भ्रष्टाचारीलाई चोख्याउन खोजे आँधीबेहरी ल्याउने क्रान्तिकारीको चेतावनी
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले भ्रष्टाचार मुद्दामा हदम्याद मान्य नहुने बताएको छ ।
अखिल (क्रान्तिकारी) ले भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेका निकटस्थहरुलाई कानुनी रुपमा उन्मुक्ति दिलाउने उद्देश्यले भ्रष्टाचारमा हदम्याद लगाउन खोजिएको आरोप लगाएको छ । सरकारको सो कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अध्यक्ष पञ्चा सिंहले नेकपा एमाले र नेपाली काँग्रेसको सत्ता गठबन्धन भ्रष्टाचारीहरुको संरक्षणमा उत्रिएको प्रतित हुन थालेको बताएकी छन् ।
जारी विज्ञप्तिमा उनले बहुमतको आधारमा कानुनमाथि खेलबाड गर्ने कार्यमा रोक लगाउन र सुशासनका निम्ति जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराएकी छन् । ‘भ्रष्टाचार नेपाली समाजमा महारोग बनिरहेको सन्दर्भमा भ्रष्टाचारसम्बन्धी राष्ट्रसंघीय महासन्धि सन् २००३ मा भ्रष्टाचारको मुद्दा चलाउने मामिलामा सकेसम्म हदम्याद राख्न नहुने र राख्नै परे लामो अवधिको राख्नुपर्ने प्रावधानलाई ध्यान दिन, बहुमतको आधारमा कानुनमाथि खेलबाड गर्ने कार्यमा तुरुन्त रोक लगाउन र सुशासनका निम्ति जिम्मेवारी बन्न हामी सरकारसँग जोडदार माग गर्दछौं’,विज्ञप्तिमा उल्लेख छ ।
भ्रष्टाचारीलाई चोख्याउने उद्देश्यले कानुन ल्याउन खोजिएमा कडा प्रतिवादमा उत्रने चेतावनी समेत दिइएको छ ।
टिप्पणीहरू