सुरक्षामा खै संवेदनशीलता

सुरक्षामा खै संवेदनशीलता
सुन्नुहोस्

सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारको पद खारेज गरेपछि अहिले एउटा बहस सतहमा छ । यो पदको आवश्यकता र औचित्य नै थिएन भने किन सिर्जना गरियो र काम लाग्छे भने किन खारेज गरेर किन संवेदनशील विषयमा मजाक गरिँदै छ ? मुख्यसचिवबाट शंकर बैरागी हट्नु तीन दिनअघि ०८० साल जेठ ३२ गते सरकारले कार्यविधि बनाएर राष्ट्रिय सुरक्षा सल्लाहकारको पद सिर्जना गर्‍यो र उनलाई नियुक्ति दियो । नयाँ सरकार बनेलगत्तै गत साउन ९ गते बैरागीले राजीनामा दिए । साउन २२ गते मन्त्रिपरिषद्को बैठकले त्यो पद खारेजीको निर्णय गर्‍यो ।

रक्षासचिव र मेजर जर्नेलको सहभागितामा राष्ट्रिय सुरक्षा परिषद् भन्ने एउटा संरचना स्थायी रूपमा नै छ । त्यसैमा अर्को एउटा पद सिर्जना गरेर राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा माओवादी– कांग्रेस गठबन्धन सरकारले वैरागीको व्यवस्थापन गरेको थियो । वैरागीको राजीनामा र त्यसपछि सो पद नै खारेजी भएपछि कतिपयले चर्चा गर्न थालेका छन् कतै वैरागीलाई भारतको राजदूत बनाउँछु भनेर राजीनामा दिन लगाई राजदूतमा पुरानै व्यक्ति शंकरप्रसाद शर्मालाई राखेर उनलाई यता न उताको बनाइएको त हैन ? भारत, अमेरिका जस्ता देशहरूमा राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति सिधै कार्यकारी प्रमुखबाट हुने गर्छ । प्रधानमन्त्री वा राष्ट्रपतिको पद जाँदा स्वतः उनीहरू पनि हट्ने चलन छ । 

वैरागी तिनै व्यक्ति हुन् जसले कालापानीसहितको चुच्चे नक्सा सार्वजनिक गर्ने सन्दर्भमा ओलीलाई दह्रो साथ दिएका थिए । पछि भारतलाई कूटनीतिक नोट लेख्नेलगायतका सबै काममा उनको सक्रियता थियो । महाभूकम्प गएर मुलुकलाई विपत् परेको बेलादेखि भारतले नाकाबन्दी लगाएर सरकारलाई अप्ठ्यारो पारेका बेला उनै वैरागीले कोर टिम मेम्बरकै रूपमा काम गरेका थिए । आखिर यो नेपालमा सुरक्षा संवेदनशीलता बढेकै बेला हो । हालै बंगलादेशमा भएको सत्ता परिवर्तन र राजनीतिक अस्थिरतापछि भड्किएको सामाजिक सद्भावबाट विस्थापित नागरिक नेपाल–भारतबीचको खुल्ला सीमामार्फत सजिलै छिर्ने र शरणार्थी बन्ने सम्भावना उत्तिकै छ । यस्तो बेला सेनाले वा सुरक्षा निकायले फौजी निर्णयको अतिरिक्त प्रशासनिक र राजनीतिक योजनासमेत सुझबुझसाथ बनाउनुपर्ने हुन्छ । जुन बेला सुरक्षा सल्लाहकारको वास्तविक आवश्यकता थियो त्यहीबेला सरकारले सो पद नै खारेज गरेर अपरिपक्व निर्णय गरेको सुरक्षा क्षेत्रका जानकारहरू बताउँछन् । त्यसमाथि न हाम्रो जासुसी संयन्त्र प्रभावकारी छ । 

– उमेशकुमार मनोक्रान्ति

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू