मोटोपन घटाइदिने प्रलोभनमा जनस्वास्थ्यमाथि गम्भीर खेलबाड

मोटोपन घटाइदिने प्रलोभनमा जनस्वास्थ्यमाथि गम्भीर खेलबाड
सुन्नुहोस्

अन्यत्रझैँ नेपालमा पनि पछिल्लो समय मोटोपन समस्याबाट पीडितको संख्या बढ्दो छ । मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै अव्यवस्थित खानपिन र विलासी जीवनका कारण मोटोपन समस्या बढ्दै गएको छ ।

मोटोपन अधिकांशका लागि ‘टाउको दुखाई’ को विषयसमेत बनेको छ । यसबाट छुट्कारा पाउन डाइटिङदेखि निकै गाह्रो काम पनि गर्छन्, मानिसहरु । तर आफुले चाहेअनुरुप शरीर बनाउन नसकेपछि विरक्तिने गरेका छन् । इन्टरनेटमा सबैभन्दा बढी ‘हाउ टु लुज वेट’ अर्थात् कसरी तौल घटाउने ? भनेर नै खोजिने गरिएको छ । कतिपयले इन्टरनेटमा तौल घटाउनका लागि दिइएका सबै तरिका समेत अपनाउने गरेको पाइएको छ । त्यति गर्दा पनि वजन नघटेपछि उनीहरु निराश हुन पुगेका धेरै घटना बाहिर आएका छन् ।

केही समययता सामाजिक सञ्जालमा ‘तौल घटाउने औषधि’ को व्यापक चर्चा छ । ‘एक महिनामै दुब्लाउने औषधि’, ‘१० केजीसम्म मोटोपन घटाउने चमत्कारी कफी’, ‘भुँडीको बोसो कम गर्ने औषधि’ लगायत थरीथरीका विज्ञापन हिजोआज सोसल मिडियामा छ्यापछ्याप्ती भेटिन्छन् । 

बजारमा समेत तौल कम गर्ने विभिन्न प्रकारका औषधि, हर्बल टी, कफी तथा फुड सप्लिमेन्ट उपलब्ध छन् । त्यसका उत्पादक कम्पनीहरु कुनै पनि मेहनतबिना एक महिनाभित्रै सप्लिमेन्टको सेवनले मोटोपन घटाउने दाबी गर्छन् । साथै, औषधिले कुनै साइड–इफेक्ट नगर्ने र तौल कम नभएमा पैसा फिर्ता हुने ग्यारेन्टी समेत गरेको पाइन्छ । 

मोटोपन समस्याबाट पीडित भइरहँँदा यस्ता विज्ञापनतर्फ मानिसहरु आकर्षित हुनु स्वाभाविक हो । अर्कोतर्फ, कम्पनीको ग्यारेन्टीसँगै आफूले सामाजिक सञ्जालमा फलो गरेका इन्फ्लुएन्सरले नै औषधि सेवन गरेर तौल घटेको दाबी गरेपश्चात् विश्वासमा परेर अनलाइन्मार्फत औषधि खरिद गरी उपयोग गर्ने क्रम बढ्दो छ । 

तर, बजारमा उपलब्ध तौल कम गर्ने ती औषधि साँच्चै उपयोगी हुन्छन् त ? साँच्चै तिनले शरीरमा कुनै असर गर्दैन ? यस्ता औषधिको सेवनले मानिसको शरीरमा विभिन्न दीर्घकालिन असर पर्ने चिकित्सकहरु बताउँछन् । तौल घटाउने औषधि किनेर खाएका धेरैजसोमा जटिल स्वास्थ्य समस्या देखापरेको समेत पाइएको छ ।

झुठो प्रचारप्रसार 

तौल घटाउने भन्दै बजारमा औषधि बेचबिखन गरिरहेका कम्पनीहरु सम्बन्धित निकायमा दर्ता नै नभएको पाइएको छ । आफ्नो स्वार्थका लागि झुठो प्रचारप्रसार गरेर सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले त्यस्ता कम्पनीहरुले औषधि उत्पादन र बिक्रीवितरण गर्न अनुमति नलिएको बताएको छ । 

पछिल्लो समय सामाजिक सञ्जालमा तौल घटाउने ‘गार्सिनिया कम्बोजिया’ नामको औषधिको धेरै नै चर्चा छ । यो कम्पनीले भुँडीको बोसो गायब गर्ने एक आचुक उपाय ‘गार्सिनिया कम्बोजिया’ भन्दै खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभागमा दर्ता भएको समेत दाबी गर्ने गरेको छ । 

‘भुँडीको बोसो कसरी कम गर्ने ? त्यसको लागि हामीलाई म्यासेज गर्नुहोस् । सुपर आयुर गार्सिनिया कम्बोजिया (एक महिने प्याक),’ कम्पनीले आफ्नो फेसबुक पेजमा भनेको छ, ‘बजारमा विभिन्न मोटोपन घटाउने सामानहरु आएका छन् । यो स्वास्थ्यसम्बन्धी भएको हुँदा खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभागमा दर्ता छ÷छैन हेरेर बुझेर मात्र खरिद गर्नुहोला । स्वास्थ्यभन्दा ठूलो केही होइन । भुँडीको बोसो गायब गर्ने एक अचुक उपाय ।’

