वकिललाई त्यही दिन मात्रै किन भोक लाग्छ ?

वकिललाई त्यही दिन मात्रै किन भोक लाग्छ ?
सुन्नुहोस्

बार एशोसिएसनमा क्रियाशील वकिलहरूले गर्ने व्यवहारलाई नागरिकले नजिकबाट हेर्ने गरेका छन् । गत शनिबार बारको उच्च अदालत पाटनमा निर्वाचन सम्पन्न भयो । लोकतन्त्रमा हरेक निर्वाचनको आफ्नै अर्थ र महत्व हुन्छ । यसर्थ त्यो नियमित प्रव्रिmया थियो । यद्यपि चुनावको दिन देखिएका कतिपय कार्यशैली, व्यवहार र संस्कृतिचाहिँ प्रश्न गर्न लायक रहे । आमनिर्वाचनमा जसरी पैसाको खोलो बगाएको, रक्सी, मासु खुवाएको र पैसा बाँडेको जस्ता आरोप निरन्तर लाग्ने गरेको छ । त्यस्तै खाले हर्कत देखियो बार चुनावमा पनि ।

तीन सय ६५ दिन आफ्नो घरको खान सक्ने वकिलहरू बिहान एघार बजे मतदान गर्न जाँदा ‘मैले खाएको छैन’, ‘खै मलाई एउटा चिट दिनुप¥यो’ भन्दै होटलमा लाइन लाग्दै थिए । वर्षभरि आफ्नै सवारी साधनमा घरबाट निस्कने वकिलहरू चुनावको दिन ‘सवारी साधनविहीन’ भए । अहिले उपत्यकाका प्रत्येक स्थानमा सार्वजनिक यातायातको सुविधा छ । अर्काेतर्फ ‘पठाओ’ जस्ता भाडाका साधन ‘पाइलापाइला’मा पाइन्छ । कतिपय वकिल ‘सवारी भएन’, ‘भोट हाल्न आउन कठिन भयो’, ‘मलाई लिन पठाउनुपर्‍यो’ भन्दै आ–आफ्ना ‘समूह नाइके’लाई फोन गर्दैथिए । केही युवा भोट हलाउन ‘लिफ्ट’का लागि तयारी हालतमा ‘स्टान्डबाइ’ बसेका थिए ।

बिहान घरबाटै खाएर मतदान गर्न गएका वकिलहरू अरु वकिलले होटेलमा कुपनबाट मासुभात खाएको थाहा पाएपछि ‘अचानक भोका’ भएका थिए । ‘मलाई पनि एउटा चिट दिनुपर्‍यो’ भन्दै लाइनमा देखिन्थे । एकजना वकिल विगतको अनुभव सुनाउँदै थिए, ‘संघीय संसदको निर्वाचनताका काठमाडौँको बालाजुमा कांग्रेस–माओवादी समूहले यमी भट्टराईलाई जिताउन एघार सय जनालाई खानाको ‘चिट’ बाँडेको थियो । तर भोटचाहिँ चार सय पनि कटेन ।’ 

बालाजुमा कांग्रेस–माओवादी समूहले यमी भट्टराईलाई जिताउन एघार सय जनालाई खानाको ‘चिट’ बाँडेको थियो । तर भोटचाहिँ चार सय पनि कटेन ।

‘यस्तै होला मासु भात धेरै खुवाउनेको हालत !’ अर्का वकिल भन्दैथिए, ‘मैले त आजसम्म ‘कसैको चिट’बाट ‘एक कप चिया’ पनि खाएको छैन । अर्काले भने, ‘तपाईंले नखाएर के गर्नु, खानेहरूको यहाँ कमी छैन ।’ ‘चिट खोज्ने केही वकिल’ दिनको बाह्र बजेसम्म पनि ‘भोका’ देखिन्थे । ‘भोग लागेको र घरबाट खाना नखाई आएको’ भन्नेको कमी थिएन । एकजना पाका वकिल भन्दैथिए– ‘खान पाउने ठाउँमा कसैले छोडेनन् ।’ ‘दिमाग र विचार बेच्ने भएकोले होला कालोकोटेलाई बढी भोक लाग्ने रहेछ ।’

भोटरमध्येका कतिपय वकिललाई कुन वकिल कस्तो हो ? कसको योग्यता, क्षमता र अनुभव के हो भन्ने जस्ता कुरामा कुनै चासो थिएन । सबैतिर कुन समूहमा हाल्ने वा नहाल्ने मात्र चर्चा थियो । महेन्द्र राई वकिल भन्दै थिए– ‘समूह हेरेर होइन व्यक्तिको क्षमता, अनुभव र योग्यता हेरेर भोट हाल्नुपर्छ ।’ राईको तर्कमा ‘दम’ भए पनि कसैले वास्ता गरेन । अधिकाँशलाई थाहा थियो–‘पार्टी समूहले नै जित्नेछन् ।’ वास्तवमा व्यक्तिको क्षमता, योग्यता र अनुभवजस्ता पक्ष महत्वपूर्ण हुने भए पनि लोकतन्त्र र लोकतान्त्रिक दलीय राजनीतिक प्रणालीमा व्यक्तिको सबै पक्ष हेर्ने र जाँच्ने काम भनेको पार्टी, संगठन र समूह नै हो ।

प्रत्येक मतदाताले व्यक्तिको मसिनोसँग अध्ययन गर्न नसक्ने भएकाले नै दलीय र समूहको मान्यता आएको हो । व्यक्ति त्यही पार्टी र समूहले छान्नुपर्छ । आम वा सामान्य मतदाताले आफूलाई लागेको दल वा समूह छान्ने नै हो । लोकतन्त्रमा यस्तो प्रव्रिmया र विधिलाई विश्वमै मान्यता दिइएको छ । तथापि मतदाताले आफूले जाने, बुझे र भ्याएसम्म व्यक्ति पनि छान्ने गर्दछन् । त्यो प्रत्येक मतदाताको अधिकारको विषय पनि हो । दलीय लोकतान्त्रिक प्रणाली भएकोले सो अनुकूलका अभ्यास संघ–संगठनमा पनि हुनुलाई अन्यथा मान्न सकिन्न । यद्यपि कस्तो खालको चुनावी संस्कार, कार्यशैली र अभ्यास गर्दैछौँ भन्नेचाहिँ प्रश्न गर्नुपर्ने विषय हो । वकिलका चुनावमा पनि खानाको ‘चिट’को ओइरो लगाउनु पर्ने र मतदातालाई घरसम्म ‘लिफ्ट’ दिनुपर्ने अवस्था हुनुचाहिँ लाजमर्दाे कुरा हो । यसमा सुधार नगरी मुुलुुकको समग्र निर्वाचन प्रणालीमा सुधार र परिवर्तनको कसरी वकालत गर्न सकिन्छ ?

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू