कलम प्रचण्डलाई, प्रधानमन्त्री माधवलाई
यतिबेला सकसको भारीले थिचिएका एक पात्र हुन्, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । पार्टीभित्रबाट नै निकै दह्रोसँग लखेटिएका उनी बाह्य अन्य पार्टीहरूको पनि साथ नपाउँदा हैरान छन् । समाचार स्रोतका अनुसार आफ्नो पार्टी बैठक चलिरहँदा र त्यहाँ आफूमाथि प्रश्नहरूको ओइरो लागिरहँदा उनी भने बेलाबेला बीचमा निस्कने गर्थे ।
धेरैलाई जिज्ञासा थियो– आखिर प्रचण्ड जान्छन्चाहिँ कहाँ ? पछि कुरा खुल्यो कहिले माधवकुमार नेपाल त कहिले नेत्रविक्रम चन्द विप्लवलाई भेट्न जाँदा रहेछन् । त्यही बेला मात्र उनले माधवकुमार नेपाललाई दुई पटक भेटे । उनी त्यहाँ जानुको कारणचाहिँ हारगुहार माग्नु रहेछ । भेटेरै भन्दा रहेछ– अब पार्टी एकीकरण गरौँ, म तपाईंले भनेअनुसार गर्न तयार छु ।
स्रोतका अनुसार प्रचण्डको प्रस्ताव थियो– ‘अब संसदीय दलको नेता बन्नुस् र यदि प्रधानमन्त्रीको अवसर आयो भने त्यो पनि तपाईं नै लिनुस् । तर, अब यसरी अलगअलग नबसौँ । एउटै पार्टी बनाएर अघि बढौँ । मलाई साह्रै अप्ठ्यारो छ, साथ दिनुपर्यो ।’ उनले माधव नेपाललाई राखेको प्रस्तावमा ‘म तपाईंले नै रोजेको कलम चिन्हलाई पार्टीको आधिकारिक चुनाव चिन्ह बनाउन पनि तयार छु’ भन्ने वाक्यांशसमेत थियो । आफू माओवादी पार्टीको नामसमेत परिवर्तन गर्न तयार बनेको प्रचण्डले बताएका थिए । तर माधव नेपाललाई उनका सहकर्मीहरूले नै प्रचण्डले भनेको बाटोमा हिँड्न अनुमति दिएनन् । एकीकृत समाजवादी पार्टीका अरू नेताहरूको बुझाइ छ– प्रचण्डले छिनछिनमा कुरा फेर्छन् । यिनको विश्वास हुँदैन । अप्ठ्यारो पर्दा जे पनि भन्छन् र सहज हुनासाथ सबैथोक बिर्सन्छन् ।
त्यसो त अहिले प्रचण्डलाई आन्तरिक र बाह्य दुवै तर्फबाट निकै आक्रमण भइरहेको छ । हालै सम्पन्न पार्टी बैठकमा पनि धेरैजसो नेताले प्रचण्डलाई नै दोष लगाउँदै उनैको कारणले अहिलेको हविगत बनेको र प्राप्त सबै अवसर गुमेको, पार्टी निरीह अवस्थामा आइपुगेको भन्दै कडा आलोचना गरेका थिए । यो जे जति बिग्रेको छ, त्यो सबै प्रचण्डले बिगारेको हुनाले यसलाई सपार्ने जिम्मेवारी पनि उनकै भएको भन्दै जनार्दन शर्मा लगायतका नेताहरूले प्रहार गरेका थिए । त्यसो त काँग्रेससँगको गठबन्धन बिगार्नु हुँदैन भन्ने पक्षमा निकै अगाडिदेखि नै जनार्दन र उनको टिमले दबाब दिइरहेको थियो ।
प्रचण्डले आफू जुन स्तरका नेता हुन्, त्यो तहको कुरा नगरेको र फितलो ढङ्गले काम गरेको भन्ने ठम्याइ माओवादी दोस्रो पुस्ताका नेताहरूको रहेको छ । विगतमा एमालेसँग पार्टी एकीकरण गर्दा पनि अब इमान्दारीपूर्वक केपी ओलीले मलाई पार्टी र सरकार बुझाउँछन्, म बलियो प्रधानमन्त्री र पार्टीको नेता बन्छु भन्ने लागेको थियो । त्यसो हुनाले हत्तपत्त कुनै कुरामा विचार विमर्श नगरी र गहिरो मन्थनबिनै एकीकरणको सम्झौतामा हस्ताक्षर गरिदिए । प्रचण्ड कतिसम्म स्वार्थी र अविश्वासी भने अहिले जसरी माधवकुमार नेपालको दैलोमा गुहार माग्न पुगेका छन्, विगतमा तिनै माधवकुमारलाई प्रधानमन्त्री पद दिनुपर्र्ला भनेर एमालेसँग मिल्न पुगेका थिए ।
अहिले माधवले निकटस्थहरूसँग प्रचण्डको पार्टी एकीकरण प्रस्तावबारे कुरा गर्दा त्यही जवाफ सहयोगीहरूले दिएका छन् । उनीहरूले भनेका छन्, ‘यति अनैतिक, अविश्वासी र राजनीतिक इमान्दारी फिटिक्कै नभएको मान्छेलाई विश्वास गरेर हुन्छ? कुन आधार र विश्वासमा यिनीसँग एकीकरण गर्ने, यिनले भनेको कसरी पत्याउने?’ त्यसैले प्रचण्डसँग एकता गर्नु भनेको हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने कामबाहेक अरू केही हुँदैन भन्ने निश्कर्षमा एकीकृत समाजवादीका नेताहरू पुगेको समाचार स्रोतले जनाएको छ । उनीहरूले विगतको एकताकै कारण केपी ओली संसद् विघटनको तहसम्म पुगेको पनि भनिरहेका छन् । सो एकताले नै संविधानसभाबाट जारी भएको संविधान च्यात्ने तहसम्म केपी ओलीलाई पु¥याएको ठम्याइ निकै वस्तुपरक विश्लेषणका रूपमा राख्ने गरिएको छ । त्यसैले गलत आधार र विश्वासमा एकता गर्नु हुँदैन भन्ने मान्यतामा समाजवादीका नेताहरू रहेका देखिन्छन् । यदि अहिले हतारिएर माओवादीसँग एकीकरण गरियो भने भविष्यमा त्यसले निकै ठूलो दुर्घटना निम्त्याउने र पार्टी भड्खालोमा पर्ने सम्भावना बढ्छ भन्ने विश्लेषणसँग एसका धेरैजसो नेता एकमत देखिन्छन् । त्यसैले उसले अहिले आफ्नो सङ्गठन विस्तार गर्ने र जुन अवस्थामा छ, सोभन्दा आफूलाई सुदृढ गर्दै बलियो शक्ति बन्नेतर्फ अगाडि बढ्नुपर्छ भन्ने निश्कर्ष निकालिएको छ ।
माधव नेपाल र विप्लवसँग आफूले पार्टी एकीकरणको प्रस्ताव राखे पनि सोबारे पार्टी बैठकमा चाहिँ प्रचण्डले कुनै ब्रिफिङ गरेनन् । स्रोतका अनुसार माधवझैँ विप्लवले पनि उनलाई निराश बनाएका थिए । विप्लवसमक्ष प्रचण्डले मलाई पार्टीभित्रबाट धेरै अप्ठ्यारो पारे, तपाईं आउनुपर्यो भनेर प्रस्ताव राखेका थिए ।
स्रोतका अनुसार जवाफमा विप्लवले– ‘अब तपाईंले जिम्मेवारी छोड्दिनुस्, पार्टीको नेतृत्व अरू कसैले गर्छ, हामी सबै मिल्छौँ’ भन्ने जवाफ दिएका थिए । विप्लवले प्रष्टसँग ‘अब एकताको विषयमा तपाईंसँग मात्र वार्ता गरेर हुँदैन, अरूसँग पनि कुरा गर्नुपर्छ’ भन्ने कुरा राखे ।
त्यसो त अहिले माओवादी र एसलगायत दलहरू एक भएर पनि सत्ता समीकरणमा कुनै परिवर्तन आउँदैन । त्यसोभए प्रचण्ड किन यो काममा हत्ते हालेर हिँडेका होलान् त ? उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, विगतमा किरणलाई तह लगाउन नारायणकाजीलाई ल्याएका थिए । त्यसैगरी अहिले जनार्दनहरूलाई तह लगाउन माधव–विप्लवहरूलाई भित्र्याउने कसरतमा लागेका हुन् ।
हालै सम्पन्न बैठकमा प्रचण्डले आफ्नो सत्ता ढल्नुको खास कारण भने बताएनन् । उनले अमेरिकी चलखेल, भारतीय दौडधुपलगायतको किस्सा हाले । माओवादी नेताहरू भन्छन्, ‘उनले भारत गएर अब ओलीको साथ तोड्छु र देउवासँग नाता जोड्छु भनेर जुन वचन दिई आएका थिए, सो प्रतिज्ञा र वचन पूरा गर्ने क्रममा भएको गल्ती नै सरकार ढल्नुको एक मात्र कारण हो ।’
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू