धर्मगुरु नै व्यभिचारी बन्नुको के होला कारण ?
२२ वर्षदेखि चक र डस्टरसँग मितेर साइनो लगाउँदै आएका खगेन्द्रनारायण श्रेष्ठ अहिले त्रिचन्द्र कलेजका उपप्र्रध्यापक हुन् । मानवशास्त्र विषयमा पढाउने उनले यसअघि सोही कलेजको एमए प्रोग्राम को–अर्डिनेटर थिए । सोलुखुम्बुमा जन्मिएका उनले पितापुर्खालेझैं पर्यटकको गाइड हुने वा लाहुरे बन्ने सपना रोजेनन् बरु पर्यटन र मानवशास्त्रको सम्बन्ध खोज्नतिर लागे । ०७४ सालमै ‘एन्थ्रोपोलोजी अफ टुरिज्म’ विषयमा विद्यावारिधि सकाए । सोही विषयमा उनले लेखेका पुस्तकहरू ब्याचलर तहमा अहिले पढाइ भइरहेको छ ।
– हरि गजुरेल
० पछिल्लो समय पशुपति कोटिहोमका नाममा धर्म भन्दै जुन खालको व्यापार देखियो । मानवशास्त्रीका नाताले यसलाई कसरी हेर्नुहुन्छ ?
– मानव समाजलाई नियन्त्रणमा राख्नका लागि धर्मको उत्पत्ति भएको हो । ठुल्ठूला प्राकृतिक विपत्ति हुँदा आदिम मान्छेहरूलाई ‘हामीभन्दा माथि हामीलाई शासन गर्ने कुनै अदृश्य शक्ति छ’ भन्ने विश्वास लाग्यो । पछि धर्म जीवन पद्धतिको रूपमा विकास हुँदै गयो । बिहान उठ्दादेखि सुत्दासम्म धर्मको निर्देशनअनुसार काम लाग्यो । धर्म नभएको वा नजोडिएको कुनै क्षेत्र छैन ।
यो पुँजीवादी समाज हो । पुँजीवादमा ‘जे बिक्छ, त्यही बेच्ने’ हो । सामाजिक संरचना हेरौं त पुँजीवादले नखाएको कुनै क्षेत्र छैन । न त पुँजीवादबाट अलग हुनसक्ने परिस्थिति नै छ । ग्लोबलाइजेसनमा पुँजीवाद सबैभन्दा अगाडि छ । सोही कारण पशुपतिको कोटिहोममा पनि धर्मको व्यापार गरियो । जबकि धर्म मान्छेको आस्था र विश्वास हो तर त्यसलाई एउटा वस्तुको रूपमा व्यापार गरियो । हामीले कथावाचक, वाचिकाका प्रवचन/कुराकानी सुन्यौं । उहाँहरु आफ्नो क्षेत्रमा विज्ञ हुनुहोला तर एउटा वस्तुकै रूपमा आउनुभयो । देवी प्रतिभा, चन्द्रकलाहरूले कथा वाचन गरेर जति लाख/करोड लगेको भए पनि प्रवचन दिन आउनेहरूलाई पुँजीवादले अँगालिरहेको देखियो । आयोजक त पुँजीवादी चक्रभित्रै हुने भइहाले । अनि जसले दान दिए उनीहरूलाई पनि इमोशनल्ली ट्रिट गरिएको छ । दान दिएपछि पुण्य पाइन्छ, तिम्रो मनोकांक्षा पूरा हुन्छ भनिएको छ । लोक होइन परलोक देखाएर लुट्ने काम भइरहेको छ । दान दिने पनि पुँजीवादी समाजकै सदस्य हुन् । दान लिनेले धर्मलाई वाइवाइ चाउचाउ, कोकाकोलाझैं प्याक गरेर बेचिदिनुभयो ।
० शीतलकृष्ण महाराज, कृष्णमहाराज, सिद्धबाबा, बागेश्वर धाम, पुरन भट्टराई, लिटिल बुद्ध, आशाराम बापु यी कहीँ मुक्त भनिएका पुरुषहरू नै कहीं न कहीं अपराधमा मुछिएका छन् । यिनकै पछाडि फेरि मान्छेको भीड देखिन्छ । यसलाई कसरी हेर्ने ?
– धर्म आस्था र विश्वास हो । एउटा अदृश्य शक्तिलाई मान्छेले गाह्रो साह्रो पर्दा पुकार्ने प्रचलन छ । त्यही जनअस्थामा साधु, महन्तहरूले खेलवाड गर्नुभयो र उपभोगवादी भएर निस्कनुभयो । हिन्दूइज्म, बुद्धिज्ममा मोक्षप्राप्ती, शान्तिप्राप्तिको कुरा छ । यस्ता लोभ र स्वार्थको दायराभन्दा धेरै माथि उठेपछि मात्र मोक्ष प्राप्ति हुन्छ भन्ने कुरा हामीलाई भन्दा साधु, सन्त, महन्तहरूलाई थाहा हुनुपर्ने हो । अहिले त जे पनि उपभोग गर्ने र त्यहाँबाट आउने सन्तुष्टिमा रमाउने प्रवृत्ति बढेको छ । हिन्दू मात्र होइन बुद्धिज्ममा पनि औतारी लामाहरू पुनर्विवाह गरेर गृहस्थमा फर्किएका, व्यभिचारीको अनेकन पासोमा फसेको भेटिन्छ । यस्तो बदमासी मुसलमान, ख्रिष्टियनभित्र पनि होलान् । जसरी समग्र समाज अर्थको पछि लागेको छ । मुक्ति खोज्दै हिँडेका गुरुहरू पनि धनकै पछि लागेका छन् । धर्मगुरुहरू किन व्यभिचारी हुनुभयो ? भनेर टाउको दुखाउनै परेन । उनीहरु यही समाजको बाइ प्रोडक्ट हुन् । तपाईं–हामीजस्तै खाएर खेलेर हुर्किएको मान्छे कालान्तरमा धर्मगुरु भए । हामीले अरु नै व्यापार व्यवसाय रोज्यौं ।
० पशुपतिनाथ मन्दिर परिसरमा १ महिने कोटिहोम महायज्ञका संकल्पकर्ता विजय भण्डारी उर्फ श्री विजय कृष्णमूर्तिजी महाराजका दर्जनौं फण्डा छन् । पटक–पटक प्रहरी हिरासतमा पुगेका छन् । यस्तालाई राज्यले पक्राउ गर्न वा नियन्त्रणमा लिन किन सक्दैन ?
– धर्म र धार्मिक आस्थामा छुँदा भयावह परिणाम निस्कनसक्छ भन्ने पाटोलाई राज्यले बुझेको हुनसक्छ । भारतकै राममन्दिर र बाबरी मस्जिदको लफडा, नेपालमै हिन्दू र मुसलमानबीचको लफडा, उपल्ला जात र दलित जातबीच छुवाछुतको विभेदमात्र होइन कि पहाडे र मधेसीबीचको इस्युमा कत्तिको ज्यान गएको छ । यी र यस्ता संवेदनशील विषयमा राज्यले तत्काल रियाक्ट गरिहाल्न सक्दैन । राज्य सचेतचाहिँ हुनुपर्छ । विजय कृष्णमूर्तिका बदमासीहरू कोेटीहोम अगाडि नै सार्वजनिक भइदिएको थियो भने यो तहमा नजान पनि सक्थ्यो । तर सम्पन्न भइसकेपछि मात्र सार्वजनिक हुँदा राज्य फेरि त्यहाँ पसेर किन लफडामा पर्ने ? भन्ने परेको हुनसक्छ । हिन्दूवादीहरूले जुलुस निकालिहाल्छन् । हिन्दूत्वलाई समर्थन गर्ने राजनीतिक दलले राम्रो प्लेटफर्म पाउन सक्छ । सडकदेखि सदनभित्र विरोधको स्वर आउने सम्भावना । त्यही देखेर राज्य उपयुक्त मौकाको खोजीमा रहनसक्छ । नियम, कानुन सार्वजनिक जग्गामा सबैका लागि बराबरी हो । उनी आपराधिक पृष्ठभूमिको मान्छे हो भने राज्यले नियन्त्रण गर्नुपर्छ ।
० पछिल्लो समय एक्कासि राधिका दासी, देवी प्रतिभा, चन्द्रकलालगायत माताको संख्या बढ्दै गएको देखिन्छ नि !
– एक जना माताले भन्नुभयो कि ‘मेरो डिभोर्सपछि जीवन नै फ्रस्टेटेड स्थितिमा थियो । के गर्ने कसो गर्ने भन्ने अन्योलताका बीच बृन्दावनमा पुगेपछि मोटिभेटेड भएर माता बनें । अर्काेले हजुरबुवा पुस्ताबाटै यो काम गर्दै आएको बताएकी छिन् । लैङ्गिक कोणबाट हेर्ने हो भने महिला सशक्तिकरणको एउटा पाटो हो यो । हिजो कतिपय ठाउँमा महिलालाई निषेधित गरिएको थियो । पुराण वाचन गर्नु, गीता भन्नु, धार्मिक गतिविधिमा संलग्न हुनु भनेको महिला सशक्तिकरणको नमूना हो । यसपटक कोटिहोमको सकारात्मक पक्ष भने दलितलाई समेत व्यासासनमा राखेर कथा वाचनका लागि अवसर दिनु हो ।
० समाज कुन दिशातिर उन्मुख भइरहेको पाउनुहुन्छ ?
– नेपालमा धेरै अगाडिसम्म राखी बाँध्ने प्रचलन थिएन । भारतबाट भित्रियो । यस्तै रक्षाबन्धनलाई क्षेत्री, बाहुनहरूले जनै फेर्ने र नेवारहरूले क्वाँटी खाने पर्वका रूपमा लिइन्थ्यो तर अहिले रक्षाबन्धनका नाममा इण्डियन कल्चर विकसित भइरहेको छ । छठ पर्व हिजो सीमित समूहले मनाउँथ्यो तर आज सारा काठमाडौंवासीले यो पर्व हर्षाेल्लासका साथ मनाइरहेका छौं । तीजमा क्षेत्री बाहुनमात्र होइन अरु महिला पनि ब्रत बस्न थालेका छन् । अब हामी सीमित घेराभित्र चाहेर पनि बाँच्न सक्ने स्थिति छैन । विश्वको अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको पहिचान हो । जति पहिचानको कुरा गरे पनि नेवारको छोराले नेवारी, शेर्पाको छोराले शेर्पा भाषा नबोल्ने, पोशाकहरू चाडपर्वमा मात्र सीमित हुँदै जाँदा पहिचान गुम्दै गएको स्थिति छ ।
० कुनै समय रवि लामिछाने, नाकाबन्दीताका सबैभन्दा राष्ट्रवादी नेताको रूपमा केपी ओली, धुुर्मुस सुन्तली, कुलमान घिसिङलगायतलाई नेताको रूपबाट एकै पटक देवत्वकरण गर्यौँ। यही समाजले केही कर्मचारीलाई राक्षसीकरण गर्दैछ । नेपाली समाज किन मान्छेलाई मान्छे रहन दिँदैन, किन भगवान् वा राक्षस बनाउँछ ?
– नेपालीको बानी कुनै पनि कुरालाई सहजै लिने, विश्वास गर्ने, फेरि अरु कसैले होइन भन्यो भने भीडकै पछि लाग्ने छ । आन्दोलनहरू इस्युमा आधारित हुनुपर्ने हो तर नेपालको आन्दोलन भीडले के भनिरहेको छ त्यसकै पछि लागिरहेको छ । मानवीकरण वा दानवीयकरणमा सामाजिक सञ्जालले सघाउ पुर्याउँदै छ । कन्टेन्ट होइन कन्टेस्ट ठूलो कुरा हो । जस्तो ऋतिक रोशन काण्ड हेरौं न !
० नेपाली समाजमा बढिरहेको भनिएको बेचैनी, कोलाहल र आक्रोशको कनेक्सन राजनीतिक बेथितिसँग कत्तिको देखिन्छ ?
– जहाँ पनि राजनीति हावी हुन्छ । शक्ति, सत्ताको प्रयोग हुन्छ । सेवा, सुविधा दिने राजनीतिक र प्रशासनिक पाटो हो तर त्यो पाटो सुधार भएन । सत्ताका लागि जसले जे पनि गर्दिने, आज एकातिर छ भोलि अर्काेसँग मिलिदिने । लाज–घीन सबै त्याग्ने । शिक्षा, स्वास्थ्य सहजै पाइँदैन । हैसियत नभएका पात्रहरू मन्त्री भइरहेका छन् । सन्तानको भविष्य अभिभावकले देखिरहेका छैनन् । धन सम्पत्ति जसरी कमाए पनि उसलाई पुज्नुपर्छ, मान्नुपर्छ भन्ने मानसिकताका कारण भ्रष्टाचार बढ्दै गयो । नेपाली जनता फ्रष्टेटेड मात्र होइन, डिप्रेशनमा पर्दै गए ।
० नेपालको पछिल्लो राजनीतिक संस्कृति र अभ्यास कस्तो देखिन्छ ?
