वैदेशिक रोजगारीमा महिलाको लर्को
रोल्पामा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढ्दै जान थालेको छ । वैदेशिक रोजगारीका लागि जिल्ला प्रशासन कार्यालय रोल्पाबाट विगत चार वर्षमा महिलाले लिएको राहदानीले यो तथ्य पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालय रोल्पाबाट ०७७÷७८ मा १ हजार ३ सय ५७ जनाले राहदानी लिएका थिए । यसरी राहदानी लिनेमध्ये २५८ जना महिला थिए । ०७८÷७९ मा ३ हजार ४ सय ४१ जनाले राहदानी लिएका थिए । यसरी राहदानी लिनेमध्ये ६ सय ९१ जना महिला थिए ।
०७९÷८० मा सात हजार ४ सय ७१ जनाले राहदानी लिएका थिए । जसमा ५ हजार ९ सय ५९ पुरुष र १ हजार ५ सय १२ महिला थिए । ०८०÷८१ मा पाँच हजार २ सय २७ जनाले राहदानी लिएका थिए । यसरी राहदानी लिनेमध्ये पुरुष चार हजार ४ सय २६ र महिला १ हजार २ सय २७ जना थिए । वैदेशिक रोजगारीमा जाने महिलामध्ये अधिकांश घरेलु कामदारको रूपमा विदेश जाने गर्छन् । उनीहरूको मुख्य गन्तव्य मलेसिया हुने गरेको छ ।
यसरी वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश महिला जोखिमपूर्ण काममा लगाइएका हुन्छन् । तलब कम र जोखिम बढी हुने काममा महिलालाई प्रयोग गरिए पनि वैदेशिक रोजगारीमा जानुपूर्व यहाँका महिलामा सीप विकास तालिमप्रति आकर्षण देखिँदैन ।
वैदेशिक रोजगारीमा जान चाहने युवालाई लक्ष्य गरी उच्च माग भएका क्षेत्रमा वैदेशिक रोजगार बोर्डको सचिवालयबाट निःशुल्क सीप विकास तालिमको व्यवस्था मिलाउँदै आएको छ । साथै, सुरक्षित आप्रवासन परियोजनाले पनि आवासीय रूपमा सीप विकास तालिमको व्यवस्था गर्दै आएको छ । यस्तो तालिम लिने रोल्पाली महिलाको संख्या भने अत्यधिक न्यून छ । यो तालिमका लागि ०७७÷७८ मा रोल्पाबाट १९ जनाले आवेदन दिएकोमा महिला १ जना मात्रै थिइन् । ०७८÷७९ मा १६ जनाले आवेदन दिएकोमा महिला २ जना थिए । ‘वैदेशिक रोजगारीमा जानेहरूका लागि यो तालिम निकै महत्वपूर्ण रहे पनि महिला श्रमिकहरूले भने यो तालिम लिँदैनन्’, सुरक्षित आप्रवासन सेवा रोल्पाका प्रमुख शुकलाल घर्तीमगरले भने।
तालिम कम्तीमा एक महिनाको हुन्छ । तालिम निःशुल्क भए पनि धेरैको रोजाइमा नपरेको उनले बताए । पुरुषका लागि ११ र महिलाका लागि २ प्रकारका तालिम दिने गरिन्छ । तालिम काठमाडौँ, बुटवल, पोखरा, धनुषा, झापालगायत जिल्लामा हुने भएकाले तालिम स्थल अपायक परेको भन्दै अधिकांश त्यता जान नमानेको उनको भनाइ छ ।
वैदेशिक रोजगारीमा जानेहरूका लागि परामर्श सेवा दिन जिल्ला प्रशासन कार्यालय रोल्पामा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । हेल्भटासको सहयोगमा स्थानीय गैरसरकारी संस्था विकास सरोकार समाज रोल्पाले जिल्ला प्रशासन कार्यालय रोल्पासँग समन्वय गरी उक्त स्रोत केन्द्र स्थापना गरेको हो ।
स्रोत केन्द्रले विभिन्न परामर्श सेवा दिने गरेको छ । स्रोत केन्द्रमा विभिन्न उजुरी पनि आउने गरेको स्रोत केन्द्रका सहजकर्ता स्मृति रोकाले जानकारी दिइन् । स्रोत केन्द्रमा शव ढुवानी, मृत्यु, काम र तलब फरक परेको, बेपत्तालाई खोजतलास गरिदिने, स्वदेशमै ठगी भएको, बिरामीको समयमा कम्पनीले हेरविचार, खानपान र तलब नदिएकोजस्ता उजुरी पर्ने गरेको रोकामगरको भनाइ छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू