उड्डयन प्राधिकरणका महानिर्देशकलाई जोगाउन रास्वपा नेताको दौडधुप
नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशकलाई जोगाउन रास्वपाले सहयोग मागेको रहस्य खुलाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा रास्वपाका नेताहरुले दर्ता गराएको सार्वजनिक महत्वको विषयमाथि धारण राख्दै उक्त तथ्य सार्वजनिक गरेका हुन् ।
रास्वपाका सहमहामन्त्रीले आफूलाई भेटेर हत्तारिँदै महानिर्देशक जोगाइदिन आग्रह गरेको उनको दावी छ । उनले भने, ‘पार्टीका सहमहामन्त्री हत्तारिँदै मेरोमा आउनुभयो, क्यानका डिजी हाम्रो मान्छे, रवि लामिछानेजीको निर्वाचन चेत्र (चितवन) को मान्छेलाई जोगाउनु पर्यो भन्नुभयो । उहाँँ पार्टीका सहमहान्त्री हुनुहुन्थ्यो ।’
सांसद बजगाईँले सुशासनको नारा लगाउने नयाँ पार्टीले यस्तो दोहोरो चरित्र देखाउला भनेर आफूले कहिल्यै नसोचेको उनको भनाई छ । संसदको ध्यानाकषर्ण गराउँदै थपे, ‘यो दोहोरो चरित्रले देश कहाँ पुग्छ ? नयाँ पार्टीसँग ठूलो आशा छ, जनताको भरोसा छ भनिएको छ, यस्तो डबल स्ट्यान्डर्ड नयाँ पार्टीबाट हुन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिईंन ।’
टिप्पणीहरू