नाम लिँदै उहाँले प्रश्न गर्नुभयो, ‘के सानो पार्टी ? मजदुर किसान पार्टीभन्दा सानो छ ? मोहनविक्रमजीको पार्टीभन्दा सानो छ ? मोहन वैद्यको पार्टीभन्दा सानो छ ? विप्लवजीहरुको पार्टीभन्दा सानो छ ?’ 

अध्यक्ष नेपालले आगामी मंसिरमा हुने भनिएको उपचुनावको तयारीमा लाग्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभएको छ । 

बैठकमा धारणा राख्दै सम्मानित नेता झलनाथ खनालले एकीकृत समाजवादीलाई अबको एक–दुई वर्षमै एमालेभन्दा ठूलो बनाउन सकिने दाबी गर्नुभएको छ । त्यसको योजना सुनाउँदै उहाँले भन्नुभयो, ‘एमालेको अध्ययन गर्दा साढे तीन लाख सदस्य रहेछन् । हाम्रा डेढ लाख होइनन् त कमरेड ? सबैले आफ्नो जिल्लाका पार्टी सदस्यहरुको ग्यारेन्टी लिन सक्नुहुन्छ नि ? सक्नुपर्छ ।’

अहिले भएका पार्टी सदस्यहरुले नयाँ एक जना सदस्य बनाउन सके दुई वर्षभित्र ठूलो पार्टी बन्ने उहाँको भनाई छ । ‘हामीले मेहनतपूर्वक काम गर्यौँ भने ती सदस्यले अर्को एक जना सदस्य बनाउन सक्छन्, हामीले एकदेखि दुई वर्षको बीचमा तीन लाख पार्टी सदस्य बनाउन सक्छौं’, खनालले भन्नुभयो । 

नेपाली काँग्रेस र एमालेलाई खनालले भ्रष्ट पार्टीको संज्ञा दिनुभएको छ । ‘अहिले दुई वटा पार्टीको सरकार बनेको छ । यी दुई घमण्डी पार्टीहरू हुन् । भ्रष्ट पार्टीहरू हुन् र, अवसरवादी हुन् । एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादको प्रतिनिधि नै भइहाल्यो । अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो’, उहाँले भन्नुभयो । 

खनालले काँग्रेस–एमाले गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको गठबन्धन भन्नुभएको छ ।

टिप्पणीहरू