गगन र विश्वप्रकाशसँग देउवाको कुरा मिलेन, पदाधिकारी बैठक बोलाइयो
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग गरेको छलफल बिना निष्कर्ष टुंगिएको छ ।
दुई महामन्त्रीले केन्द्रीय समितिमा पेश गरेको प्रस्ताव परिमार्जनबारे छलफल गर्न देउवा निवास बूढानिलकण्ठमा बिहान करिब ३ घण्टा चलेको बैठक निष्कर्षविहीन भएको हो । महामन्त्रीसँग कुरा नमिलेपछि देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको बताइएको छ ।
महामन्त्री थापाले २०८० फागुनमा सम्पन्न महासमिति बैठकमा चुनावअघि कुनै दलसँग पनि गठबन्धन गर्न नहुने प्रस्ताव पेश गरेका थिए । आवश्यक परिमार्जनका लागि केन्द्रीय समितिमा फर्किएको सो प्रस्ताव हुबहु पास गर्नुपर्ने थापाको अडान छ । सभापति देउवा पक्षको जोड भने संशोधनसहित पारित गर्नुपर्नेमा देखिन्छ ।
त्यस्तै अर्का महामन्त्री शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा उल्लेखित 'एक्जिट पोलिसी'मा पनि देउवा निकट नेताहरुको चर्को असन्तुष्टि छ ।
दुबै प्रस्तावलाई केही परिमार्जन गरेर केन्द्रीय समितिबाट सर्वसम्मत पारित गर्ने देउवाको चाहना छ । त्यसनिम्ति दुवै महामन्त्रीसँग उहाँको छलफल चलिरहेको छ । तर, उनीहरु आफ्नो अडान छाड्न तयार नभएपछि शनिबार बिहान ९ बजे पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्नेगरी आजको छलफल सकिएको बताइएको छ ।
टिप्पणीहरू