तर, उक्त कम्पनीले औषधि उत्पादन तथा बिक्रीवितरण अनुमति नै नलिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ठहर छ । विभागले विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएको छ । ‘गार्सिनिया कम्बोजिया’ नाम गरेको आहारपुरक खाद्य पदार्थमा झुठो अनुज्ञा नम्बर जीडीएफटीक्युसी नम्बर ०२–२०–०६६–१९–००६ प्रयोग गरी नक्कली उपत्पादन बिक्रीवितरण गरिएको सूचनामा विभागको गम्भीर ध्यानाकर्षण भएको छ । नानो फुड नेपाल प्रालि, काठमाडौंद्वारा उत्पादित र जीटीएम हर्बल प्रालिबाट मार्केटिङ गरिएको उक्त उत्पादनले विभागबाट उत्पादन तथा बिक्रीवितरण गर्न अनुमति नलिएको सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ । 

यसको उपभोगबाट मानव स्वास्थ्यमा गम्भीर समस्या पर्ने भन्दै विभागले कहीँकतै बिक्रीवितरण भएको पाइएमा मातहतका कार्यालय वा प्रहरीमा खबर गर्न समेत आग्रह गरेको छ । यता, औषधि व्यवस्था विभागले पनि तौल घटाउने औषधि वा सप्लिमेन्ट भनेर कुनै पनि उत्पादकलाई अनुमति नदिएको दाबी गरेको छ । 

विभागअन्तर्गत आयुर्वेद औषधालयका प्रमुख डा.रुपेन्द्र पुरीले तौल घटाउने सप्लिमेन्ट भनेर कुनै पनि उत्पादकलाई अनुमति नदिएको स्पष्ट पारेका छन् । यद्यपि, बजारमा सम्बन्धित निकायबाट अनुमति लिएको झुट्टा प्रचारप्रसार गरेर विभिन्न कम्पनीले यस्तो औषधि बेचबिखन गरेको उनको ठहर छ । 

अर्कोतर्फ, अनलाइनमार्फत औषधि बेचबिखन गरिने हुँदा सम्बन्धित उत्पादकलाई कारबाहीको दायरामा ल्याउनसमेत गाह्रो भएको उनी बताउँछन् । ‘कुनै पनि निकायमा दर्ता पनि नहुने र अनलाइनमार्फत औषधि बेचबिखन गरिने हुँदा बजार अनुगमन गरेपनि त्यस्ता उत्पादक कारबाहीमा पर्न सकेका छैनन्,’ डा.पुरीले भने ।  

उनले पछिल्लो समय ठगी गर्ने उद्देश्य वा व्यापारिक नियतले यस्तो कार्य गर्ने बढिरहेको भन्दै जथाभावी औषधि किनेर सेवन नगर्न पनि सर्वसाधारणमा आग्रह गरेका छन् । ‘तौल घट्ने भनेर खाएको यस्ता औषधिले मानवीय स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । भ्रममा परेर जथाभावी औषधि सेवन गर्नहुँदैन,’ उनले भने । 

केही समयअघि विज्ञापन बोर्डले समेत सामाजिक सञ्जालमा विविध प्रकार र नामका चिया, तेल, स्याम्पो, औषधिस्ता वस्तुले रोग निको पार्ने र जुनसुकै स्वास्थ्य समस्या पनि समाधान गर्ने भन्दै चर्को मूल्य राखेर बिक्रीवितरणका लागि भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रशारण गरेको पाएको थियो । 

यसो भन्छन् चिकित्सक ? 

मोटोपन घटाउने भन्दै किनेर खाएको औषधिले अहिले धेरैजसोको स्वास्थ्यमा समस्या देखिएको छ । सोही कारण बिरामी परेर अस्पताल आउने क्रम बढेसँगै चिकित्सकहरुले पनि यसतर्फ चासो व्यक्त गरेका छन् । 

नेपाल मेडिसिटी अस्पतालका ग्यास्ट्रोएन्टेरोलजी तथा कलेजो विशेषज्ञ डा.निरज जोशी यस्ता औषधिको प्रयोग नगर्न सुझाउँछन् । यसले मानिसमा गम्भीर पेट दुख्ने, कब्जियत हुने र कलेजोमा समेत समस्या निम्त्याउने उनको भनाइ छ । 

सामाजिक सञ्जालमा समेत लेखेका छन्, ‘तौल घटाउनका लागि नेपालमा व्यापक रुपमा बिक्री भइरहेको ‘गार्सिनिया कम्बोजिया’ मा सिसाको मात्रा अत्याधिक रहेको अध्ययनले देखाएको छ । यो औषधिले गम्भीर पेट दुख्ने, कब्जियत र कलेजोमा समेत समस्या निम्त्याइरहेको छ । जडीबुटी औषधिको साइड–इफेक्ट नहुने मानिसहरुलाई लाग्छ । तर, हर्बल औषधिहरु लागू पदार्थबाट प्रेरित हुनुका साथै यसमा सिसाको मात्रा अधिक हुन्छ । जसले जीवनलाई खतरामा पार्न सक्छ । यी औषधिहरु बजारबाट हटाउनुपर्छ ।’

के छ कानूनी व्यवस्था ? 

औषधि व्यवस्था ऐन, २०३५ मा औषधिको बिक्रीवितरण गर्न अनिवार्य दर्ता हुनुपर्ने प्रावधान छ । ऐनमा औषधिको झुट्टा वा भ्रमात्मक प्रचार गर्न नपाइने पनि भनिएको छ । यस्तो कार्य गरेमा सम्बन्धित व्यक्तिलाई तीन वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुने सोही ऐनको दफा ३५ मा उल्लेख छ । 

साथै, त्यस्तो औषधिको सेवनले ज्यान गएमा जन्मकैदसम्म हुने, औषधीको सेवनले ज्यान जाने खतरा रहेमा ज्यान मार्ने उद्योगसरह सजाय हुने, शरीरको कुनै शक्ति क्षीण वा हरण भएमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

टिप्पणीहरू