– राजनीतिक रूपमा नेपाल मात्र होइन, अन्य मुलुकमा पनि अस्थिरता छ । श्रीलका देख्यौं, अहिले बंगलादेश हेरिरहेका छौं । अघिल्लो दशकमा भारतमै घरी घरी सरकार परिवर्तन भएको देखिएकै हो । प्रजातान्त्रिक मुलुकमा राजनीतिक अस्थिरता अलि बढी नै हुन्छ । समाज ओपन भयो । शासकहरूले विचार लाद्ने अवस्था रहेन । नेपालको सन्दर्भमा गठबन्धन नराम्रो कुरा होइन तर यो विचार, वर्गीय चरित्र, क्षेत्रीयताका आधारमा हुनुपर्ने हो । यहाँ त विश्वमै नभएको अभ्यास लेफ्ट र राइटको गठबन्धन छ । फरक विचारका दुई पार्टीको गठबन्धन हुन्छ भने त्यो स्वार्थका लागि मात्र हो । सरकार परिवर्तन भनिए पनि यसको रुटमा परिवर्तन भएको छैन । एमालेको आफ्नै नीति सिद्धान्त छ, काँग्रेसको उस्तै छ ।
० राजनीतिमा एकप्रकारले ढाँट्ने, छल्ने, धोका दिने, अकुत कमाउने प्रतिस्पर्धा देखिन्छ । हाम्रो समाज र संस्कृतिले यस्ता नेतृत्व कसरी जन्माउँछ ?
– समाजले राम्रो बनाएर पठाए पनि कुर्सी वा सत्तामा पुगेपछि किन मान्छे त्यस्तो बन्छ ? हाम्रो समाजले के सिकाएको छ भने जसरी पनि माथि पुग्नुपर्छ । कमाउनुपर्छ, सात पुस्तालाई पुग्ने गरी थुपार्नुपर्छ । राणकालीन चाकडी चाप्लुसीको निरन्तरता हो अहिलेको राज्यशक्ति । हालैमात्र २२ सचिवको सरुवा भयो । यसरी सरुवा हुँदा विज्ञता एकातिर, मन्त्रालय अर्काेतिर पारिएको छ । कारण उसले नेता वा नेतृत्वको चाकडी चाप्लुसी गर्यो र हस्बहादुर बन्न मानेन । अर्काेतिर हामी नेपालीको सोच र चिन्तन हेरौं न कोही मन्त्री हुँदैमा उसलाई बधाइ दिन कम्तीमा ३ घण्टा लाइन लागेर किन जानुपरेको ? हाम्रो समाजको विशेषता नै त्यस प्रकारको भएपछि उसको बानी मालिकको जस्तो हुने नै भयो । कुनै पनि मन्त्रीले सचिवालयमा घरपरिवारकै मान्छे किन राख्छन् ? परको मान्छे राखेको खण्डमा करोड कुम्लाएको कुरा भोलि बाहिर ल्याइदिने भयो । यो संरचना रहेसम्म नेपाल कहिले पनि परिवर्तन हुँदैन ।
० नेपालका बौद्धिक वर्गको प्रश्न किन रित्तिए, आलोचनात्मक चेत किन सकियो ?
– बौद्धिकता के हो ? कसलाई र कति ज्ञानी भएपछि बौद्धिक भन्ने ? केही अगाडि नागरिक समाजको नाटक देखिएकै हो । जुन देशमा नागरिक समाज पार्टीमा विभाजित हुन्छ । पार्टीको इस्यु बोकेर हिँड्छ । पार्टीप्रति भक्तिभाव राख्छ । एउटा पार्टीको सरकार सडकमा निस्कन्छ, पानीको फोहोरा खान्छ, अर्काे पार्टीको सरकार हुँदा चुपचाप बस्छ भने त्यो नागरिक समाज, बौद्धिक हो कि, हैन ? खासमा त ऊसँग बौद्धिकता रहेनछ, मान्छेले भनिदिएको मात्र रहेछ । कहिलेकाहीँ डाक्टर खतरा छ भन्छौँ, चिरेर ऊ पनि सिकारु हुन्छ र उपचार गर्न गएको बिरामीलाई मार्दिन्छ । अहिलेको बौद्धिक सर्कलमा नेताको घर धाउने, राजनीतिक रूपमा एक्सपोज हुने, पाइन भनेर असन्तुष्टि जाहेर गर्नेहरू धेरै छन् । अहिले नेपालीले क्रिटिकल्ली लेख्न छाड्यो, बोल्न छोड्यो । त्यही भएपछि सिंगो समाजले के सिक्छ ? हिजो हामीले अग्रज मानेका गुरुहरू पनि नेताकै दैलोमा भेटिन्छन् । विद्यार्थी पनि त्यहीँ भेटिन्छन् । बौद्धिक वर्ग जहिले पनि राज्यसत्ताको विपक्षमा हुन्छ । देखेका कमीकमजोरीलाई बोले, लेखेपछि राज्य चलाउनेहरू सचेत हुनुपर्ने हो तर बौद्धिक वर्गलाई मन्त्री र नेताहरूले पाठ सिकाएको सिकाएकै छन् । यो त उल्टो हुनुपर्ने होइन र ?
टिप्पणीहरू