प्राधिकरणलाई टोकेर के गर्न खोजेको भन्दै संसदमा प्रश्न
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणले राम्रो काम गरिरहेकाले पूर्वाग्रह राख्न नहुने बताएका छन् ।
लोडसेडिङको अन्त्य गर्दै दैनिक १३ करोड ११ लाख रुपैयाँको विद्युत निर्यात गर्न सफल भएको प्राधिकरणमाथि सरकारले पूर्वाग्रह राखेको भन्दै उनले आपत्ति जनाए । केपी ओली नेतृत्वको सरकारले प्राधिकरणलाई निरन्तर टोकेको भन्दै पौडेलले सोधे- 'के गर्न खोज्नुभएको हो ?'
नेपाल एयरलाइन्सको चारवटा जहाज ग्राउण्डेड भएकोतर्फ ध्यान नदिएर सरकार प्राधिकरणमाथि खनिएको उनको आरोप छ । आज प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै पौडेलले भने- ‘अहिलेको डाटा हेर्नुभयो भने विद्युत प्राधिकरणले दैनिक १३ करोड ११ लाखको विद्युत निर्यात गरेको छ । लोडसेडिङ अन्त्यको घोषणा गरेको छ । यसैमाथि आजपनि टोकेको छ । भोलि पनि टोकेको छ । पर्सि पनि टोकेको छ । ध्यान नेपाल वायुसेवा निगमतिर जाओस् । चारवटा जहाज ग्राउण्डेड भइसकेका छन् । ८ हजार ८०० यात्रुहरु अलपत्र परेका छन् ।'
सांसद पौडेलले दूरसञ्चार, रेडियो नेपाल, नेपाल टेलिभिजन, आयल निगम, त्रिभूवन विश्वविद्यालयको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
'दूरसञ्चार, रेडियो नेपाल, नेपाल टेलिभिजन, आयल निगम, त्रिभुवन विश्वविद्यालयका अस्तिका झमेलाहरु सुधार्नका निम्ति प्रधानमन्त्रीलाई सुझाव दिनुस्', सत्तापक्षका सांसदहरुलाई उनले भने, 'एउटा संस्थाले राम्रो काम गर्यो भने त्यसैमाथि फर्किएको छ । कुराकानी गरेको छ । के गर्न खोज्नुभएको ? केही नगरिकन बक्यौता उठाउनको निम्ति अनुरोध गर्न चाहन्छु ।’
टिप्पणीहरू