केले टिकाउँछ १६ वर्ष एकै ठाउँ ?
जिल्ला वन कार्यालय पाल्पामा २०६५ सालदेखि रेञ्जर रहेका यामलाल पोखरेलले पार्टी र पैसाको आडमा रजगज चलाएका छन् । वन कार्यालय, झडेवा वन नर्सरी, चुनढुंगा खानी, खानी वन वृक्षरोपणमा मनलाग्दी गरेर वर्षौंदेखि यिनीले पाल्पामा ढलिमली गरेका छन् । जिल्ला हाकिम नारायण भट्टराई भने कमजोर, काँतर र डरछेरूवा देखिन्छन्।
कानुनविपरीत वन विज्ञान अध्ययन संस्थान हेटौंडामा नियमित पढ्ने गरेका पोखरेलले डिभिजन वन कार्यालय पाल्पामा हाजिर भई सरकारी कामकाज गर्छन् । घरमा श्रीमती राखेर बुहारी नाता पर्नेलाई गर्भ बोकाएको पाल्पामा जो कोहीलाई थाहा छ । अर्घाखाँचीका मान्छे, रेञ्जर जस्तो सानो तहको जागिरले पाल्पामा त्यो घर कसरी बन्छ ? अख्तियार र शुद्धीकरण विभागले हेरे मात्र पुग्छ ।
पोखरेलकै डरले दिपक पाण्डेजस्तो मिहिनेती कर्मचारी जागिरबाट निकालिए । सूचना पुर्याउँदासम्म दिपक आफन्त बने, नारद काम गर्न छोडेका दिन घर न घाटको बने । उनले गत वर्ष जनतालाई निःशुल्क वितरण गर्न माथागढी गाउँपालिका ४ झडेवामा सरकारी पैसाबाट उत्पादित बिरुवा चुनढुंगा उद्योगलाई बेचेर खल्ती भरे । खाली कागजमा सही गराएर ज्यामी मजदुरको पैसा नतिरेको, दिने हो भन्दै आलटाल गरेर वन नर्सरीमा विरूवा हुर्काउनेहरूलाई पीडित बनाएकोबारे वनरक्षक भन्छन्, ‘दोहोरो तेहेरो रकम कुम्ल्याए, निःशुल्क बिरुवा बेचे, खानीले बिरुवा रोपेको भन्दा धेरै देखाए र नर्सरीका कामदारको ज्याला मारे ।’
अर्घाखाँचीको सामान्य परिवारमा जन्मिएका पोखरेलको रेञ्जर पदमा जागिर खाएर तानसेनमा आलिसान घर, घरभित्रको डेकोरेशन र विलासी सामान हेर्दा थाहा हुन्छ, उनी असामान्य गतिविधि गर्दछन् । सामुदायिक वनभित्रको ढलापढाका नाममा सयौं क्यु फिट काठ अनधिकृत रूपमा निकासी गराउँछन् ।
साउन र भदौ महिना कर्मचारी सरूवा, बढुवाको समय भन्दै बुटवल, दाङ र तानसेन पटकपटक जाउआउ गरेका उनी जिल्लाबासी मुख्यमन्त्री भेट्ने कोशिसमा छन् । रूपन्देहीको एक होटलमा वनमाफियाहरूसँग रात कटाएका पोखरेलले आफू कसैसँग नडराउने, सबैलाई आफू चाहिने र सरूवा नहुने वातावरण बनाउने भन्दै मोलतोल गरेका थिए । निजामती कर्मचारी प्रशासनले दुई दुई वर्षमा कर्मचारी सरूवा गर्दछ, तर यिनी किन अपवादमा पर्दछन् ?
राष्ट्रिय वन क्षेत्रमा खानी उद्योग चलाएका दोभान, रहवास, गोठादी, कचलका खानीवालासँग मासिक उठाउने पोखरेलले सिडिओ, डिएफओ, सांसद, नेतालाई आफैँले मिलाउने गरेको बताउँछन् । उनले थपे, ‘वनमन्त्री र सचिव सजिलै किनिन्छ ।’ वन विभागमा रहेका वरिष्ठ अधिकृत दधिराम कँडेलका विश्वास पात्र उनले पाल्पा बसेका दीपक ज्ञवाली, मोहन पौडेल र नारायण भट्टराई सबैलाई आफैंले चलाउने गरेको सुनाए ।
कार्यालयको फाइल उठाउने, टिप्पणी लेख्ने, सम्झौतालगायतका कागजपत्र बनाएर हाकिमको चाकडी गर्न सिपालु, माओवादी पार्टीको त्रास र पैसाको आडमा पाल्पाको वन सत्ता चलाउने रेञ्जरलाई यस्तो डरछेरूवा डिएफओले के चिन्न सक्लान् ? कसरी छुन सक्लान् ? माओवादी निकट वन सचिव मोहनराज काफ्लेले भ्रष्टाचारीलाई काखी च्याप्लान् ? बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका वनमन्त्री बादशाह कुर्मी माओवादी कार्यकर्ताको सहायक बनेर हिँड्छन् वा आफ्नो बाटो हिँड्छन् थाहा पाउन केही दिन पर्खनुपर्ला ।
टिप्पणीहरू