जर्नेलहरू, जो बेलैमा जोगी बन्न गए

जर्नेलहरू, जो बेलैमा जोगी बन्न गए
सुन्नुहोस्

सोनालाई निश्चित भूमि, सामग्री वा व्यक्तिको रक्षाका लागि मर्न वा मार्न तयार हतियारधारी संगठनको रुपमा लिइन्छ । त्यही संस्थामा चौबिसै घण्टा घातक हतियार लिई छातीमा दाग्न मात्र तयार पनि आध्यात्मिक ? आश्चर्य लाग्न सक्छ । हाकिमहरू मार्गतिर लागेको खबर सुन्दा त्यहाँभित्र सबैमा भगवानको अंश छ, त्यसैले कसैलाई पनि मार्न, सजायँ दिन हुन्न भन्ने हाकिम पनि रहेछन् । तर, मन, वचन, कर्मले नै सात्विक स्वभावका जोगी कर्णेल भनेर चिनिने प्रमुख सेनानी अमिर बस्नेत अन्ततः बर्खास्तगीमा परे । निकै भलाद्मी र कमलो मनका धनी यिनी बुटवलमा गणपति हुँदा तत्कालीन पश्चिम पृतनापति प्रकाश बस्नेत (लोकगायक कुमार बस्नेतको भाइ)को आदेश नमानी भारत फरार पनि भए । प्रकाशले उनलाई पक्राउ गरी हिरासतमा राखिएका माओवादीलाई किन ज्वाइँझैँ पालेको ? कि सबैलाई सिध्याइदेऊ नत्र तिमीलाई कारवाही गर्छु भन्न थालेपछि यिनी सैनिक नियमबमोजिम कमाण्डरको आदेश पालना गर्नुको सट्टा गेरु बस्त्र लाएर गरी कृष्णनगर हुँदै भारततर्फ पलायन भएका थिए । पछि रक्सौल हुँदै नेपाल छिरेका उनी सैनिक कारवाहीमा परी सेवाबाट बर्खास्त गरिए । 

सहायक रथी ध्रुव साह यति धार्मिक स्वभावका थिए कि झापाको गुल्मपति भएकै बेला माओवादीलाई शारीरिक कष्ट दिनुहुन्न भनी मातहतलाई हरदम सम्झाईबुझाई गरिरहन्थे । हरहमेसा पूजापाठ, भजनकीर्तन, प्रवचनमा रमाइरहने उनी अचानक वैराग्यको बशमा परी धेरै कार्यकाल बाँकी हुँदै जागिरबाट राजीनामा दिई घर बस्न थाले । 

जता लागे पनि भित्तै पु¥याएर लाग्ने स्वभाव अर्का एकतारे जर्नेलका भरत पाठकको अधिकांश समय अचेल गेरु वस्त्र लगाएर पूजापाठ, कोटिहोम, कुम्भ मेला र धार्मिक महाराज, जोगी, साधुहरूको सत्संगमै बित्ने गरेको छ । तर, यिनी सेवामा रहँदा अनेकौँ रमितासँग परिचित थिए । अमलेखगञ्ज व्यारेकमा लेफ्टिनेण्ट हुँदा फलोअरकी श्रीमतीलाई कोठामै गई हात हालिरहेकै बेला समातिएका थिए । पछि कार्की थरका जर्नेललाई रिझाएर उन्मुक्ति पाए । प्रमुख सेनानी राजु पुडासैनी  जागिरमा प्रवेश गर्नु अघिदेखि नै धार्मिक स्वभावका थिए । सोझो र भलाद्मी भनी चिनिने यिनी ब्रह्मकुमारी धार्मिक अभियानमा संलग्न अधिकृत हुन् । शाकाहारी राजु पाको होउञ्जेल अविवाहित रहे पनि पछिल्लो समय गृहस्थीमा आनन्दित हुँदै प्रकृतिप्रेमी समूह, योग, ध्यान तथा प्रवचनमा सक्रिय छन् । महासेनानी दिपक अधिकारी त झन् योग, ध्यान र प्रवचनबाट बचेको समय पेट्रोल पम्पको हाकिम भएर अर्थोपार्जनमै बिताइरहेका भेटिन्छन् ।

पूर्व सेनानी मदन केसी अवकाशपश्चात पनि जुवातास र रोमाञ्चक रंगीन जीवन जीउनमा कहलिएका थिए । तर पछिल्लो चरणमा रामदेव बाबाको पतञ्जलीसँग जोडिएर योगसाधना र अध्यात्ममा सक्रिय भए । अर्का प्राविधिक सहायक रथी पूर्णप्रसाद ढकाल विपश्यना ध्यानलाई जागृत गरी विश्वभर फैलाउने गुरु गोयन्काको अनुयायी बनेका छन् । प्राविधिक महासेनानीबाट अवकाश प्राप्त खगराज शर्मा पनि विपश्यना ध्यानमा सक्रिय छन् ।

२००७ सालमा प्रजातन्त्र बहाली भई राणाशासनको अन्त्य भए पनि राणहरूको हैकम र प्रभाव कायमै थियो । अधिकांश सैनिक अधिकृत धार्मिक स्वभावका थिए । आधुनिक नेपाली सेनाको सबै ब्यारेकमा मन्दिर स्थापना गरिएका छन् । मन्दिर र सम्बन्धित पल्टनको निशान चिह्नमा दैनिक पूजापाठ गर्न सेनामा छुट्टै पुजारीको दरबन्दी राखिएको छ । व्यक्तिगत आस्था न हो, यसका बाबजुद कतिपय अधिकृत सेवारत भएकै बेला र कतिपय अवकाशपछि पनि धर्मकर्म र योग साधनामा समय लगाइरहेका छन् ।

– महेशप्रसाद पाण्डे

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू