शिक्षामा चलखेल रोक्न माधवको माग

शिक्षामा चलखेल रोक्न माधवको माग

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शैक्षिक क्षेत्रमा रहेको माफियाकरण अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । 

आज काठमाडौँमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै उहाँले त्यस्तो धारणा राख्नुभएको हो । शैक्षिक क्षेत्रलाई खत्तम पार्ने माफियाहरुको षड्यन्त्र रोक्न उहाँले सरकारलाई आग्रह पनि गर्नुभयो । 

 ‘यहाँ अनेक माफियाहरुले चलखेल गरिरहेका छन । नेपालको एजुकेशन सिस्टमलाई खत्तम पार्ने षड्यन्त्र भईराखेको छ । ती सबै षड्यन्त्रहरुप्रति गम्भिर हुनुपर्ने आवश्यकता छ', पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले भन्नुभयो ।

मुलुकको शैक्षिक प्रणाली र शिक्षण संस्थाहरुमा सुधार ल्याउने र रोजगारीको अवसर सृजना गर्ने सन्दर्भमा संवद्ध सबै निकायको पनि गहिरो चासो हुनुपर्नेमा उहाँले जोड दिनुभयो । विश्वविद्यालयलाई समय सीमाभित्र रहेर शैक्षिक कार्यक्रम तय गर्न र कार्यान्वयनमा इमान्दार हुन अध्यक्ष नेपालले सचेत गराउनुभयो । 

'दक्ष जनशक्ति तयार गर्ने हो ? योग्य जनशक्ति तयार गर्ने हो ? अब कुनकुन विषयमा आउने ५ वर्षमा कति जना व्यक्तिहरुलाई रोजगारी दिन सक्छौ ?', प्रश्न गर्दै उहाँले भन्नुभयो, 'त्यो हामी अगाडि सार्दैनौं । त्यो सबै सन्दर्भमा पनि हामीले गम्भिरताका साथ ध्यान दिनु जरुरी छ ।'

विश्वविद्यालय तहको शैक्षिक कार्यक्रम विद्यार्थीको हित अनुकूल हुनेगरी अघि बढाउन विद्यार्थी संगठनहरुले सरकार र सम्बन्धित पक्षसँग वहृत छलफल गर्नुपर्ने आवश्यकता नेपालले औल्याउँनुभयो । विद्यमान सरकारी नीति र कानूनमा रहेका त्रुटी हटाएर अहिले देखिएको शैक्षिक समस्या समाधान गर्न सबै एकजुट हुनुपर्ने उहाँको बुझाइ छ ।

टिप्पणीहरू