प्रचण्डको चेतावनी : लक्षण राम्रो देखिएन, सडकबाट प्रतिवाद गर्न नपरोस्
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिनुभएको छ ।
पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श बैठकपछि आज धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएको बताउनुभयो । संख्याको बलमा अहंकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुनसक्ने उहाँको चेतावनी छ । ‘दुई तिहाइको अहंकार नदेखाउनोस् भनेर सम्झाएको मात्र छु’ उहाँले भन्नुभयो– ‘उहाँहरुले अलि बढी गर्न थाल्नु भो भने भ्रष्टाचारविरुद्ध हामी सडकमा आउँछौं ।’
आफ्नो नेतृत्वको अघिल्लो सरकारले शुरु गरेको भ्रष्टाचारविरोधी अभियान नरोक्न पनि उहाँले सचेत गराउनुभएको छ । ‘दुई तिहाइको घमण्ड नगर्नाेस्, तपाइँहरु सुध्रिनुहोस्, राम्रो कामको समर्थन नै हुने छ, तर तपाइँहरुको लक्षण राम्रो गर्नेजस्तो देखिएको छैन । गल्ती गर्दै गए प्रतिपक्षले छाड्ने छैन, अहिले बेलैमा सचेतमात्रै गराइएको हो’, प्रचण्डले भन्नुभयो ।
दुई तिहाइका नाममा संविधान संशोधनको विषय ल्याउन खोजिएको उल्लेख गर्दै उहाँले समावेशी, समानुपातिक व्यवस्थामा घात हुन्छ कि भन्ने शंका पैदा गरेको बताउनुभयो । ‘उहाँहरु संविधानमा माओवादी देख्नुहुन्छ, समावेशी भने पनि माओवादी, समानुपातिक भने पनि माओवादी, दलित, महिला मुस्लिम भने पनि माओवादी, गणतन्त्र भने पनि माओवादी’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले दुई तिहाइ भनेर संविधान संशोधन गर्ने कुरा ल्याउनुभएको छ । परिवर्तनका एजेण्डा जति माओवादीका भएकाले माओवादीलाई देखाइदिने नाममा जनतामाथि नै घात गर्ने खतरा आए हामी सडकबाट प्रतिवाद गर्नेछौं ।’
नेपाली काँग्रेस र एमाले डराएर मिलेको टिप्पणी गर्दै प्रचण्डले संसदीय व्यवस्थामा पहिलो र दोस्रो ठूलो पार्टी मिल्ने अभ्यास कहीँ नभएको पनि बताउनुभयो । ‘दुई ठूला पार्टी मिल्न नहुने हो तर भ्रष्टाचारविरोधी अभियानका कारण गराएर उहाँहरुले गर्न नहुने काम गर्नुभएको छ’– उहाँले थप्नुभयो– ‘संसदीय व्यवस्थामा पहिलो र दोस्रो पार्टी कतै मिल्दैनन् । काँग्रेस आइ र बिजेपी मिलेर सरकार बनाउने कुरा चल्छ त इण्डियामा ? बेलायत, अमेरिका कतै यस्तो देखिँदैन ।’
अन्यत्र नहुने काम काँग्रेस र एमालेले गरेको टिप्पणी गर्दै उहाँले संविधानमाथि घात हुन नदिने स्पष्ट पार्नुभयो ।
वर्तमान सरकार निर्माणमा माफियाको भूमिका रहेको उल्लेख गर्दै सरकार निर्माणअघि वार्ता, सहमति कहाँ र कसका घरमा भए भन्ने विषयले पनि त्यो पुष्टि हुने उहाँको दाबी छ । ‘सरकार हटाउन भएका बैठकका घर हेर्नोस्, हस्ताक्षर कहाँ गएर गर्नुभो, त्यो घरका मालिक हेर्नोस्’ प्रचण्डले भन्नुभयो, ‘त्यसबाट थाहा हुन्छ बिचौलियाले के भूमिका निर्वाह गरे भनेर ।’
अर्को प्रसंगमा उहाँले भ्रष्टाचारका विषयमा मुद्दा चलाउन पाँच वर्षे हदम्याद लगाउनु हुँदैन भन्नेमा माओवादी स्पष्ट रहेको पनि बताउनुभएको छ । काँग्रेस पनि त्यसको विपक्षमा उभिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
टिप्पणीहरू