प्रधानमन्त्रीको दौडमा नरहेको आरजूको प्रश्टोक्ति
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आफू प्रधानमन्त्रीको दाबेदार नरहेको बताउनुभएको छ । कांग्रेसबाट प्रधानमन्त्री हुँदा आफ्ना पतिसमेत रहेका सभापति शेरबहादुर देउवा नै हुने पनि उहाँले स्पष्ट पार्नुभयो ।
गौरापर्व मनाउन हिजो कैलाली पुग्नुभएकी मन्त्री राणाले आज धनगढीस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी उहाँले भन्नुभयो- ‘प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला तर, पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ ।'
काठमाडौँमा गत शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू महिला प्रधानमन्त्री बनाउने तयारीमा रहेको बताउनुभएको थियो । कांग्रेससँग आलोपालो प्रधानमन्त्रीको सहमति गरेर सरकारको नेतृत्व गरिरहेका ओलीको उक्त अभिव्यक्ति आरजूतर्फ लक्षित रहेको अनुमान गरिएको थियो ।
पत्रकार सम्मेलनमा ‘महिला प्रधानमन्त्री बनाउने भन्ने ओलीको भनाइ तपाईं लक्षित हो?’ भनी पत्रकारले प्रश्न सोधे । जवाफमा मन्त्री आरजूले भने आफ्नै पार्टीका महिला नेतृत्वका लागि भनेको हुनसक्ने बताउनुभयो ।
‘बाहिर मेरोबारे जे-जस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभएको होला ।’
आरजूले स्थिर सरकारको लागि कांग्रेस-एमाले मिलेको पनि दावीसमेत गर्नुभएको छ । ‘सरकार अस्थिर हुँदा विकासको गति र समृद्धिको चाहना पूरा नभएकोले अहिलेको सरकार बनेको हो, स्थिर सरकारकै लागि हामी मिलेका हौँ’, उहाँले भन्नुभयो ।
टिप्पणीहरू