माओवादीलाई योगेशको प्रश्न : कुकर्मको जवाफ दिन सक्छौ ?

माओवादीलाई योगेशको प्रश्न : कुकर्मको जवाफ दिन सक्छौ ?

सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि एमाले सचिव तथा सांसद भट्टराईले जवाफ दिएका छन् । आफूमाथि लगाइएका आरोपहरुबारे हजार ठाउँमा जवाफ दिन तयार रहेको उल्लेख गर्दै उनले माओवादी नेताहरुलाई एक ठाउँमा जवाफ दिन चुनौती दिएका हुन् । 

‘तिमीहरुका यी कुकर्मको एक ठाउँमा मात्र जवाफ देऊ । तिमीले लगाएको तथ्यहीन, मिथ्या, असत्य र झूट आरोपको हजार ठाउँमा जवाफ दिन तयार छु’, थप लेखेका छन्, ‘तिम्रा धम्कीले मेरो ईमान डगमगाउने छैन । कालो तिम्रो अनुहारमा छ, सिसा फुटाएर उन्मुक्ति पाइने छैन ।’ भट्टराईले हिजो प्रतिनिधि सभाको बैठकमा  ‘हिंसा’ शब्द प्रयोग गरेपछि संसदमा एकछिन तमासा भयो । उनले भनेका थिए, ‘यदि यो देशमा १० वर्ष माओवादी हिंसा नभएको भए नेपालको विद्युतमा योभन्दा ठूलो क्रान्ति हुन्थ्यो ।’

माओवादी केन्द्रका सांसदहरुले भट्टराईको उक्त अभिव्यक्ति असंसदीय र अमर्यादित रहेको जनाउँदै संसदको रेकर्डबाटै हटाउन नाराबाजी गरे । सभामुख देवराज घिमिरले ‘हिंसा’ शब्दको छानबिन गर्न सचिवालयलाई निर्देशन नै दिनुपर्यो । 

एमाले सांसदको उक्त अभिव्यक्तिलाई हिजोदेखि समाजिक सञ्जालमा ट्रोल बनाइएको छ । माओवादीहरु जंगल पसेको बेला जसले गाउँ–गाउँमा चन्दा उठाउँदै हिँड्यो, उसैले ‘जनयुद्ध’लाई ‘हिंसा’ भन्नु हास्यास्पद रहेको भन्दै ट्रोल गरिएको हो । 

हिजोदेखि नै सामाजिक सञ्जालमा एमाले र माओवादी कार्यकर्ताहरुबीच आरोप प्रत्यारोप चलेको छ ।
 

टिप्पणीहरू