हिमपहिरो गएको स्थानमा फोटो खिचाएर फर्किए मुख्यमन्त्री

हिमपहिरो गएको स्थानमा फोटो खिचाएर फर्किए मुख्यमन्त्री
सुन्नुहोस्

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको बोक्सीखोलामा गएको हिमपहिरोको अवलोकन गर्नुभएको छ । ईलाका प्रहरी कार्यालय, मुक्तिनाथको भवन उद्घाटन गर्न जाने क्रममा उहाँले हिमपहिरोको अवलोकन गर्नुभएको बताइएको छ ।

हिमपहिरो खसेको स्थानमा गएर उहाँ फोटो खिचाएर फर्किनुभएपछि चर्को आलोचना भएको छ । एक जना स्थानीयले भने,‘मुख्यमन्त्री जी आउनुभएको थियो । तर, नाटक देखाउनका लागि मात्रै आउनुभएकोजस्तै देखियो । आउनुभयो, फोटो खिचाउनुभयो र जानुभयो ।’

त्यस्तै, सामाजिक सञ्जालमा पनि मुख्यमन्त्रीको विरोध भएको छ । एक जनाले लेखेका छन्,‘कसलाई के को चिन्ता, मुख्यमन्त्री चाँहि फोटो खिचाउनमै व्यस्त ।’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले मुख्यमन्त्री भवनको उद्घाटन गरेर हिजै फर्किसक्नुभएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीजी हिजो भवनको उद्घाटन गर्न आउनुभएको थियो । उहाँ भवन उद्घाटन गरेर हिजै फर्किसक्नुभयो ।’ बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । धौलागिरी हिमश्रृंखलाको मानापाथी हिमालबाट गत भदौ १२ गते खसेको हिमपहिरोले बोक्सीखोला थुनिएको थियो ।
 

टिप्पणीहरू