हेपेर हुन्छ, यहाँ छन् हेर्नैपर्ने अनेक ठाउँ !
– मेगराज खड्का
दशक लामो सशस्त्र द्वन्द्वको प्रत्यक्ष मार र शान्ति प्रक्रियाको पनि दशक लामो अनुभव सँगाल्दै दुई दशकपछि संघीयतासहितको नयाँ स्वरूपमा रुकुमले नयाँ पाइला शुरु गरेको छ । संघीयताको नयाँ संरचनासँगै यो दुई जिल्लामा विभाजन भइसकेको छ । यस क्षेत्रको सम्भावना बोकेको पर्यटन प्रवद्र्धनका लागि आवश्यक नीतिसहितको कार्यक्रम ल्याउन सके गाउँघरमा युवालाई पसिना बगाउने अवसर दिन सकिन्छ । त्यसका साथै यातायात, शिक्षा, स्वास्थ्य, ऊर्जा र कृषिसहितका अन्य क्षेत्रमा पनि दीर्घकालीन योजना बनाएर विकास र समृद्धिको सपना पूरा गर्न सकिन्छ ।
राप्ती क्षेत्रकै एक दुर्गम जिल्ला रुकुम ५२ पोखरी र ५३ टाकुरीको नामले प्रख्यात छ । यो पूर्वको रुकुमकोट क्षेत्रमा पर्छ । जिल्लाका विभिन्न ठाउँमा धेरै स–साना पोखरी र टाकुरा छन् । राप्ती क्षेत्रकै सबैभन्दा ठूलो ताल रुकुममै छ । २.६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पुतालले मौसमअनुसार रंग फेर्ने भएकाले यसलाई ‘कान्छो रारा’ समेत भन्ने गरिन्छ । सदरमुकाम मुसिकोटबाट स्यार्पुतालतर्फ जाँदा बाटोमा थुप्रै साना ठूला झरना देख्न सकिन्छ । अर्को घुम्नै पर्ने ठाउँ हो कमलताल, खलंगाबाट पूर्वी क्षेत्रमा पर्ने यो ताल पुग्न ३ घण्टा गाडी यात्रा गर्नुपर्छ र पैदल हिँड्न मन लागे ५ घण्टामा सानीभेरीको तीरैतीर ताल रहेको स्थानमा पुग्न सकिन्छ । सोलाबाङ बालुवा सडक भएर पुग्न सकिने उक्त तालमा घुम्नका लागि कमलको फूल फुल्ने बेला अर्थात् भदौ–असोज उपयुक्त हुन्छ । छुट्याउनै नपर्ने अर्को ठाउँ हो सिस्ने हिमाल ।
सदरमुकामबाट १५ मिनेटको छोटो यात्रापछि सिस्ने हिमालयको शीर देख्न सकिन्छ तर यसको आधार शिविर पुग्न भने स्यार्पुतालनजिकै टेक्नुपर्छ । कर्णाली क्षेत्रकै अग्लो हिमाल मानिने सिस्नेको उचाइ ५५४१ मीटर छ । मनोरम हिमाली परिदृश्य, महाभारत श्रृंखलाका अग्ला पहाड, पश्चिमका चुरे पहाडसँगै चौरजहारी र आठ बीसकोट राडीको समथर र मनमोहक फाँटले भौगोलिक विविधताको परिचय दिन्छ । यसका साथै धार्मिक र सांस्कृतिक रूपले पनि रुकुम प्रख्यात छ । सदरमुकाम खलंगा मै डिग्रे साइकुमारी मन्दिर छ । प्राचीनकालको प्रसिद्ध मन्दिरमा पूजा गर्नाले मनले चिताएको पुग्ने धार्मिक विश्वास गरिन्छ भने प्रत्येक वर्ष कार्तिक शुक्लपूर्णिमाका दिन सबैभन्दा ठूलो मेला लाग्छ । सदरमुकाम मुसिकोट खलंगाबाट स्यार्पुताल सिस्ने हिमाल, कमलताल हुँदै सानीभेरीको तीर भएर सुन्दर बस्ती अग्ला पहाड, साना ठूला झरना र दर्जन बढी मगर बस्तीहरूको घुमघामसँगै बागलुङसम्मको पदयात्रा गर्न सकिन्छ । अविरल बगिरहने सानीभेरी र ठूलीभेरीमा जलयात्राको विकास हुने राम्रो सम्भावना छ ।
यसबाहेक तातोपानीको मुहान पनि यो जिल्लामा छ । यस क्षेत्रमा उल्लिखितबाहेक अन्य धेरै पर्यटकीय क्षेत्र र सम्भावना भए पनि आवश्यक प्रवद्र्धनका कार्यक्रम प्रभावकारी ढंगबाट हुन नसक्दा अपेक्षित उपलब्धि हुन सकेको छैन । २०५२ सालमा तत्कालीन माओवादीले थालेको सशस्त्र विद्रोहको उद्गम थलोका रूपमा समेत चर्चित रुकुम सम्भावना भएर पनि पर्यटकीय गन्तव्य बन्न सकेको छैन । रुकुमका सबै पर्यटकीय स्थलमा पर्यटकलाई खान र बस्नका लागि स्थानीय घरमा ‘होम स्टे’ सेवाको प्रभावकारी व्यवस्थापन भएको छैन । रुकुममा प्याराग्लाइडिङको पनि राम्रो सम्भावना छ । रुकुमको जन्तीबस्ने डाँडाबाट मुसिकोटमा ४ वर्षअघि सफल परीक्षण गरिए पनि पुनः त्यसलाई निरन्तरता दिने खालको कार्यक्रम सञ्चालन गरिएको छैन ।
एसईई सकाएपछि धेरै विद्यार्थी अबको यात्रा के कसरी अगाडि बढाउने भनेर सोच्छन् भने कोहीले कम्प्युटरलगायत विभिन्न तालिम लिन शुरु गरिसकेका छन् । तर, रुकुमलगायत पहाडी जिल्लाका अधिकांश विद्यार्थीको नयाँ गन्तव्य शुरु भएको छ कालापार (भारत) । घरको आर्थिक अवस्था कमजोर र गाउँ घरमा अन्य कुनै काम नहुँदा एसइई दिएर पैसा कमाउन भारत जाने शुरु भएको हो । लामो द्वन्द्वबाट ग्रस्त रुकुम जिल्लामा कुनै पनि ठूला तथा मझौता उद्योग कलकारखाना छैनन् ।
तर रुकुममा विद्युत्, वन तथा कृषि, प्रशोधन उद्योगका साथै सिमेन्ट उद्योगको पनि सम्भावना अध्ययन गर्न सकिए धेरै युवालाई रोजगार गराउन सकिन्छ । रुकुमका सबै नगर तथा गाउँपालिकामा वन तथा कृषि आधारित उद्योग स्थापना गर्न सकिने सम्भावना छ । निर्माण सामग्री उत्पादन गर्ने उद्योगदेखि जडीबुटी, केतुकेलगायत गैरकाष्ठ बन पैदावार प्रशोधनको उद्योग स्थापना गर्न सकिन्छ । त्यसका साथै च्युरा मिल, साबुन उद्योग, अर्गानिक खाद्यान्न उद्योग स्थापना गरी सरकारी र जनस्तरबाट समेत सहभागिता बढाउन सकिने सम्भावना छ । रुकुम तरकारी बिउ उत्पादनका दृष्टिले राम्रो जिल्ला हो । यार्सागुम्बा, पाँचऔंलेजस्ता बहुमूल्य जडीबुटीको उत्पादन थलो पनि हो ।
विद्युत् उत्पादन गरेर रोजगारी र आर्थिक उपार्जनका दुबै काम गर्न सकिन्छ । रुकुम पूर्व–पश्चिममा गरी २ वटा ठूलो र अन्य साना खोलानाला प्रशस्त छन् । रुकुम पूर्वमा उत्तरगंगा र पश्चिम सानीभेरी नदी बगिरहेको छ । रुकुमपूर्वमा उत्तरगंगा जलाशययुक्त आयोजना बनाउन सरकारले यसअघि नै सर्वेक्षण गरेको थियो भने रुकुम पश्चिमको सानीभेरी नदीका धेरै ठाउँमा विद्युत् उत्पादन गर्न सकिन्छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू