सभापतिलाई रोक्ने आफ्नो प्रस्ताव अनुमोदन हुने महामन्त्रीको दाबी

सभापतिलाई रोक्ने आफ्नो प्रस्ताव अनुमोदन हुने महामन्त्रीको दाबी
सुन्नुहोस्

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने गरी पार्टीले आफूले पेश गरेको एक्जिट पोलिसी सम्बन्धी प्रस्ताव अनुमोदन हुने दाबी गरेका छन् । 

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उनले भोलि बस्ने केन्द्रीय समिति बैठकबाट प्रस्ताव पास हुने बताएका हुन् ।

शर्माले एक व्यक्ति एक पटक राष्ट्रपति र दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद बन्न पाउने नीति प्रस्ताव पार्टी केन्द्रीय समितिमा पेश गरेका छन् । तर, उक्त प्रस्तावमा सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका अधिकांश नेता सहमत छैनन् । 

उक्त प्रस्तावमा सहमति जुटाउनकै लागि सभापति देउवाले पटक–पटक पदाधिकारीहरुसँग छलफल गरिरहेका छन् । तर, महामन्त्री शर्माले भने साझा दृष्टिकोण र सहमतिबाट आफ्नो प्रस्ताव पास हुने बताए । 

प्रधानमन्त्री जतिसुकै लोकप्रिय बनेपनि उसले दुई पटकभन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्नेमा शर्माको जोड छ । प्रस्तावमा केही समस्या रहेको भए छलफलपछि सहमतिले पास गरेर जाने उनले उल्लेख गरे ।

शर्माले दाबी गरेजस्तै प्रस्ताव पारित भए देउवा छैठौँ पटक प्रधानमन्त्री हुन पाउने छैनन् ।

टिप्पणीहरू