विद्याको निवासमा दिनदिनै बथान

विद्याको निवासमा दिनदिनै बथान
सुन्नुहोस्

चुनाव जितेर पहिलो पटक संसद छिरेका एमाले युवा नेता ठाकुर गैरेले बल्लतल्ल एउटा संसदीय समितिको सभापति बन्ने मौका पाएका छन् । यसलाई काकताली किन भनिएको हो भने खासमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले त्यो समितिमा झापाकै सांसद एलपी साँवालाई जिम्मेवारी दिने सोच बनाएका थिए । दुई–दुई पटक जितेको व्यक्तिलाई बेवास्ता गरिएको भन्ने आरोप लाग्न थालेपछि एलपीलाई थन्क्याउन खोजेका ओलीको प्रस्ताव साँवाले ‘मलाई त्यसमा इन्ट्रेस्ट छैन’ भन्दै अस्वीकार गरेपछि कसलाई बनाउने भन्ने निश्कर्षमा पुग्नुअघि नै प्रमुख सचेतक महेश बर्तौलाले कुरा राखे– ‘योगेश दाइको पनि ठाकुर दाइलाई बनाउन पाए हुन्थ्यो भन्ने छ, त्यसै गरे कसो होला अध्यक्षज्यू ?’ उनको प्रस्तावमा ओलीले सहजै समर्थन जनाउँदा गैरेले त्यो मौका र अवसर प्राप्त गरेका हुन् ।

केपी ओलीले यसरी झापामा आफूलाई मन नपर्नेमध्येका एक साँवालाई सभापतिको प्रस्ताव गरेर रीत मात्रै पुर्‍याएको बताइन्छ । प्रदेश अधिवेशनको बेला साँवाले विनोद ढकाललाई समर्थन गरेको ओलीको बुझाइ छ । सोच्दै नसोचेको यातायात र भौतिक योजना मन्त्रालयको जिम्मेवारी दिएर देवेन्द्र दाहाललाई भने उनले पुरस्कृत नै गरेका छन् । आफ्नै गृहजिल्लामा सहकर्मी र सहयोगीहरूमध्ये कसैलाई काखा, कसैलाई पाखा गरिरहेका उनले अर्कातिर १० भाइप्रति पूर्वाग्रह पनि आलै राखेको देखिएको छ । लगभग सञ्चार मन्त्रालयको जिम्मेवारीसहित आफ्नो व्यक्तिगत डायरीमा नामसमेत टिपिसकेका उनले योगेश भट्टराईलाई अन्तिममा नाम हटाएर ‘अब देउवाको पालामा बन्नुस् है’ भनेका थिए । ओलीले छविलाल विश्वकर्मालाई मन्त्री बनाउनुपथ्र्यो र बनाउँछन् भन्ने धेरैलाई लागेको थियो । जसले जतिसुकै प्रस्ताव गरे पनि कृष्णगोपाल श्रेष्ठलाई आफ्नो क्याबिनेटमा छिर्न नदिएको देख्ने पनि थुप्रै छन् ।

ओलीले निकटस्थहरूको समेत चित्त दुखाइ हुनेगरी गरेका कतिपय व्यवहारका कारण पूर्वराष्ट्रपति विद्या भण्डारीको निवासमा भने निकै भीडभाड र छलफल बढाएको छ । स्रोतका अनुसार केपी ओली प्रधानमन्त्री बनेपछि उनलाई भेट्न जिल्लाबाट आएका हरेक जसो टोलीले विद्या भण्डारीलाई समेत भेटेरै फर्कने गरेका छन् । विद्या भने दबाब बढाउँदै लगेर ओलीकै प्रस्तावमा पार्टी अध्यक्ष बन्ने योजनामा छिन् । निकट स्रोत भन्छ– दबाब दिएर सम्भव भयो भने त ठीकै छ तर प्रतिस्पर्धा गर्ने कुरामा चाहिँ अझै द्विविधामै छिन् । उनले त्यसका लागि सहज परिस्थिति कायम गर्न पूर्वराष्ट्रपतिको हैसियतमा सुरक्षाबाहेक अन्य राजकीय सुविधा नलिने निर्णय गरेको बताइन्छ । स्रोत भन्छ, ‘बाहिर केपी ओली र विद्या भण्डारीबीच हार्दिक सम्बन्ध छ भन्ने बुझाइ रहे पनि वास्तवमा अहिले त्यति ठूलो निकटता र हार्दिकताको अवस्था भने छैन ।’ 

एमाले वृत्तभित्र उत्तरी शक्ति विद्या भण्डारीलाई एमालेको अध्यक्ष बनाउने कुरामा निकै जोडतोडले चाख दिएर लागिपरेको छ भन्ने बुझाइ छ ।

यो सरकारको भविष्य कस्तो हुन्छ र कति दिन टिक्छ ? कांग्रेसले के सोचिरहेको छ ? भन्नेबारे एमाले नेताहरूको बुझाइ अरूको भन्दा केही फरक रहेको देखिन्छ । उनीहरू भन्छन्– कांग्रेसले गठबन्धन टिकाउनै खोजेको छ । गगन थापा, विश्वप्रकाश शर्माहरूले सार्वजनिक खपतको लागि मात्रै बोलिरहेका छन् । उनीहरूको स्वभाव र प्रवृत्ति पनि त्यही हो । र, त्यसैगरी नै आफ्नो राजनीति टिकाइरहेका छन् । एमालेको दोस्रा तहका नेताहरू कांग्रेस संस्थापन इतर नेता शेखर कोइरालाको बोलीको कुनै ठेगान नरहेकोमा प्रष्ट छन् । भन्छन्– अस्ति भर्खरसम्म एमालेसँग मिल्नुपर्छ भन्थे । फेरि हिजो अस्ति क्रिटिकल एप्रोच देखाए । मान्छे हेर्दा मात्रै भलादमी हुन्, बोलीमा दमचाहिँ छैन । त्यसैले एमाले नेताहरूको निश्कर्ष छ– जबसम्म देउवा बिच्किँदैनन्, यो सरकारलाई कुनै अप्ठ्यारो पर्दैन । केही पनि हुँदैन ।

त्यसो त, एमाले सचिवालयको हालै बसेको बैठकमा केपी ओलीले पनि प्रष्टसँग भनेका थिए– ‘मैले कांग्रेसको टिमबाट निकै नै कम्फर्टेबल फिल गरिरहेको छु । त्यस्तो सकस र अप्ठ्यारो केही छैन । उहाँहरूले राम्रो काम गरिरहनुभएको छ । मैले भनेका कुरालाई निकै सिरियस्ली लिने गर्नुभएको छ ।’ ओलीले सो बैठकमा कांग्रेसका अन्य सबै नेताले सहयोग गरिरहेको र मन्त्रीहरूले आफूले भनेकै कुरा प्रस्तावका रूपमा ल्याउने गरेको बताएका थिए । परराष्ट्रसचिव सेवा लम्साललाई बेल्जियममा राजदूत बनाएर पठाउने अनि सो ठाउँमा अमृत राईलाई ल्याउने उनको प्रस्तावलाई आरजुले स्वीकार गरेको बताइन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू